Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रचण्डसामु: कैयौं ढालियो, एक दुई ढालिन्छ

२१ सोमबार , पौष २०७१११ बर्ष अगाडि

पार्टी अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा नीतिप्रस्ताव राखेपछि अन्धभक्तहरुले हस् भन्दै टाउको हल्लाए र अध्यक्षलाई घेरेर बसेका नातेदार हर्ताकर्ता र सल्लाहकारहरुले प्रस्तावमा सबैलाई बोल्न दिदा हल्ला हुन्छ, सबैलाई बोल्न नदिने षडयन्त्र गरेको थाहा पाउनासाथ लेखराज भट्ट र हेमन्तप्रकाश वलीजस्ता हस्तीहरु अध्यक्षलाई भेट्न गए।  अध्यक्षका सहयोगीले आज भेट हुँदैन भन्ने रुखो जवाफ दिएपछि कन्पारो तताएका लेखराज भट्ट र ओली कड्किए– कैयौं ढालेर आइयो, अरु लाउके एक–दुईजना ढाल्नुपर्लाजस्तो छ। बाहिरबाट भित्र नदेखिने तर भित्रबाट बाहिरको सबै दृश्य देखिने गरी कोठामा बसेका अध्यक्ष प्रचण्डले यो दृश्य देखे र शायद सुने पनि। तत्कालै प्रचण्डले ढोका खोलेर बाहिर आए र भट्ट र ओलीलाई भित्र आउनोस् भनेर स्वागत गरे। यसपछि क्रान्तिकारी सांस्कृतिक फाँटले प्रचण्डको नीति प्रस्तावमाथि गाइडलाइनका रुपमा अव के हुन्छ? भन्ने आशयको थप प्रस्ताव पेश गरेका छन्। यो प्रस्ताव पार्टी नेतृत्वको शीरमा काँटोभरा ताज भनेर बहस चल्न थालिसकेको छ। पुस ६, पुस १५ हुँदै माघ १५ गते बस्ने केन्द्रीय समितिको बैठकमा यही प्रस्ताव माथि बढी छलफल हुनेछ। के भन्छ एमाओवादीको जुझारु क्रान्तिकारी सांस्कृतिक फाँट? एमाओवादीभित्र अव के हुन्छ? यो जान्नका लागि सांस्कृतिक फाँटको क्रान्तिकारी आवाज जस्ताको तस्तै यहाँ प्रस्तुत छ– सं.

अब के गर्ने?

१) विश्व दृष्टिकोणमा रुपान्तरण गर्न तथा विचारधाराको विकास गर्न–

 १.१) पथप्रदर्शक सिद्धान्तको बुझाइमा एकरुपता ल्याउन, यसको रक्षा, प्रयोग, विकास र स्थापित गर्न अध्ययन, अनुसन्धान, स्कूलिङ र बहस सञ्चालन गर्नुपर्दछ। नेता, कार्यकर्ता र जनतालाई शिक्षित र पुनिर्शिक्षित गर्न मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओका छानिएका सक्कली कृतिहरुबाट नेपालीमा उल्था गर्ने र हामीले दर्शन, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादबारे हाते पुस्तिकाहरुको विकास गरी प्रकाशन गर्ने कामलाई व्यापक बनाउनु पर्दछ। यसलाई आमजनतामा लैजान पार्टीको निर्देशनमा टेलिभिजन, मासिक, साप्ताहिक र दैनिक पत्रिकाहरुका साथै सामाजिक सञ्जलाको सञ्चालन गर्नुपर्दछ। यसो गरेर मात्र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद अधिभूतवादी आदर्शवादमाथि भौतिक रुपले विजयी बन्न सक्दछ।

