
यता ३ नम्बर प्रदेशमा पनि बिद्रोहको स्थिति छ । ५ नम्बर प्रदेश भालुवाङ् अर्थात भालुको कन्पटजस्तो बनेको छ । समष्टिमा नेकपा भनेको केन्द्रका अध्यक्षद्वय केपी ओली र प्रचण्डमात्र हुन्, अरु पिछलग्गुजस्ता देखिन्छन् । नेता न कार्यकर्ता सबै दुई नेताको अनुहार, पाइला पछ्याइरहेका छन् । पार्टी पद्धतिमा होइन, दुई नेताको फर्मानमा चलिरहेको छ, झगडा दुबैवीच बढेको छ । मन्त्रिमण्डल पुनर्गठनमा प्रचण्डकी बुहारी बिना मगर सबैभन्दा ठूलो मुद्दा हो । प्रचण्डले पुराना सबै फेर्ने भन्नु र ओली केहीलाई मात्र फेरौं भन्दा माखेसाङ्गलो अड्किएको छ ।
सवाल भागबण्डा पनि छ । प्रतिपक्षी चुप हुनुमा संवैधानिक निकायहरुमा भागबण्डा नै हो । पुराना भ्रष्टाचारका फाइल अर्को कारण देखिन्छ । जेहोस्, संवैधानिक शासनका नाममा भागबण्डाको शासन चलिरहेको छ, तर कति दिन ?
संघीयता राख्ने कि नराख्नेमात्र होइन, नेकपा तोडमोडका कुरा अझै छन् । आगो निभ्यो तर अँगेनामा तातो खरानीभित्र झिल्का छन् । त्यो झिल्काले राजनीतिभित्रको राजनीति जान्नेहरु भन्छन्– परिवर्तनका सुनामी आउनेवाला छ ।