Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

ईर्षा

०७ सोमबार , असार २०७८३ बर्ष अगाडि

इन्दु तोदी, धरान  ----
 जमिनदार महिपालको जुवा अनि रक्सीको कुलतले एक पटक यस्तो बेला पनि आयो जब उसले आफ्नो फुसको भुईँतले घर बाहेक सबै जग्गा र धन–सम्पत्ति गुमाउनु प¥यो । महिपालको अत्यन्तै मिल्ने हितैषी साथी थियो दीनदयाल,जो उसकालागि जुनसुकै बेला जे गर्न पनि तैयार रहन्थ्यो । टुहुरो दीनदयालको आफ्नो कोई न भएर मिठो फकाउने बोली बोलिदिने महिपालमा ऊ आफ्नो सब थोक देख्थ्यो । उसले साथी महिपालको यस्तो आपद र दुर्दशाको समयमा जिउज्यान लगाएर उसको गुमाएको धन–सम्पत्ति, नाम सबै फिर्ता ल्याउनमा धेरै मदत गर्यो । तर महिपालमा भने पहिला भन्दा अझ बढी धन सम्पत्ति, मान सम्मान पाएर ठूलो घमण्ड पलायो  । उसले अब आफुसामु गरीब र दरिद्र दीनदयाललाई झिँगाजति पनि गन्न छाड्यो ।दीनदयालले लगाएको गुणजति सबै भट्टीमा पोलेर खायो  । अब त दीनदयाललाई जतिखेर,जोसुकैको अगाडि बेइज्जती गर्नु ऊ आफ्नो हैकम नै ठान्न थाल्यो ।
आफुले सबथोक ठानेको एक मात्र मित्रको आफुप्रतिको बदलिएको यस्तो घीनलाग्दो दुर्व्यवहार र उपेक्षाले दीनदयाल विचलित हुन्थ्यो । उसको छाती असह्य पीडाले दुख्न थाल्यो । 
तर त्यसै पीडाको आत्मबलले ऊ अब अझ बढी मेहनत गर्न थाल्यो र निकै धन पनि कमायो ।अब ऊ महिपाल जस्तै ठूलो जमिनदार बन्यो । उसले बिहे गर्यो, ठूलो घर बनायो र रमाउन थाल्यो । 
यो कुरा जब महिपालले थाहा पायो उसलाई सही नसक्नु भयो । ऊ दीनदयालको सर्वस्व नष्ट गर्ने कुचेष्टा ले एक दिन मध्यरात्रिमा दीनदयाल र उसको परिवार सुतिरहेको बेला एउटा तगारीमा कोइला सल्कायो र दीनदयालको घर तिर उछिट्याई दियो । घरबाट आगाका मुस्लाहरू उठ्न थालेको देखेर महिपाल खुशीले पागल झैँ भयो, डाह र इर्ष्याको आवेगमा उसलाई होशै रहेन कि तगारीबाट सल्किएका कोइला हुत्याउँदै गर्दा केही झिल्काहरू उसको आफ्नै जिउभित्र पनि परे र तिनले अब उसको शरीरलाई साँच्चिकै जलाउँदै थिए ।