Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

प्रचण्ड र ओलीको कार्यगत एकता

०७ सोमबार , असार २०७२१० बर्ष अगाडि

मौसमअनुसारको ट्युनिक फेर्न खप्पीस नेता हुन् प्रचण्ड। प्रचण्डले एमालेसँग कार्यगत एकता गर्न प्रस्ताव गरेर मतदाता र राजनीतिक क्षेत्रमात्र होइन, कूटनीतिक कर्प्सलाई पनि आश्चर्यमा पारिदिएका छन्। कांग्रेस र एमालेले सत्ता सम्हालेपछि पहिलोबाट तेस्रो दलको दर्जामा पुगेका प्रचण्डले मधेसी दलहरु र भुरे टाकुरे दलहरु बटुलेर ३० दलीय मोर्चा गठन गरे। यतिले पनि कांग्रेस एमालेलाई धक्का दिने शक्ति नपुगेपछि सडकमा वैद्य, मातृका, विप्लव र परी थापा माओवादीहरुलाई समेटेर 'पञ्च माओवादी मोर्चा' नै गठन गरे। एकाएक जेठ २५ गते १६ बुँदे सहमति गरेर ८ प्रदेश सहितको संविधान निर्माणमा केपी ओलीमार्गमा हिडेका प्रचण्डले ती मोर्चाहरुलाई छिन्नभिन्न पार्दै नयाँ प्रस्ताव अघि सारेका छन्– एमाओवादी र एमालेको कार्यगत एकता? किन चाहियो यो कार्यगत एकता? प्रचण्डले प्रष्ट पारेका छैनन् तर प्रचण्डको प्रस्तावले एमालेभित्रै ९ रेक्टरको कम्पन ल्याइदिएको छ।
यतिखेर मधेसी दलहरु मोर्चाबाट अलगथलग भएका छन्। मोर्चाले प्रचण्डको पछि लागेका मजफो गणतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई आउट गरिदिएका छन्। गच्छदार पनि असार ६ गते आइतवारदेखि नयाँ मधेसी मोर्चा गठन गर्न कस्सिएर लागेका छन्। मोहन वैद्य र मधेसी नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुरहरुले प्रचण्डलाई धोखेवाज र विश्वास नै गर्न नसकिने भनेर आक्षेप लगाएका छन् भने वैद्यले अझ अगाडि बढेर माओवादी एकताको यात्रा सकियो भन्दै प्रचण्डलाई सर्वोच्च अदालतको आदेशसमेत नमान्ने अलोकतान्त्रिक, सर्वसत्तावादीसमेत भनेर आरोप लगाएका छन्। अव देखिन्छ– प्रचण्ड कुन स्वार्थपूर्तिका लागि एमालेसँग कार्यगत एकता गर्न चाहिरहेका छन् भन्ने। प्रचण्डको कार्यगत एकताको प्रस्ताव ओली, झलनाथ खनालसम्म पुर्‍याउने हलकारा बनेका छन्– गृहमन्त्री वामदेव गौतम। प्रचण्डले एमाले नेतृत्व पंक्तिलाई दिएको निवेदनमा  'वामदेवजी, हामी युद्धमा हुँदा पनि तपाईँले रोल्पा पुगेर १२ बुँदे सहमतिको आधार तयार पार्नुभयो, अब दुई पार्टीबीच कार्यगत एकताका लागि भए पनि भूमिका खेल्नुस्।' भनिएको छ। प्रचण्डको यो प्रस्तावपछि वामदेव गौतम अर्थात ओली खेमामा बहस सुरु भइसकेको छ। राजनीतिभित्रको राजनीति बुझ्नेहरु भन्छन्– प्रचण्डको यो जाल, राष्ट्रपति बन्ने राजमार्ग हो। ओली र प्रचण्डवीच लगातारको वार्तापछि १६ बुँदे सहमति सम्भव भएको हो। यही सहमति संविधान जारी गर्न र साउनभित्रै सरकार परिवर्तन गर्न सम्भव बनाउने औजार भएकाले केपी ओली छिटो प्रधानमन्त्री बन्न सक्नेछन्। ओली प्रधानमन्त्री बन्नु भनेको पुननिर्माण प्राधिकरणको अध्यक्षसमेत बन्नु हो र उपाध्यक्ष एमाओवादीले पाउनेछ। राष्ट्रपति कांग्रेसलाई दिने उधारो सहमति भइसकेको सन्दर्भमा अन्तिममा एमालेको समर्थन लिएर प्रचण्ड आफै राष्ट्रपति बन्नका लागि एमालेसँग कार्यगत एकताको प्रस्ताव गरेको बुझाई एमालेको छ। यो रणनीति हो भन्ने कांग्रेसलाई पनि थाहा छ।
ठूलो पार्टी कांग्रेस लाटो छ र, गिरिजाप्रसादलाई राष्ट्रपति बन्नबाट रोक्ने प्रचण्डलाई राष्ट्रपति बन्न कांग्रेसले स्वागतद्वार बनाइदेओस्। सडक र संविधानसभाका राजनीतिक शक्तिहरु १६ बुँदे सहमतिबका माध्यमबाट संविधान होइन, द्वन्द्व सुरु गराउन थालिसकेको छ।