१.२) मालेमावादको विकास गर्न २०५७ को दोश्रो राष्ट्रिय सम्मेलनले हालेको विचारधारात्मक जग प्रचण्डपथलाई पुनर्स्थापित गरी आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको बर्गविश्लेषणबाट वैज्ञानिक समाजवादी क्रान्तिको प्रधान अन्तरविरोध एवं निशाना र प्रेरक तत्वहरु पत्ता लगाउनुपर्दछ। माओको मृत्युपछि अथवा भियतनाम युद्धमा अमेरिकाको हारपछि किन कतै पनि कम्युनिष्ट क्रान्ति सफल हुन सकेन? गहिरो अनुसन्धान गर्नुपर्दछ। साम्राज्यवादी भूमण्डलीकरणको प्रभावको विश्लेषण गरी समाजवादी विचारधाराको भूमण्डलीकरण कसरी गर्ने संश्लेषण गर्नुपर्दछ। विज्ञान र प्रविधिको विकास र यसको सामाजिक प्रभावबारे दार्शनिकीकरण गर्नुपर्दछ। जलवायु परिवर्तनको कारण र समाजमा परेको प्रभावको अनुसन्धान गर्नुपर्दछ।  चीन, उत्तरकोरिया र क्यूवाको बारेमा नयाँ विश्लेषण गरी क्रान्तिका लागि कति घातक र कति साधक हुन् भन्ने कुरा संश्लेषण गर्नुपर्दछ। बोलिभारियन समाजवादको नामबाट ल्याटिन अमेरिकाली तथा दक्षिण अमेरिकाली देशहरुमा वामपन्थीहरुको चुनावी विजयबारे पनि विश्लेषण र संश्लेषण गर्नुपर्दछ। हाम्रो महान जनयुद्ध, जनान्दोलन र शान्ति प्रक्रियाको राजनैतिक संघर्षको गहिरो विश्लेषण गरी जीवन व्यवहारको संश्लेषण गर्नुपर्दछ।

 १.३) हाम्रो सन्दर्भमा विचारधाराको क्षेत्रमा देखापरेका गलत प्रवृत्तिहरु– दक्षिणपन्थी संशोधनवाद र यसको दर्शन वितण्डतावाद, छद्म अवसरवाद (लिन प्याओवाद) र यसको दर्शन भडुवा विकासवाद, उदारवाद र यसको दर्शन सारसंग्रहवाद विरुद्ध महान सर्वहारा सांस्कृतिक क्रान्तिको अभियान चलाउन जरी छ। निश्चय नै यान्त्रिक भौतिकवादी दर्शनका शाखाहरु जडसूत्रवाद र अनुभववादको समस्याको विरुद्ध त्यत्तिकै लड्नुपर्दछ। पहिचान र संघीयताको खोलमा लुकेर आउन खोजेको जातिवाद, क्षेत्रीयतावाद, लिंगवाद र आत्मकेन्द्रित व्यक्तिवादका विरुद्ध लड्दै उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको पक्षपोषण गर्नैपर्दछ। यस सन्दर्भमा क.माओले भन्नुभएको छ– 'मंगोल र हानले घनिष्ट रुपमा सहकार्य गर्नुपर्दछ र मार्क्सवादमा विश्वास गर्नुपर्दछ। हामीहरु कुन राष्ट्रियताका हौं भन्ने कुरा पर्वाह नगरीकन हाम्रा अल्पसंख्यक राष्ट्रहरुले एक अर्कालाई विश्वास गर्नुपर्दछ। कुनचाहिं सत्य हो भन्ने कुरा बुझ्नैपर्दछ। मार्क्स स्वयं यहुदी हुनुहुन्थ्यो, स्टालिन अल्पसंख्यक राष्ट्रहरुसँग सम्बन्धित हुनुहुन्थ्यो र हराम च्याङ काई शेक हान हो जसको हामी जोडदार विरोध गर्दछौं। कुनै मानिस कुनै प्रान्तको प्रशासन अन्तर्गत हुँदैमा फलानो प्रान्तको भनी आरोप लगाउनै हुँदैन। कुनै मानिसको उद्गम स्थान उत्तर वा दक्षिण, यो अल्पसंख्यक राष्ट्रियता वा त्यो अल्पसंख्यक भन्ने कुरा असंगत छ। (उनीहरु सबै बराबर हुन्)। प्रश्न त उनीहरु कहाँसम्म र कति साम्यवादी हुन् भन्ने कुरा हो। यो कुरा हाम्रा अल्पसंख्यक राष्ट्रियताहरुलाई स्पष्टसँग व्याख्या गरिदिनुपर्छ। 'हान कुनै ठूलो नश्ल होइन, बरु धेरै नश्लहरुको मिश्रण हो। इतिहासमा हानहरुले धेरै अल्पसंख्यक राष्ट्रहरुमाथि कब्जा गरेका छन् र उनीहरुलाई उच्च मैदानतिर धकेलेका छन्। हामीले राष्ट्रियताको प्रश्नमा ऐतिहासिक दृष्टिकेण अपनाउनै पर्छ र हामी अल्पसंख्यक राष्ट्रियतावादमाथि आधारित हुने वा साम्यवादमाथि भन्ने कुरा छुट्याउनु पर्दछ। निश्चय नै हामी साम्यवादमाथि आधारित हुन्छौं। हामीलाई क्षेत्रहरु आवश्यक छन् तर क्षेत्रीयतावाद होइन।' (माओ– चुनिएका रचना, ग्रन्थ ८, मार्च १९५८) श्रमिक बर्ग प्रकाशन, हैदरावाद।

