Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

कसकसको नक्कली प्रमाणपत्र?

०७ सोमबार , असार २०७२१० बर्ष अगाडि

नेपाल प्रहरीभित्र सकल दर्जाका प्रमाणपत्रहरु सक्कली कि नक्कली भनेर अख्तियारले फाइल ओपन गरेको छ। पहिले अख्तियारले हात हालेपछि आफै छानबिन गर्छौं भनेर नेपाल प्रहरीले छानबिन त गरेको थियो, निकै अधिकारीहरुको प्रमाणपत्र शंकास्पद देखिएपछि रिपोर्ट नै गायब पार्‍यो, अख्तियारलाई जानकारी दिन सकेन। किन? खोई रिपोर्ट? भनेर अख्तियारले सोधेपछि नेपाल प्रहरीभित्र सनसनी फैलिएको छ। असार १ गते अख्तियारको पत्र नेपाल प्रहरीका आइजीपीको टेबुलमा पुगिसकेको छ। छानबिन गर, रिपोर्ट देउ भनेर। तर, फेरि पनि आइजीपी उपेन्द्रकान्त अर्याल अख्तियार प्रमुखसँग भूकम्प ग्रस्त क्षेत्रमा खटिनु परेकाले तत्काल सक्रिय भएर छानबिन अघि बढाउन अप्ठेरो परेकाले थप आवश्यक छ, समय पाउनुपर्छ भन्ने आग्रह गरेको स्रोतले जानकारी दिएको छ। अर्थात् नेपाल प्रहरी नक्कली प्रमाणपत्रको छानबिन भइसकेको रिपोर्ट अख्तियारालाई दिन तैयार छैन। अख्तियार रिपोर्टमात्र होइन, शैक्षिक प्रमाणपत्रसहितको फाइलको प्रतिक्षा गरिरहेको पत्रमा उल्लेख देखिन्छ। फेरि पनि अख्तियारमा नक्कली प्रमाणपत्र पेश गरेर जागीर खाएकाहरुको नामनामेसी सहितका उजूरी परेपछि अख्तियार हर्कतमा आएको बताइन्छ। यो पत्रले नक्कली प्रमाणपत्रधारी अधिकारीहरु जागीर जाने त्रासदीमा परेका छन्।
खासगरी अधिकारीहरुले जागीर खान र प्रोमोशन हुन भारतबाट किनेर प्रमाणपत्र ल्याएर बुझाएका धेरै घटनाहरु प्रहरीभित्र छन्। त्रिविकै प्रमाणपत्रसमेत नक्कली बनाएर पेश गरेका घटना पनि छन् तर त्रिवि आफै चाउरिएकाले उसले पनि केही सोधनी गरेको छैन। नक्कली प्रमाणपत्रधारीहरु उच्च पदमा पुग्ने, सक्कली प्रमाणपत्रवालाहरु जागीर नपाएर खाडी  मुलुकतिर रोजीरोटीका लागि धाउनु पर्ने स्थितिले युवा जमातमा आक्रोस बढ्दै गएको छ। खासगरी राजनीतिक संरक्षण, प्रशासनिक भ्रष्टाचारीको प्रभावमा नक्कली प्रमाणपत्रवालाहरुले जागीर पाउने र तिनकै बोलवाला हुने प्रवृत्ति बढेर गएको छ।
यसैवीच सशस्त्र र नेपाली सेनाभित्रका नक्कली प्रमाणपत्रधारीहरुबारेमा पनि अख्तियारले फाइल पल्टाउन थालेको छ। केही समयभित्रै सशस्त्र प्रहरी बलभित्रको नक्कली प्रमाणपत्रधारीहरुको पसीना छुट्नेछ भन्छन् अख्तियार स्रोत। त्यसै पनि नेपाल प्रहरी र सशस्त्रवीच पक्राउ गर्ने अधिकारका बारेमा झगडा चर्किरहेको छ। सशस्त्रले आफूलाई पनि पक्राउ गर्ने अधिकार चाहिन्छ भनेर लविङ गर्न खोजेपछि सशस्त्र प्रहरी बलको उद्देश्य विपरित सशस्त्रलाई त्यस्तो अधिकार दिने कि नदिने भन्ने विषयमा गृहमन्त्रालयमा ठूलै बहस चलिरहेको छ। अहिले नक्कली प्रमाणपत्रको मुद्दा नेपाली प्रहरीभित्र उठेपछि सशस्त्रका केही सक्कलीहरुले नेपाल प्रहरीको दोहोलो काढ्न र सशस्त्र भित्रै पनि आफ्ना विरोधीहरुको प्रमाणपत्र नक्कली हो भनेर उजूरी गर्ने क्रम बढेको छ। नेपाल प्रहरीले अख्तियारलाई अरु कति दिन अलमल्याउन सक्छ र नक्कली प्रमाणपत्रधारीलाई बचाउन सक्ला?