Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

हामी एक कि अनेक चीन नीतिमा ?

०८ सोमबार , मंसिर २०७७६ बर्ष अगाडि

प्रेमसागर पौडेल----
एक चीनको नीति मान्नेलाई सुरक्षा अधिकारी, सरकारी कर्मचारी, प्रोइण्डियन वा प्रोवेष्टर्न भनेर चिनिनेहरुले जेजस्तो ज्यादती वा अत्याचार गर्यो भने उसलाई कानुनी कार्वाही गरिंदैन, बरु सरकारले सम्मान गर्छ र संरक्षण दिन्छ । यस्ता दर्जनौं घटनाहरु उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ । उदाहरणका लागि सन १९९६ को शुरुमा द मेसेञ्जर साप्ताहिकका सम्पादक, प्रकाशकलाई चीनको पक्षमा समाचार लेखेको कारणबाट बिना वारेण्ट तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गुप्ताले गैरकानुनी पक्राउ गरेर लगातार १४ घण्टा यातना दिएका थिए । यस घटनाका सम्बन्धमा वामपन्थी नेता हिरण्यलाल श्रेष्ठले प्रतिनिधिसभामा सम्बन्धित पदाधिकारीलाई कानुनी कार्वाहीको माग गर्नुभएको थियो ।
चीन मैत्री भएको कारणबाट तत्कालीन सभामुख कृष्णबहादुर महरालाई सुनियोजित ढंगले फसाइयो र बदनाम गर्ने काम भयो । शायद, आजसम्मका चीनका लागि राजदूत भएका मध्ये अब्बल देखिएका तत्कालीन चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई अपमानजनक ढंगले समयावधि नपुग्दै फिर्ता बोलाईयो। 
सन १९९९ मा नेपाल प्रहरीका प्रहरी उपरीक्षक धनबहादुर रानाले बाँके जिल्लामा चीनको पक्षमा कुनै पनि कार्यक्रम सञ्चालन गर्न, लेख्न र बोल्न अघोषित प्रतिबन्ध लगाए । सन २००६ मा नेपाल–चीन पारस्परिक सहयोग समाजको कार्यालयमा अनाधिकृत प्रवेश गरेर त्यसका अध्यक्ष लगायतलाई गालीगलौंज, हातपात गरे र कार्यालयको ढोका लगायतमा लात्ती मुक्काले प्रहार गर्दै बहालवाला भारतीय गोर्खा सैनिकका हवल्दार भीम रानाले धम्की दिए । निजका विरुद्ध पटकपटक कार्वाही माग गर्दा पनि आजसम्म कार्वाही हुन सकेको छैन । केही समय अघि नेपाल चीन मिडिया फोरमका अध्यक्ष तथा नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउने षड्यन्त्र प्रधानमन्त्रीको सक्रियतामा रचियो । नेपालमा सरकार कसको ईशारा र स्वार्थमा प्रोचाईनिज भनेर चिनिनेहरु र जनस्ततरमा नेपाल–चीन सम्बन्ध सुमधुर प्रगाढ र प्रभावकारी बनाउन सक्रिय अभियन्ताका विरुद्ध योजनावद्ध रुपमा लागिरहेको छ ? सबै छर्लङ्ग छ ।
मेरो निष्कर्ष छ– प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारबाट यसक्षेत्रको स्थिरता, शान्ति, विकास र समृद्धिको आशा गर्नु भनेको हुटिट्याउले आकाश थाम्नसक्छ भनेर विश्वास गर्नुजस्तै हो । यो सरकार नेपाल–चीन सम्बन्धको विरुद्धमा छ । फेस सेभिङका लागि केही गरेकोलाई देखाएर जनतालाई झुक्याउने काम भइरहेको छ । यो सरकारले देशको विकास गर्ने, क्षेत्रीय स्थिरता कायम गर्ने र नेपाल–चीन सम्बन्धलाई अझ सुमधुर र देशहितमा परिचालन गर्ने विश्वास गर्न सकिने अवस्था छैन । कतिपयले केपी ओली जति अडान लिने अरु कुनै नेता नभएको तर्क गरिरहेका छन् । अडान लिनु भनेको देशभक्ति होइन । जो नेता आफुले स्विकारेको सिद्धान्त पद्धतिलाई ब्यवहारमा लागु गर्न सक्दैन त्यो उसको र सिङ्गो देशका लागि पनि घातक हो । जबसम्म नेपाली जनतामा रहेको चीनप्रतिको विश्वास र भरोसा तोड्न सकिंदैन, तबसम्म नेपाललाई अस्थिर, अलगथलग र नियन्त्रण गर्न सकिंदैन भन्ने ईण्डोपश्चिमाले राम्रोसँग बुझेको छ । योजनावद्ध परिचालन भइरहने छ ।