shashot sharma
सुत्नु त सुत्नु, कुम्भकर्णजस्तो भएर त नसुत्नु नि। पूर्वराजा पनि त राजनीतिको अंग हो, राजनीतिक प्राणी यसरी सुत्नु उचित हो र? म टुलुटुलु हेरेर बस्दिन भन्ने पूर्वराजा देशमा के भइरहेको छ, असान्दर्भिक भएर बस्नु राष्ट्रवादीहरुले राम्रो मानिरहेका छैनन्। पूर्वराजाले पनि सदैव जनता र देशप्रति जिम्मेवार त हुनैपर्छ नि। पूर्वराजाले आफ्नो तवरबाट शक्ति प्रदर्शन गरेनन्, गुण्डा परिचालन, मिडियाबाजी आदि केही पनि गरेनन्। न त विदेशीसामू लत्रिए, न आईएनजीओहरुसँग कुनै गोप्य र खुल्ला सम्झौता नै गरे। हिजो अर्थात जनआन्दोलन अघि वा पछि पनि यी बिकृतिहरुको 'साथ' पाएर जनआन्दोलन सफल पारेकाहरुले आज सत्ता कब्जा गरेका छन्। त्यतिमात्र कहाँ हो र, आफूखुशी राजनीतिक अनुकूलतायुक्त संविधान समेत निर्माण गर्दैछन्। सके यही असार मसान्त, नभए साउन, भदौसम्ममा नयाँ संविधान जारी गर्छौं गर्छौं भनेर उफ्रिएको उफ्रियै छन्। तर..पूर्वराजा कहाँ छन्? राप्रपा नेपाल र संवैधानिक राजतन्त्र र हिन्दूवादीहरु के गर्दैछन्? जनाधिकारमाथि अन्याय भइरहेको छ, कोही पनि त खुलेर बोल्दैनन्। किन? आश्चर्य लाग्छ।
घुमाउरो पाराले नयाँ संविधानमा राजतन्त्रलाई पनि स्थान दिने सहमति भएको थियो भनेर बेला बेलामा उनले भनेता पनि त्यो बाहेक अरु केही 'प्रमाण' उनीबाट आएको छैन। न त २०६३ साल वैशाख ११ गतेका साक्षी भारतका करण सिंहले नै रहस्यको पेटारो खोलेका छन्। परिवर्तन भइसकेपछि सत्ताधारी र प्रमुख विपक्षहरु चैं त्यस्तो कुनै सहमति नै नभएको दावी गरिरहेका छन्। पूर्वराजालाई झूठा सावित गर्ने प्रयत्न भइरहेका छन्। यसको नेतृत्व माधव नेपालले लिएका छन्। जेहोस्, सहमति भएको थियो वा थिएन? त्यो अव अर्थपूर्ण देखिन छाड्यो। मुख्य कुरा आवश्यकता छ कि छैन? भन्ने हो। मुलुक नै विखण्डन हुने स्थितिमा छ, हिजो राजतन्त्रलाई सम्पूर्ण दोष दिएर उम्किनेहरु आज आफू अनुकूल संविधान निर्माण गर्नेतिर लागेर झन अस्थिरता, अन्यौलता र अझ बिखण्डनको स्थितिलाई निम्त्याउँदैछन्। स्वयं प्रमुख पार्टीभित्रैबाट सत्ताको साटफेरका लागि मात्र गरिएको १६ बुँदेको बिरोध भइरहेको छ। एकातिर सत्ताधारीहरुकै मारामार छ भने अर्कातिर तराई मधेसमा सीके रावतहरुको बोलवाला दिन प्रतिदिन बढ्दो छ। सोझा मधेसीहरुलाई पहाडीयाहरुका विरुद्धमा शारीरिक एवं मानसिक रुपबाट तैयार पारिदैछ। लड्न र भिड्न तैयार रहेको भन्ने कुरा विभिन्न माध्यमहरुबाट आइरहेका छन्। तर काठमाडौंमा सत्ताका लागि मारामार गरिरहेकाहरुलाई यी सबैको कुनै सरोकार देखिदैन। मानौं यो कुनै समस्या नै होइन। यदि मधेसमा साँच्चिकै विभेद छ भने कसरी छ? यदि छैन भने किन छैन? कुनै दल मधेसलाई बुझाउने दायित्व बोध गरिरहेको देखिन्न। यदि मुलुक बिखण्डनबाट जोगाउने हो भने मधेसीको गुनासोको संवोधन हुनैपर्छ। बिकल्प छैन यसको।
