Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

दलहरुले पनि र पूर्वराजाले पनि... : शाश्वत शर्मा

११ सोमबार , श्रावण २०७२१० बर्ष अगाडि

पछिल्लो जानकारीअनुसार चारवटा दलहरुवीच संविधानसभा भित्र रहेका र नरहेका असंवद्ध दलहरुका माँग समेत संवोधन हुनेगरी यही साउन ३१ गते सम्ममा (सम्भवत २५ गते) नयाँ संविधान जारी गर्ने सहमति गरेका छन्। अहिले नै असंतुष्टहरुका माग पूरा गर्न नसकिएता पनि पछि संविधान संशोधन गरेर भए पनि पूरा गर्नै प्रमुख राजनीतिक दलहरु तैयार भएका हुन्। पहिला संविधान जसोतसो छिटो जारी गर्ने, अनि असंतुष्टहरुका माग पछि संशोधन गरेर पूरा गर्ने। यस्तो काइदा निकालेका छन्: प्रमुख चार दलहरुले।
यी प्रमुख चारदल कांग्रेस, एमाले, एमाओवादी र विजय गच्छदारको फोरम गणतान्त्रिकले संविधानसभा भित्र रहेका असंतुष्टरु राप्रपा नेपाल, तमलोप, संघीय समाजवादी फोरम, तराई मधेश सद्भावना पार्टीहरु बाहेक बाहिरका असंतुष्ट वैद्य, विप्लवलगायतका नेतृत्वको माओवादीलाई समेत संतुष्ट बनाउने भएका छन्। अर्थात अहिले उधारो दिएर भए पनि पछि हिसाव मिलान गर्ने। किनभने केपी ओलीलाई प्रधानमन्त्री बन्न हतार भइसकेको छ। त, लोभीपापीहरुको यस्तो दाउ छ। अव असंतुष्टहरुलाई पछि संतुष्ट पार्ने त भनियो। तर के यो प्रस्ताव ती असंतुष्हरुले मान्लान्? फेरि यहाँ विप्लव समूह यिनलाई राष्ट्रघाती, जनघाती, जनविरोधी भनेर बन्द, हड्ताल लिएर अघि सरिसकेको छ। उसको माग के हुने हो? त्यो अहिलेसम्म प्रष्ट छैन। त, ओलीलाई प्रधानमन्त्री अनि प्रचण्डलाई राष्ट्रपति बन्न हतार भएकै कारण मुलुकलाई एकपटक पुनः द्वन्द्वमा फसाउने प्रपञ्च रचिदैछ। यहाँ राजतन्त्रवादीहरुको पनि ठूलै संख्या छ। ऊँकार परिवारसहितका हिन्दूवादीहरु त ९३ प्रतिशत छन्। सम्भवतः जनमत कै कुरा गर्ने हो भने यी दलहरु भन्दा हिन्दूवादी र राजतन्त्रको पक्षमा बढी जनमत छ भनेर प्रष्टै देखिन्छ। त्यस बारेमा के हुनेछ? यो मुलुक यी दल र ती नेताहरुको मात्र बिर्ता त पक्कै होइन होला। हुलदंगा र तोडफोड गरेर सत्तामा हावी हुन पूर्वराजाले खोजेनन्, त्यो उनको सदाशयता र मुलुकप्रतिको बफादारिता हो।  यही उनको कमजोरी हुनगयो। यसो भन्दैमा पूर्वराजाको शक्तिलाई कम आँक्नु त भएन नि। बडो ठूलै भूल गर्दैछन् यी दलहरुले। यो भूल कतै पश्चातापको विषय नबनोस्।
