Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

न्यायको अनुभूति हरायो

०३ सोमबार , कार्तिक २०७७६ बर्ष अगाडि

अधिवक्ता गंगा दहाल---
अहिले देश समृध्द हुन नसक्नुमा एउटा मुख्य  कारण भ्रष्टाचार पनि हो । भ्रष्टाचारनै ठूलो समस्याको रुपमा देखा परेको छ । जबसम्म भ्रष्टाचारलाइ जरेदेखी उखेलेर फ्याक्न सकिदैन,  तबसम्म समस्या उहीँ हुन्छ ।  गरिब झन गरिब, धनी त धनी हुँदै जान्छ । तसर्थ अबको अभियानमा सडक देखिनै भ्रष्टाचार विरुद्ध एकजुट भएर लाग्नैपर्छ । जसरी राष्ट्र राष्ट्रियता सिमानाको सवालमा सबैको साझा मुद्दा  बनेको थियो त्यसरी नै भ्रष्टाचार विरुद्ध पनि एकजुट भएर लाग्नैपर्छ  । हाम्रो गरिबीको मुख्य कारक भ्रष्टाचारनै हो भन्ने कुरा  हरेक ब्यक्ति ब्यक्तिको मन मस्तिष्कमा हालेर अभियान कै रुपमा लागेर भ्रष्टाचारीलाइ सचेत नपारेसम्म लोकतन्त्रनै धरासायी हुनुका साथै देश र जनता गरिबीको दलदलबाट उन्मुक्ति पाउने छैनन् । परिवर्तनको अनुभुतिनै हराएर जानेछ ।  
यसका लागि भ्रष्टाचारीहरुलाई भ्रष्टाचार गर्नु हुदैन र गर्दिन भन्ने कुरा भित्तामा टासेर मात्र होइन भित्रै मन देखिनै सकारात्मक भावनाको बिकास गराउन पर्ने हुन्छ । हामी आफै स्वाबलम्बी र स्वाभिमानी भए अरु कसैले  हेप्दैनन् भन्ने कुराको हेक्का सबैलाई गराउन सके मात्र केही हुन्छ ।
सुशासन र बिकास तिब्र गतिमा बढ्न नसक्नुको कारणनै भ्रष्टाचार बाटै उत्पन्न भएको गरिबी, बेरोजगारी कमिसन  र मानव मानव बिचको विभेदनै हो । यी सबै सत्य तथ्य जन मानसलाई बुझाउन सक्नुपर्छ । बुझ्नुपर्छ ।
आन्दोलन र क्रान्तिले ल्याएको परिवर्तनको परिणाम जुन बर्गलाई लक्षित गरिएको थियो ती बर्गले अनुभुतिनै गर्न पाएनन् झन उनीहरुलाई सकस र अभाव, ऋणको भारले थिच्दै गएको छ । यस्तो परिस्थिति नआउनु पर्ने थियो तर आयो जनता यहीँ सकस भोग्न बाध्य छन् । 
यहाँ कान फुटुन्जेल सुन्नुपर्छ एउटै बिन्दुबाट एउटै आवाजमा हामीले जनताका लागि गर्दैछौं, जनताकै लागि काम भैरहेका छन्, जनताले सबै बुझेका छन्, जनता जनार्दन हुन् । यस्तै यस्तै जनताका पक्षका भाषण । अनि मौका मिल्छ जनता बिर्सिएर आफ्नै दुनु सोझो पार्नतिर लाग्छन् । पैसा देखे पछि महादेवको तीन नेत्र भन्ने उखान चरितार्थ हुन्छ । त्यसैले अबको दिनमा भ्रष्टाचारको विरुद्धमा बुलन्द आवाज उठाउन जरुरी छ  । 
देश सम्वृध्द भए जनता समृध्द हुन्छन् । जबसम्म देश समृद्ध हुँदैन जनताको जीवनमा परिवर्तन आउदैन । ब्यक्ति जतिसुकै धनी भएर के गर्नु ? केही देश र जनतालाई माया गर्ने यस्ता ब्यक्तिहरु पनि छन्, गुट पुर्वाग्रहले नहेरी त्यस्ता ब्यक्तिको पहिचान गरि पार्टीहरुले खोजी खोजी नेतृत्वको जिम्मेवारी दिनु पर्छन्, त्यस्ता ब्यक्ति नेतृत्वमा आए भने अवसर पाउँदा पनि भ्रष्टाचार गर्दैनन् कर्मठ र इमानदार  हुन्छन् । कोही यस्ता ब्यक्ति छन् जसको मनोवृत्तिनै भ्रष्टाचार गर्नु हुन्छ  ।  लोभ लालचले भरिएको दिमाग हुन्छ । त्यस्ता ब्यक्तिलाई राष्ट्र राष्ट्रियताको माया मतलब हुँदैन । पैसा भन्दा माथी उसले केहि देख्दैन । समयमा त्यस्ता भ्रष्टाचारीहरुलाई चिन्न नसक्नु कमजोरी हो । देशमा जबसम्म भ्रष्टाचारको तुवाँलो हट्दैन तबसम्म सुखी नेपाली समृद्ध नेपाल बन्न सक्दैन ।
देशमा लोकतन्त्र स्थापना भएको पनि झण्डै १३ वर्ष बितिसकेको छ । यतिका वर्ष बितिसक्दा पनि सोचे  जस्तो जनताले अनुभुति गर्न पाएका छैनन् । हिजो जुन सपना देखेका थिए ती सपना आजसम्म पनि उहीँ अवस्थामा छन् । गरिब गरिबै छन् । धनी धनीनै छन् । केही त्यस्ता कमिसन र भ्रष्टाचारीहरुको कारणले जनतामा बिश्वसनीयता कम हुँदै गएको छ । धनी र गरिब बिचको खाडल पुरिनु पर्ने हो, झन् झन् गहिरिएर गएको छ । केही त्यस्ता व्यक्तिहरु पनि छन् जो हाउभाउ देखाएर लोकप्रिय बन्न खोज्छन् । सबैले त्यस्तालाई बेलैमा चिन्न जरुरी छ ।