मुलुक ४ दलको सिण्डिकेटमा चलेको छ। मुलुक अभिभावकविहीन भएको छ। भएका राष्ट्रपति,उपराष्ट्रपतिलाई कसले मान्ने? लाजगालले 'मानेता' पनि यी दुबै अभिभावक चैं हुन सकेनन्। किनभने नेपालीको संस्कार यस्तो हुँदै होइन। नेपालका पुरानो र नयाँ पुस्ताले नेताहरुलाई राजनेताका रुपमा देख्नै पाएनन्। यसकारण राजा र राजसंस्था बुझेका नेपालीले टुहुरो अनुभव गरिरहेका छन्। यही कारक तत्व हो पूर्वराजा जनताको मनस्थितिबाट तिरस्कुत हुन नसक्नुको। पूर्वराजा उठुन्, जनतामा जाउन्, जनताका लागि केही गरुन् भनेर नै उनलाई देख्नासाथ नागरिकहरु 'राजा आउ देश बचाउ' भनेर जिन्दावादको नारा घन्काउछन्। तर कुनै नेता कही जाँदा पनि यस्तो नारा लागेको सुनिदैन। यसबाट थाहा हुन्छ कि राजनीतिक नेताहरु जनताको मनमा, जीवनमा भिज्नै सकेका रहेनछन्। ०६३ सालदेखि जनतालाई रनभुल्लमा पार्ने नेताहरुप्रति जनतामा सम्मानभाव देखिदैन। पुराना वा नयाँ पिँढी, दुबैले नेपालमा अभिभावक चाहिने रहेछ भन्ने महसुस गरेका छन्। यही कारण पूर्वराजा राजनीतिमा सक्रिय भइदिए हुन्थ्यो भन्ने कामना गरिरहेका छन्। पूर्वराजा सक्रिय भइदिएका भए भूकम्पपछिको राहतवितरण, उद्धारमा जुन ब्रम्हलूट भयो, त्यो हुनेथिएन। कर्मचारी र राजनीतिक कार्यकर्ता मिलेर गर्नुसम्म भ्रष्टाचार गरे। मन्त्री र सचिवहरु, सभासद र संवैधानिक निकायका सदस्यहरुले पनि भ्रष्टाचार गर्न छाडेनन्। अभिभावक नहुँदा कति छाडातन्त्र चल्ने रहेछ भन्ने उदाहरण हुन् यी। ०४५ सालमा पनि भूकम्प गएको थियो, सरकार जनतासम्म पुग्यो, यतिबिघ्न भ्रष्टाचार भएको सुनिएन। यसपटकको विपत्तिमा राजनीतिक र प्रशासनिक व्यक्तिहरुले गर्नुसम्म लूट मच्चाए। जनतामा आक्रोस छ, नेतृत्व छैन। नेतृत्व नपाएर त्यो आक्रोस सडकमा नपोखिएकोमात्र हो। संवैधानिक राजतन्त्र र हिन्दूत्व जोगाउन कसैले सक्कली नेतृत्व लिने हो भने जनताको आक्रोस यी दल र सरकारले थाम्न सक्दैनन्। राजनीतिक दलहरुले जनताको मनोविज्ञान बुझेका छन् तर जनतालाई नेतृत्व कसले दिन्छ र भनेर हेपेका हुन्। विदेशीको धाप पाएर र स्वार्थमा सहमति गरेर राजनीतिक दलहरु मनलागी गरिरहेका छन्। आफ्नो भ्रष्ट चरित्र, नैतिकहीन व्यवहार यिनले सच्याउने भएनन्। यस्तो सबै घटनाक्रम देखेका पूर्वराजा अझै नब्यूँझने? कि निदाएको बहाना गरेर टुलुटुलु हेरेर बसिरहने? सडकमा उत्रिएर एकपटक पनि जनतालाई आह्वान नगर्ने? अबेर हुँदैछ, समयले कसैलाई पर्खनेवाला छैन। शासनव्यवस्था होइन, मुलुकको अस्तित्वका बचाउन त उठ पूर्वराजा।


