Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

सुशीललाई शेरधनले भने सिंह बन्नुस्

०२ बुधबार , असार २०७२१० बर्ष अगाडि

रोशन कार्की
शेरधन राई: संसदको सुशासन तथा अनुगमन समितिका सभापति। यी शेरधनले प्रम सुशील कोइरालालाई भेटेर राम्रो सुझाव दिएका छन्– राहतमा घोटाला गर्नेलाई हत्कडी लगाउनुस्, राष्ट्र पुननिर्माणमा अपेक्षा गरेभन्दा बढी सहयोगको वर्षात नै हुन्छ। र, शेरधनले प्रष्टै भनिदिएछन्– राहत सामान खरिदमा समेत सरकारी स्तरमै व्यापक अनियमितताका समाचार आइरहेका छन्। सरकार विश्वाशिलो भएन, जिम्मेवार पनि देखिएन। सरकारले आन्तरिक र वाह्य विश्वास जित्न सकेन। राहतमा पारदर्शीता नभएपछि पुननिर्माण जवाफदेहीपूर्ण हुन्छ भनेर कसैले पत्याएनन्। त्यसैले प्रधानमन्त्री आफै अग्रसर भएर भ्रष्टाचार गर्नेलाई हत्कडी लगाए ठूलो उपलव्धि हासिल हुनसक्छ। सरकारको प्रशंसा सबैतिर हुनथाल्नेछ। तर सुशील छन् र एक कानले सुन्छन्, अर्को कानले उडाइदिन्छन्।
शेरधन राईले प्रधानमन्त्री उद्धारकोषको रकम भूकम्पपीडितकै लागि खर्च हुन्छ भने पनि सहयोगीहरु पत्याइरहेका छैनन् भनिदिएछन्। पारदर्शीताको विश्वास दिलाउन सके संसारभरि छरिएका नेपालीहरुले यो प्राकृतिक विपत्तिका बेलामा मुलुकप्रति केही न केही गर्न चाहिरहेका छन्। दातृ समुदायसमेत नेपाललाई सघाउन तत्पर छन्। सबैको शंका छ– भ्रष्टाचार हुन्छ, के दिनु? प्रधानमन्त्रीको अग्रसरतामा भ्रष्टाचारीलाई हतकडी लगाउने हो भने संसारभरबाट सहयोग आउँछ, पुनर्स्थापना र नवनिर्माणले चमत्कारिक गति लिनसक्नेछ। यो बिरोध हो कि समर्थन? प्रधानमन्त्री सुशील कोइरालाले के बुझे थाहा
र, सुशील कोइरालाले लगत्तै भनिदिए– संविधान बनाएर मलाई बिदा दिनोस्, म पदमा टाँस्सिरहन चाहने व्यक्ति होइन। यस्ता पलायनवादी प्रधानमन्त्रीले खुलेआम भ्रष्टाचार भइरहेकोमा कुनै कारवाही गर्छन् भन्ने कसरी विश्वास गर्न सकिन्छ? पद छाडेर भाग्ने मनस्थिति बनाउनेले के कारवाही गर्न सक्छ? संधिवान बन्ला, सरकार परिवर्तन होला, काले गएर गोरे आउला। यो राजनीतिमा भइरहने प्रक्रिया हो। जतिदिन सुशील कोइराला पदमा आसिन छन्, उनले वानप्रस्थ गर्ने यो उमेरमा बढी बोल्ने होइन, बढी गर्ने बेला हो। उनले लोभलालच गर्ने भनेको विवेकशीलता देखाउनमा हो। मान्छे मरिरहेका छन्, लोक आर्तनाद गरिरहेका छन्, राज्यको लगाम समाएर बसेका सुशील कोइराला निस्प्रभावी देखिन्छन् भने निश्चय नै यो नेपाली कांग्रेसको विफलता हो। लोकतन्त्रको ओह्रालोयात्रा हो। नेताहरुको नालायकी हो। जनता अर्थपूर्ण नीति, अवधारणा, कार्यक्रम खोजिरहेका छन्। यस्तो विपत्तिमा पनि पिपलपाते, वित्पाते कुरा। शेरधन राईले सुशील कोइरालालाई लगाम समातेर बस्ने होइन, भ्रष्ट मनोवृत्तिमा लगाम कस्न आग्रह गरे। शेर बन्न सुशीललाई सुझाव दिए। सुशील दा छन् कि मुसो बनेर दुलोमात्र पस्ने, लुक्ने। सुशील कोइराला कांग्रेसका सभापति, देशका प्रधानमन्त्री। यो बेला पनि उनले केही गर्न सकेनन् भने कहिले गर्छन्? यतिबेला पनि जनताको पक्षमा उभिएर सोच्दैनन्, केही गर्दैनन् भने फेरि उनका लागि यस्तो अवसर भाग्यमा नहुनसक्छ। किनकि मान्छे जन्मेपछि मर्छ। सुशील कोइरालासँग यस्तो लोकको सेवा गर्ने अवसर दोहोर्‍याएर आउनेवाला छैन। राजनीतिक बैतर्णी तर्ने हो भने सुशील कोइरालाले आजै पीडितका पक्षमा उभिनु बेश हुनेछ। भ्रष्टाचारीलाई कारवाही र सुशासनका पक्षमा दह्रो खुट्टा टेकिहाल्नुपर्छ, अन्यथा समय घर्केपछि पछुताएर सुशीलले आँसु झार्दा पनि कसले देख्छ र?