Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

साह्रै अग्ला पुरुष शताब्दी पुरुष

०३ सोमबार , फाल्गुण २०७७५ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ - - 
नेपालमा कोही अग्लो छ भने ती हुन् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी । र, श्रीमती राधादेवी जोशी । यी दम्पत्तीले मृत्युपछि शरीर दान दिने घोषणा गर्नुभएको छ ।
यो घोषणा नयाँ परम्पराको थालनी पनि हो । र, सत्कर्मभन्दा अर्को कर्म छैन भन्ने सन्देश पनि हो । यस्तो कालजयी काम असत्मा शासन गर्नेहरुले गर्न सक्दैनन् । जुन त्याग सत्यमोहन जोशीले देखाउनु भएको छ, त्यो नेपालमा मर्दै गएको मानवीयता बिउँताउनका लागि समेत ठूलो योगदान हो । जीवनभर साहित्य र संस्कृतिको सेवा गर्ने सत्यमोहन जोशी मरेपछि पनि यही माटोका लागि, युवाका लागि, आधुनिक विज्ञानका लागि उपयोगी हुनुभएको छ । उहाँ भन्नुहुन्छ, यति लामो आयुको रहस्य के हो, म मरेपछि यसको अध्ययन हुनसकोस् ।
किन मृत शरीर दान ? यो यक्ष प्रश्न हो । देश बनाउँछु, देश उठाउँछु, समाज परिवर्तन गर्छु, सोच बदल्छु, नयाँ नेपाल, समृद्ध नेपाल देखाउँछु भन्ने कोही नेता वा शासक छन्, जो जोशी दम्पत्तीभन्दा अग्लो हुनसके ?
सत्यमोहन जोशी सत्य वोल्नुहुन्छ– ‘मरेपछि पनि शरीर उपयोगी होस् भनेर हामीले यो कदम चालेका हौं ।’ चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिएर जीवनमात्र होइन, मृत्य पनि नेपालकै लागि बरदान दिनुभएको छ सत्यमोहन जोशीले । देशको, मान्छेको जीवन खोसेर बाँचेको ढोङ् गर्ने शासक, प्रशासकहरुका लागि सत्यमोहन जोशीले गाला पड्काउनु भएको छ ।
माघ ३० गते ललितपुर महानगरपालिकाको प्राङ्गणमै पुगेर जोशी दम्पत्तीले मृत्युपछि शरीर दान दिने घोषणा गर्नुभएको हो । नइ प्रकाशनले शताब्दी पुरुषका लागि जुन मेहनत र पूजा गरेको छ, त्यो स्तुत्य रहेको छ । १०१ वर्षीय जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीसहितको हस्ताक्षरसहितको किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मन्जुरी पत्रका उनीहरूका छोरा अनुपराज जोशीको सहमतिको समेत हस्ताक्षर रहेको जानकारी नरेन्द्र प्रसाईले दिनुभएको छ । मृत्युपछि जोशी दम्पत्तीको शरीर किष्ट मेडिकल कलेजले पाउनेछ ।
‘आफ्नो शरीर आफू मरेपछि पनि उपयोगी होस् भनेर हामी दम्पतीले यो कदम चालेका हौं ।’ घोषणापछि सत्यमोहन जोशीले भन्नुभयो । यसका साक्षी हुनुहुन्थ्यो ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन ।
राजनीति गर्नेहरु पैसाका लागि दगुरेका छन् । प्रशासन चलाउनेहरु कर्मलाई कुकर्म बनाइरहेका छन् । मात्र पैसा कमाउने । समाजमा पैसा हुनेको इज्जत हुन्छ भन्ने मान्यता बस्दै गएको छ । यी सबै मिथ्या हुन् भन्ने शिक्षा संस्कृतविद् सत्यमोहन जोशीले दिनुभएको छ । शताब्दी पुरुषबाट मान्छे समाजोपयोगी हुनुपर्छ भन्ने शिक्षा लिन सके मानवीयता र सत्कर्म फलिभूत हुनसक्ने थियो ।