Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

माफी जनतासँग माँग्ने कि दिल्लीसँग?

०४ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

 माओत्सेतुङले सांस्कृतिक क्रान्तिपछि ७० को दशकमा आफ्ना जनताका सामु घुँडा टेकेर गल्ती कमजोरीका प्रति माफी मागेका थिए। तिनै माओलाई राजनीतिक सिद्धान्त बनाएको एमाओवादी पार्टीका अध्यक्ष प्रचण्डले १० वर्षे जनयुद्धमा र त्यसपछि गरेका गल्ती, कमजोरीप्रति जनतासँग होइन, दिल्लीका सामु पुगेर आत्मालोचना गरेका छन्। यो घटना कम्युनिष्टहरुभित्र ठूलै चर्चाको विषय बनेको छ। दिल्लीको समनमा हाजिर हुन असार २९ गते पुगेका प्रचण्डले जनता दल युनाइटेडका अध्यक्ष शरद यादवको निवासमा असार ३१ गते भेला भएका भारतीय नेताहरुका सामु आफूले गरेका तीन गल्ती गिनाएर आश्चर्यमा पारेका छन्। उनका अनुसार पहिलो स्व.गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर सबैभन्दा ठूलो गल्ती गरेको र त्यसको पश्चाताप अहिलेसम्म पनि रहेको बताएछन्। दोस्रो प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरणमा आफूले भावावेसमा आएर राजिनामा दिनु अर्को गल्ती भएको दोहोर्‍याएछन् र तेस्रो गल्तीको रुपमा आफूहरु सक्षम हुँदा हुँदै पहिलो संविधानसभालाई ब्यवस्थापन गरेर संविधान दिन नसक्नु रहेको बताएछन्।
र, यसरी आफ्ना गल्ती कमजोरीप्रति माफी पाउँ भन्ने शैलीमा प्रचण्डजस्ता लौह नेता दिल्लीमा यसरी पानी पानी हुनुलाई राजनीतिक बृत्तमा प्रचण्डको कमजोरी मानिएको छ। यही अवसरमा प्रचण्डले अव संविधान निर्माण गरिछाड्ने प्रतिवद्धता पनि दोहोर्‍याएका समाचारहरु प्रकाशमा आएका छन्। यस अवसरमा भारतीय नेताहरुले मधेसलाई मिलाएर र सिमांकनसहितको संविधान जारी गर्न सुझाएका छन्। स्मरणरहोस्, भारतीय सुझाव जहिले पनि निर्देशात्मक हुने गरेको छ। त्यसपछि प्रचण्डले संविधान जारी गर्नुपूर्व भारतको साथ समर्थन लिन आएको स्पष्ट पारेका थिए। प्रचण्डले नेपाली जनताको साथ र समर्थनको साटो दिल्लीको समर्थनमा संविधान जारी गर्ने र सुरु भएको प्रक्रियाबाट कदापि पछि नहट्ने बताएका छन्।