नेपाली सेनाले बहालवाला तथा भूपू सैनिकका परिवार तथा घाइतेहरुका लागि बेग्लै २ अर्व राहत निकासा गरेर वितरण सुरु गरेको छ। सैनिक कल्याणकारी कोषको विपत्तिमा भएको यो उपयोगले सैनिक र तिनका परिवारजनमा मनोवल बढाउने काम गरेको विज्ञहरुको ठहर छ। मृत्यु भएका सैनिक परिवारले ३ लाख २५ हजार पाउनेछन्। दुर्घटना र विमावापत २ लाख ७५ हजार, पदिकका लागि २ लाख २५ हजार र अन्य दर्जाका लागि १ लाख ७५ हजार दिने निर्णय गरिएको छ। यस निर्णयअनुसार मृत्यु भएका अधिकृत स्तरका परिवारले ६ लाख, पदक परिवारले ५ लाख ५० हजार र अन्य दर्जाको हकमा ५ लाख आर्थिक सहयोग राहत दिन थालिएको छ। अवकासप्राप्तका हकमा प्रतिमृतक एकमुष्ठ ३ लाख २५ हजारका दरले राहत वितरण भएको छ। बहालवाला र अवकासप्राप्त सैनिक परिवारले घर निर्माणवापत ५० हजार र मर्म गर्न २५ हजार राहत पाएका छन्। यसैगरी घाइते र अंगभंग भएका सैनिकलाई १ लाखसम्म, मृत्यु भएका सैनिकका छोराछोरीलाई छात्रवृत्ति र मृत्यु भएका सैनिकका दुई सन्तानलाई निशुल्क १२ कक्षासम्मको शिक्षा दिने व्यवस्था गरिएको छ। अवकाशप्रापत मृतकका सैनिकका हकवाला छोराछोरीले १० हजारको सहयोग पाउने व्यवस्था पनि गरिएको छ।
सेना सरकारको अंग हो। तर, सैनिकहरुको रगत पसिनाबाट जम्मा भएको कल्याणकारी कोष भएकाले आफ्ना सदस्यहरुका लागि गरिएको यो व्यवस्था प्रशंसनीय मानिएको छ। यति भए पनि अन्य सुरक्षा निकाय अथवा संघसंस्थानहरुले सेनाको यो बन्दोबस्तीबाट केही सिख लिएको देखिदैन। आफ्नै घर भत्किएको अवस्था छ, आफ्नै परिवारजन पुरिएका छन् तर सैनिकहरु उद्धार र राहतमा रातोदिन खटिएका देखिन्छन्। यति हुँदा पनि सैनिकहरुले तलव काटेर प्रधानमन्त्री राहत कोषमा २४ करोड २६ लाखको योगदान गर्नसमेत पछि परेनन्। महाभूकम्पपछिको उद्धार र त्यसपछिको निरन्तर राहत कार्यमा सेनाले आश्चर्यजनक काम गरेको छ।यो राष्ट्रिय शक्तिको जति प्रशंसा गरे पनि कम हुन्छ। सलाम छ सेनालाई।


