अधिवक्ता गंगा दहाल–
नेपालमा संघीय गणतान्त्रिक मुलुकको घोषणा गरिएको दिन २०६५ साल जेठ १५ गते संबिधान सभाको ऐतिहासिक पहिलो बैठकले राजतन्त्रको अन्त्य गरि नेपालमा गणतान्त्रिक मुलुक घोषणा गरिएको दिन हो । यसकारण हरेक वर्ष गणतन्त्र दिवस मनाइने गरिन्छ । गणतन्त्र दिवसमा गण अर्थात जनसहभागिता नदेखिनु चाहिं दुर्भाग्य नै हो ।
अझ यसपल्ट त टुँडिखेल र राष्ट्रपति निवासमा गणतन्त्र दिवस नमनाएर कोरोनाबाट सुरक्षा हुनेगरी नेपाली सेनाको भवनमा मनाइएको छ । गणतन्त्र दिवस नमनाएको भए जाति हुन्थ्यो । किनकि गण कोरोनाबाट प्रताडित छन् । पहिले जनतालाई कोरोनाबाट मुक्त पारेर गणतन्त्र दिवस मनाउनु उचित हुनेथियो । जंगी अड्डामा गणतन्त्र दिवस मनाउँदा अनेक चर्चा परिचर्चा पनि सुनियो ।
नेपाली जनताको चाहाना, अपरिहार्यता अनुरूप लामो संघर्ष त्याग तपस्या समर्पण राजनैतिक सदाचार इमानदारीता देश प्रेमको खातिर महान नेता कार्यकर्ता कयौं नेपालीका छोराछोरीले जीवनको आहुती दिएका थिए गणतन्त्र स्थापनाका खातिर । आज तिनै शहीदहरूको बलिदानी जीवनको आहुतीको प्रतिफल गणतान्त्रिक मुलुकमा छौ हामीहरू । गणतान्त्रिक मुलुकको घोषणा पश्चात् गणतन्त्रलाई संस्थागत गर्नका निमित्त संबिधानले प्रत्याभूत गरेका प्रक्रिया पूरा गरिए । गरिंदै छन् । निर्दिष्ट कानुन बमोजिम मुलुकमा तीन तहका सरकार भए । स्थानीय सरकार प्रादेशिक सरकार केन्द्रीय सरकार । संबैधानिक शासन ब्यवस्था अनुरूप सरकार चलेका छन् भनिन्छ तर जनतामा चलेको जनअनुभूति भने गराउन सकिएको छैन ।
यति लामो त्याग तपस्या संघर्ष पश्चात् आएको गणतन्त्रको मूल मर्म भनेको आम जनताको जीवनमा परिवर्तन ल्याउनु हो । जनतालाई सुखी बनाउनु हो । अधिकार सम्पन्न बनाउनु हो । जनतालाई मालिक बनाउनु हो । सबै जनताका आधारभूत आवश्यक्ता पूरा गर्नु हो । गास, बास, कपास, सुरक्षा र स्वास्थको अभावले जनता प्रताडित हुनुहँुदैन गणतन्त्रमा । जनताको आशा र अपेक्षाका कुरा सुनिनु पर्छ । प्रत्येक जनताका मागहरूको संबोधन हुनुपर्छ । जनतालाई रोजगार मूलक बनाउनु पर्दछ । गणतन्त्रमा जनतानै सर्वोपरी ठान्नुपर्दछ र देशलाई समृद्धि शुसासनको बाटोतिर उन्मुख गराउनु पर्दछ । देश विकासको लागि तिब्र गतिमा लाग्नु पर्दछ । विभिन्न कलकारखानाको अवधारणा अघि सार्नु पर्दछ । कानुनी राज्यको अनुभूति दिलाउनु पर्दछ । जनतालाई सरकार छ भन्ने अनुभूत गराउनु पर्दछ । सबै खाले भेदभावको अन्त्य हुनुपर्दछ । यहीँ हो गणतन्त्रको मूल मर्म ।
यस्तो भएको छ त ? गणतन्त्रका गरिमा र महिमा कायम छन् त ? यी प्रश्न गणतन्त्र हाँक्नेहरूका लागि यक्ष प्रश्न हुन्, घोच्ने प्रश्न हुन् । अझै यी प्रश्नहरूको जवाफ नखोज्ने र गणतन्त्रको मर्यादमा नचल्ने हो भने सुदिनको कामना दुर्दिनमात्र होइन, देशकै दुर्भाग्यमा परिणत हुन पनि धेरै बेर नलाग्न सक्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका निमित्त बलिदानी भएकाहरूको रगत अझै ताता र ताजा छन् । ती रगततिर हेरेर आत्म मूल्याङ्कन किन नगर्ने ?
कैयौं नेपाल आमाका छोराछोरी बेपत्ता छन । कयौंले आफन्त गुमाएको पीडा छ । कति जिउँदो लास अपांगताको शरीर बोकेर जिइरहेका छन । अझै कति पीडित छन्, राज्यको ध्यान यता जानुपर्छ, होइन र ? अरू सबै छोडेर जनताका सपना पूरा गर्न तिर लाग्नु पर्दछ । जनता उसै त अनेकौं बिपत्तिको मारमा परेका छन् । यावत अवस्थालाई बेवास्ता गर्दै स्वार्थ लिप्त भै गणतन्त्रलाई आम जनताको आँखामा औचित्यहीन बनाउने कसको अधिकार छ ? स्वार्थ लिप्त हुनबाट माथि उठेर हिजो आफैले गरेको प्रतिवद्धताहरू र दिएका वचन पूरा गर्नु पर्छ कि पर्दैन ?? आम जनताको अधिकारसँग खेलवाड गर्नुलाई कदापि उचित मान्न सकिन्न । प्रश्नै प्रश्नका ताँतीलाई बोलीले होइन व्यवहार उत्तर दिन सक्नुपर्छ जिम्मेवारहरूले ।
गणतन्त्र प्राप्त भयो । गणतन्त्र १४ वर्षे भइसक्यो । साह्रै ठूलो संघर्षले प्राप्त भएको गणतन्त्रलाई सही सदुपयोग गर्नुपर्ने हो । स्वार्थको सतहबाट माथि उठेर देशको र जनताको हितमा उभिनु पर्ने हो । सत्य निरूपण तथा मेलमिलाप आयोग छ, बेपत्ता आयोग छ, त्यहा ६५ हजार उजूरी छन् । ती जनताका आँसु हेर्ने कहिले ? तिनले न्याय र पिडकले सजाय पाउने कहिले ? कैयौं आफन्त गुमाएका परिवारलाई संझिएर शक्ति र स्वार्थको होडबाजी र अहंकारबाट अब त मुक्त हुनुपर्छ । कानुनी राज्य, विधि विधानको शासनमा रहेर गणतन्त्रलाई जोगाउनतिर लागौं । आपसी मनभेद र मतभेद छाडौं । गणतन्त्र जोखिममा छ, गणतन्त्रलाई जोगाऔ ।