धर्मरत्न श्रेष्ठ- -
विश्व स्वास्थ्य संगठनले नेपालमा कोभिड– १९ को भाइरस र भाइरसका थरि थरिका भेरियन्ट फैलिरहेको छर नेपालमा ठूलो क्षति हुने सावधानी जताइरहदा शक्तिशाली देशहरूमाथि सहयोगको दबाब परिरहेको थियो । नेपाली जन जन, सरकार र मित्रहरूले आवाज उठाएपछि कोरोनाबाट जुध्नका लागि मित्रराष्ट्रहरूले ७ हजार टनभन्दा बढी राहत सामग्री पठाइसकेका छन् । संयुक्त राज्य अमेरिका, बेलायत र यूरोपेली देशहरूले काठमाडौंमा अक्सिजन जेनेरेटर, पीपीई र स्वास्थ्य उपकरण पठाइरहे पनि सबैभन्दा चाहिएको कुरा अर्थात् खोप पठाएका छैनन् । अमेरिका, बेलायत, विश्व स्वास्थ्य संगठन र अन्य मुलुकहरूले समेत नेपाललाई खोप दिने निर्णय गरेको लामो समय भइसक्यो । कुन देशबाट कहिले, कति मात्रामा खोप आउँछ भन्ने कुरा अझै निश्चित छैन । आखिर किन ?
विश्व स्वास्थ्य संगठनका अनुसार धनी मुलुकहरूले विश्वमा उत्पादिन ८० प्रतिशत खोपमा अधिकार जमाएर बसेका छन् । गरीब मुलुकहरूलाई खोपको सुविधाबाट बन्चित गर्नु नहुने भनेर दबाब दिइरहे पनि कसैले सुनेका छैनन् ।
अमेरिकाले खोप दिने भनेपछि ताइवानलाई लाखौं खोप दियो, धेरै राष्ट्रलाई खोप दिने भनेर घोषणा गर्ने अमेरिकाले अझै खोप नपठाउनु दुःखद छ । भनिन्छ, समयमा न्याय नपाउनु पनि अन्याय हो । कोरोनाले दपेटिरहेको बेलामा खोप नपाउनु पनि अन्याय नै हो । नेपालले किन्नका लागि, दान पाउनका लागि कूटनीतिक प्रयत्न गरिरहेको छ । नेपालको अनुरोधमा तत्कालै निर्णय हुन नसक्नु नेपालको कूटनीतिक क्षमतामा ह्रास आएको हो । मानवीय सहयोगमा विश्व समुदाय नजुट्नु पनि तिनको प्रभावमा ह्रास आएकै हो । नेपालका राष्ट्रपतिले गुहारेको महिनौं सम्म पनि भारत, रूस, अमेरिका, चीनले उचित संवोधन नगर्नु नेपालको अपमान नै हो । चीनजस्तो प्रभावशाली मुलुकले नेपाललाई १० लाख डोज दिनु र नेपालले किन्ने निर्णय गरेको ४० लाख डोज अझै उपलव्ध नगराउनु राम्रो संकेत होइन ।