रोशन कार्की
नेपालमै बनेको मुस्ताङ गाडी चढेर तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल सरकारको नाक उच्च पारेका थिए। केही दिनमै चाल पाइयो, बाबुरामले नेपालको नाक राखेका होइनन, नाक काटिदिएका पो रहछन्। प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुस्ताङ गाडीको रोलमोडलिङ पो गरेका रहेछन्। गोल्छाले तिबेला प्रधानमन्त्रीले चढेको गाडी भनेर बेच्नु गाडी बेचे, कमाउनु कमाए। प्रधानमन्त्रीले नै मोडलिङले बिक्री त बढाउने नै भयो। तिनै गोल्छा परिवारको कम्पनी हो हुलास। हुलासको जस्तापाता अहिले निकै चर्चित जस्तापाता भएको छ। अहिलेको रोलमोडलचाहिं अर्थमन्त्री डा.रामशरण महत बनेका छन्। उनका पीए छन् उनकै भतिजा। भतिजाले जनताका लागि, नुवाकोटका स्कूलहरुका लागि भनेर हुलासको जस्तापाता लिएर नुवाकोट लगे। जस्तापाता नेपाल इन्भेष्टमेन्ट बैंकले प्रायोजनमा दिएको थियो। तर केही जस्ता आफ्ना गोदाममा झार्न लगाएर बाँकी हुलासका जस्तापाता कोटेश्वरका व्यापारीलाई टेलिफोनबाटै बेचेछन् अर्थमन्त्रीका पीएले। गाडीले ३५ हजार भाडा लिनेगरी जस्तापाता नुवाकोटबाट काठमाडौंतिर मोड्न के लागेको थियो, जनताको पर्रा छुटिहाल्यो। पोल खुल्यो, अर्थमन्त्रीको नियतको धोती पनि खुस्क्यो। देशको ढुकुटीको साँचो लिने अर्थमन्त्रीले जस्तापातामा समेत र्याल काढेको देखियो। यसबाट कांग्रेसको समाजवादसमेत नाङ्गेझार हुनपुग्यो। यो देखेर सामाजिक सञ्जालहरुमा माथिको व्यङ्गचित्र सार्वजनिक हुनपुग्यो। अर्थमन्त्रीका पीएले पत्रकार सम्मेलन गरेर 'गौदान' गर्ने प्रयत्न त गरे तर पत्रकार सम्मेलनमा नुवाकोटेको प्रश्नमा जंगीएका अर्थमन्त्रीका हवल्दारहरुले गुण्डागर्दी नै गरे। यसरी हुलासको जस्तापातामा यसपटक डा.महतले मोडलिङ गरिदिए।
नेताहरु किन यसरी व्यापारीको मोडलिङ गरिरहेका छन्। मोडलिङ गर्नु त देशको गर्नु नि। महाभूकम्पले देश थरिथरि कामिरहेका छन्। झण्डै ७ लाख घर ध्वस्त भएका छन्। त्यत्तिकै घरहरु चर्किएका, मर्किएका छन्। यो विपत्तिको सामना गर्नुपर्ने राजनेताहरु 'पैसा नेता' बन्न लालायित छन्। अझ डा.बाबुराम भट्टराईले त आफू नवनिर्माणको नेतृत्व लिन तैयार रहेको आत्मविज्ञापन छपाईसके। प्रचण्डले राष्ट्रिय सरकारको तुरुप फालिसके। मधेसी मोर्चाका सदस्यहरुले प्रचण्डलाई सर्वाधिकार दिएका छन्। मौका यही हो भनेर प्रचण्डले पनि उही जातीय राज्यको नामाकरणको च्याँखे थाप्न भ्याइहालेको देखियो। हाम्रो राजनीति नसप्रने भयो। ...१२ वर्ष ढुंग्रामा हाले पनि बाङ्गाको बाङ्गै। (photo-face book)