२) राजनीति र राजनैतिक कार्यदिशाबारे–

२.१) राजनीति आफ्नो समयको आर्थिक आधार र उपरिसंरचनाको विश्लेषणबाट संश्लेषण गरिनुपर्दछ।

२.२) नेपालका राजनैतिक पार्टीहरुको विश्लेषणका आधारमा दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादका विरुद्ध संयुक्त मोर्चा बनाउनु पर्दछ।

२.३) सातौं राष्ट्रिय महाधिवेशनद्वारा पारित वैज्ञानिक समाजवादी क्रान्तिको रणनीति नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा महान क्रमभंग हो। तर 'समाजवाद' पदावली मात्र प्रयोग गरेर शीर्ष नेताहरुले आआफ्नो अर्थ लगाएको पुष्टि भएको छ। परिणाम स्वरुप कार्यदिशाको बुझाईमा एकरुपता आएन, कार्यान्वयन भएन र स्थापित भएन। त्यसकारण वैज्ञानिक समाजवाद, पदावलीको प्रयोग गरी यसको वैज्ञानिक व्याख्या गर्नुपर्दछ। राजनैतिक कार्यदिशा संविधानसभाबाट जनसंविधान निर्माण गर्ने कुरा निल्नु न ओकल्नु भएको छ। ऐतिहासिक जनयुद्ध र विभिन्न ऐतिहासिक जनआन्दोलनका उपलव्धिहरुको रक्षाका लागि जोडदार संघर्ष गर्न आवश्यक छ। उत्पादन र निर्माणमा लागि संघर्षको कार्यनीतिलाई ठोस योजनामा ढाली सरकार बनाएर लागू गर्ने सपनाबाट होइन, हाम्रो पार्टीले लागू गर्न सक्ने हैसियतबाट अघि बढ्न जरुरी छ।

३) संगठात्मक कार्यहरु–

३.१)  एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) औपचारिक घोषणाका हिसावले नभए पनि सारतत्वमा बिघटन भएकोले पुनर्गठनको आवश्यकता छ। माओवादी पाटर्ि र समूहवीच एकता गरेर महाधिवेशन आयोजक समिति बनाई पार्टी पुननिर्माणमा लाग्नु आजको आवश्यकता हो। तर बिना तयारी नेतृत्व हस्तान्तरणको सवाल उठाएर 'विशेष महाधिवेशन' गर्ने कुराले चौतर्फी प्रश्न जन्माएको छ। विचार सहितको नेतृत्व हस्तान्तरणको बहस चल्नु आवश्यक छ। माओले १९६७ मा भन्नुभएको छ– 'अन्तिम विश्लेषणमा विचारधारात्मक क्षेत्रमा सर्वहारावर्ग र पूँजीपतिवर्गका वीचको बर्गसंघर्ष नेतृत्वका लागि संघर्ष हो।' अहिले अध्यक्ष क.प्रचण्डले नेतृत्व अमूक व्यक्तिलाई हस्तान्तरण गर्ने कुरा पूँजीपति वर्गसँग आत्मसमर्पण हो वा सर्वहारावर्गको दृढ पक्षपोषण? विश्लेषणको आवश्यकता छ।

३.२) हाम्रो पार्टीमा जनवादी केन्द्रीयताको लेनिनवादी पद्धति लागू हुनुपर्दछ नकि बुर्जुवा अराजकतावादी। जनवादी केन्द्रीयताको मालेमावादी सिद्धान्तको रक्षा गर्दै यसको विकास गर्न भने आवश्यक छ।

३.३) पार्टीमा आलोचना र आत्मालोचनाको हतियार सशक्त बनाउनु पर्दछ। अराजकतावादी विरोध र समर्थनले पाटर्ि बलियो हुन सक्दैन। एकता–संघर्ष–रुपान्तरणको विधिलाई पार्टीमा दृढतापूर्वक लागू गर्नुपर्दछ।