करेसाको भूतलाई त स्थान दिइन्छ, उसको हकलाग्ने खाना मन्सिने चलन छ। पूर्वराजा त यो देशका निर्माता परिवार हो। पूर्वराजालाई स्थान नदिएर शान्ति र स्थिरता, समानता र बैध पद्धति कसरी स्थापित हुनसक्ला र? गतहप्ताको काठमाडाैंमा सम्पन्न एउटा पूजाको कार्यक्रममा पूर्वराजाले अर्को मस्यौदाको माग गरे। सबैलाई हुने, कसैलाई काखा र कसैलाई पाखा नगर्ने किसिमको संविधानको मस्यौदा ल्याउन आग्रह गरे। त्यस्तै गरेर हिमानी शाहले पनि पत्रकार सम्मेलन गरेरै सबैलाई हुने किसिमको मस्यौदा ल्याउन र जनताले दिएको रायसुझावको सम्मान गर्न आग्रह गरिन्। बस के चाहियो र? श्रीमान केपी ओलीजीले सर्पहरु दूलोबाट निस्केर च्याउँदैछन्, तर तिनीहरुको इच्छा पूरा हुँदैन भनेर भाषण ठोकिहाले। फेरि पनि भनौं, बडो भूल गर्दैछन् केपी ओलीहरु। मुलुकमा रक्तपात निम्त्याउने प्रपञ्च रच्दैछन् केपी ओली एण्ड कम्पनी। त्यत्रो जनमत भएको राजतन्त्रलाई बाहेक गर्न मिल्छ? के सोच्या होला यिनले? संविधानमा राजतन्त्रलाई त स्थान दिनैपर्छ। र, जनताले दिएका रायसुझावलाई पनि रद्दीको टोकरीमा फाल्ने षडयन्त्र हुँदैछ।
अर्को कुरा पूर्वराजाले पनि यसरी साइत हेरेरमात्र बोल्ने गर्नु भएन। अलि कडा किसिमले नै अगाडि आउनु पर्छ, यदि आफ्नो बंश परम्परा अघि बढाउने हो भने। देशको मायाँ गर्ने हो भने। अरुले वातावरण मिलाइदिन्छ, जनताले बोकेर राजगद्दीमा राखिदिन्छ भनेर पर्खनु भएन। बोल्नका लागि जोखना हेर्नु भएन पूर्वराजाले। संविधानमा स्थान चाहिइएको जस्तो पनि गर्ने अनि केही गर्दा पनि नगर्ने प्रवृत्ति ठिक भएन। दिल्ली घुमेर आउँदैमा यहाँ कसैको केही लाग्दैन। उत्रिनुपर्ने त नेपाली जनताले नै हो। पूर्वराजाले नै हो। देशको स्वाभिमानका रक्षा खातिर विदेशीले र विदेशपरस्तहरुले कुनै चिन्ता गर्दैनन्। जो राष्ट्रवादी छ, उसैले देशको मायाँ गर्ने हो। जो सत्तावादी छ, उसलाई देशको मायाँ किन हुन्थ्यो र? यदि विदेशीको बुई चढेर मात्र हुँदो हो त यहाँ कायाँपलट नै हुने थिएन। त, जनतालाई एकजुट गराएर हिड्नुपर्‍यो। आह्वान गर्नुपर्‍यो। हरेक क्षेत्रमा असफल भइसकेकाहरु अझै हुँकार गर्दैछन्, तिनलाई निर्मूल गर्न सक्नुपर्‍यो। र, अव बहुसंख्यक राजतन्त्रवादीहरुले पनि खाली जयजयकार, राजा आउ देश बचाउ (त्यो पनि पूर्वराजाका अगाडिमात्रै) गर्नु भएन। बाँकी जनताका माझ खुलेर जान सक्नुपर्‍यो। जुलुस, धर्ना, घेराउ (शान्तिपूर्ण तरिकाले) गर्न सक्नुपर्‍यो। समय बितिसक्यो। राजतन्त्रको 'र' पनि नराखी मस्यौदा आइसक्यो। भोलि पास भएर लागू हुन बेर छैन। कसैले आफ्नो सम्पत्ति जोगाउनकै लागि पदका लागि इच्छा नदेखाएता पनि नेपाली जनताले जबरजस्ती भए पनि आफ्नो धर्म त निभाउनु पर्‍यो नि। के गर्ने मुलुक यी नेता र ती दलहरुबाट जोगिदैन। एकदिन सबै मर्छन्, बहादुर भएर मर्ने हो भने देशको माटो हातमा लिएर उभिने बेला यही हो। चेतना भया।