धर्मरत्न श्रेष्ठ- -
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली यतिबेला कांग्रेस, माओवादी, माधवकुमार नेपाल र जसपाका बाबुराम भट्टराईहरूको सबैभन्दा ठूलो शत्रु बनेका छन् ।
सत्ता शेरबहादुर देउवाका लागि छाडेको भए उनीहरू संविधानको प्रशंसा गर्थे, सत्ता नछाडेकाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि कु गरेको उनीहरूको आरोप छ । यिनै हुन् यो संविधान लेख्नेहरू ? संविधान लेख्दा जनतासँग सुझाव माँगिएको थियो । जनताको सुझावलाई बोरामा कोचेर विदेशीको इसारामा धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्ने यिनै थिए । त्यतिबेला जनताको सुझाव के थियो ? कस्तो थियो ? यिनले भन्न सक्छन् । सक्दैनन् भने जनताको सुझावलाई समेत बेवास्ता गरेर मनलागी संविधान जारी गर्नेहरू यतिबेला कसरी संविधानमाथि कु भयो ? भनेर भन्न सक्छन् । हिजो आफूले कु गर्दा उचित हुने, आज अरूले कु गर्दा अनुचित हुने कसरी हुनसक्छ ? अनुचित जहिले पनि अनुचित हुनुपर्ने होइन र ?
त्यसैले त ताक परे संविधान नत्र सडक गान हुनपुगेको छ ।
यथार्थमा यो संविधान जनतामाथि कु गरेर लादिएकाले यो संविधानले दिने नकारात्मक परिणाम मात्र भइरहेको छ । विदेशीले दिएको डलरका आधारमा जनतामाथि कु गर्नेहरूले बनाएको संविधान भनेको विदेशी एजेण्डाअनुसारकै संविधान हो । त्यसैले यो संविधान नेपालको माटो सुहाउँदो नै हुनसकेन ।
२०७२ सालमा जारी गरिएको यो संविधानलाई अहिलेसम्म आमनागरिकले अपनत्व ग्रहण गरेकै छैनन् । मात्र चुनावमा भोट दिएका हुन् । भोट दिनु भनेको संविधानको कार्यान्वयन कसरी हुनसक्छ ? जनता बाध्य छन् भोट हाल्न । जनता बाध्य छन् यी राजनीतिक नेताहरूले जे गरे पनि सहन । त्यसैले त संविधानले नियन्त्रण र सन्तुलन मिलाउनै सकेको छैन । न्यायपालिका, व्यवस्थापिकासमेत कार्यपालिकाको हनुमानजस्तो बनेका छन् । कार्यपालिका जङ्गबहादुरको जस्तो मनलागी शासन गरिरहेको छ । सवाल केपी ओलीकोमात्र होइन, सवाल हरेक पार्टी र हरेक नेताको छ । सबैले पाएसम्म खाएका छन्, सोहोरेका छन् । यसकारण दोष केपी ओलीलाई मात्र होइन, सबै राजनीतिक दलहरू छन्, सबैले जिम्मा लिनुपर्छ र अहिलेको जनतामाथिको कुलाई स्वीकार गर्नुपर्छ । जनताको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा सबैले राष्ट्रिय सहमतिका साथ काम गर्नुपर्छ । अन्यथा भोलि भोलि योभन्दा ठूला समस्या आउनेछन्, कोरोनाभन्दा भयावह स्थिति सिर्जना हुनेछ ।
सरकार फाल कि राख, व्यक्ति परिवर्तन गर कि नगर, यसमा जनतालाई कुनै सरोकार छैन । जनता अक्सिजन खोजिरहेको छ, औषधिउपचार खोजिरहेको छ, भोकाहरू खाना खोजिरहेका छन् । त्यसका लागि काम गर । जनतामाथि कहिलेसम्म कु गरिरहने ? कुनै दिन जनता यस्तो कु विरूद्ध उठ्यो भने कहाँ जान्छौ ?