३.४) दक्षिणपन्थी संशोधनवाद, छद्म अवसरवाद (लिन प्याओवाद) र उदारवाद, क्रमशः क्रान्तिकारी पार्टी बिघटनका कारकहरु हुन्। यी नकारात्मक प्रवृत्तिका विरुद्धको लडाईमा विजयी नभइकन पार्टी पुनर्निर्माण र क्रान्तिकारी पार्टी बन्न सक्दैन।

 ३.५) कम्युनिष्ट पार्टीमा बर्गीय दृष्टिकोण र बर्गसंघर्षमा योगदानको आधारमा पार्टी सदस्यता दिने, बढुवा गर्ने पद्धति बसाल्नु पर्दछ न कि जातीयता, क्षेत्रीयता र लैंगिकताका आधारमा। निश्चय नै उत्पीडित राष्ट्रियता, क्षेत्र र लिंगलाई प्राथमिकता दिनुपर्दछ। यो त अन्ततः बर्गीय मुक्तिकै सवाल हो। अर्को कुरा, पार्टी सदस्य संगठनात्मक दृष्टिकोणले मात्र संगठित हुनु हुँदैन, बरु विचारधारात्मक दृष्टिकोणले पनि संगठित हुनुपर्दछ।

३.६) पार्टीमा पार्टी सदस्यहरुबाट लेवीलाई नियमित र अनुशासनका रुपमा बुझाउने पद्धति बसाल्नुपर्छ।

३.७) शहिद तथा बेपत्ता परिवार र घाइत तथा अपांग संगठित गर्ने, भेटघाट गर्ने र पार्टीका आन्तरिक तथा बाह्य कार्यक्रममा संलग्न बनाउनु पर्दछ।

३.८) भातृ संगठन र जातीय क्षेत्रीय मोर्चाहरुलाई आमरुपमा सक्रिय बनाउने र विशेष रुपमा परिस्थितिको आवश्यकताअनुसार नेतृत्वदायी भूमिका अमूक भातृ संगठन र मोर्चालाई दिएर सक्रिय पार्नुपर्दछ।

३.९) वाईसिएललाई विचारधारात्मक, संगठनात्मक, बर्गसंघर्ष र उत्पादन तथा निर्माणका लागि संघर्षमा सक्रिय बनाई नेतृत्वको विकास गर्ने।

४) बर्गसंघर्षको कार्यक्रम–

४.१) शान्ति प्रक्रियाको राजनैतिक संघर्षले अन्तत? बुर्जुवा राज्यसत्ता बलपूर्वक नपल्टाइकन सर्वहारावर्गले राज्यसत्ता प्राप्त गर्न सक्तैन भन्ने कुरा पुनर्पुष्टि गरेको छ। त्यसकारण सशस्त्र विद्रोहको तयारीमा मानसिक तथा भौतिक रुपले लाग्नुको विकल्प छैन।

 ४.२) राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा नयाँ विश्लेषण सहित मागहरु संश्लेषण गरी जनसंघर्षलाई सडक र सदनमा जोड्नुपर्छ।

 ४.३) उत्पीडित राष्ट्रियता, दलित, महिला र मुश्लिमका विशेष मागलाई पनि सशक्त ढंगले उठाउनुपर्छ।

५) आर्थिक कार्यक्रम–

 ५(१) प्रथमतः राजनैतिक अर्थशास्त्रको सैद्धान्तिक र व्यवहारिक पक्षको अध्ययन गरी आजको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति अनुरुपको आर्थिक आधार के हो? पत्ता लगाउनुपर्छ।

५.२) कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ताहरुले सामुहिक श्रम र उतपादनसँग गाँसिनुपर्छ।

५.३) हाम्रो पार्टीका नेता र कार्यकर्ताहरुले आर्थिक अनियमितता गरेको भन्ने व्यापक आरोपको या त तथ्यगत खण्डन गर्नुपर्दछ, या त अनियमितताबाट कमाएको रकम पार्टीमा संस्थागत गरी जनताको मुक्ति र हितमा लगानी गर्नुपर्छ।

 ५.४) कार्यकर्ता व्यवस्थापनको लागि विशेष कार्यक्रम बनाउनु पर्दछ।

 ५.५) पार्टी सञ्चालनको लागि आर्थिक श्रोतहरु र खर्च पारदर्शी गर्नुपर्दछ। यसको साथै नियमित बैठकहरुमा आयव्यय प्रस्तुत गर्नुपर्दछ।