धर्मरत्न श्रेष्ठ - अव त शान्ति आउनेछ, अव बिधिको शासन सुरु हुनेछ भनेको त यो विश्वास मिथ्या साबित गरिदिए, नेकपा–माओवादी फोडेर क्रान्तिमा लागेका बिप्लवले। उनेल राजधानीको खुलामञ्चमा आमसभा गरे, राम्रै भीड जम्मा गरेर शक्ति देखाए। यद्यपि त्यो शक्तिमा राजधानीका साना साना स्कूले बालबालिकालाई पनि लगिएको थियो, जसले राजनीति बुझ्दै बुझेका थिएनन्। र, एकैपटक देशभरिका ६० एफएमहरुले बिप्लवको त्यो आमसभाको प्रत्यक्ष प्रशारण गरेका थिए। केही टीभीले समेत प्रत्यक्ष प्रशारण गर्नुपछाडिको रहस्य पनि आतंक नै थियो भनेर केही प्रतिक्रियाहरु सार्वजनिक भएका छन्। के त्यसो भए देशमा फेरि जबरजस्ती र आतंकको हावा चलेकै हो? हो भने संविधानसभाको के काम?
जनमत प्राप्त सरकार छ, जनादेशबाट बनेको संसद छ र जनप्रतिनिधिमूलक व्यवस्थामा कुनै पनि प्रकारको आतंकले ठाउँ पाउनु हुन्न। आतंक अर्थात अराजकतालाई व्यवस्थापन गर्न भनेरै पहिलो असफल भएपछि दोस्रो संविधानसभाको निर्वाचन भएको हो। तैपनि आतंक? संसदको फूलहाउसले भन्नुपर्छ– आतंक मान्य छैन, आतंकको शून्य सहनशीलता हाम्रो लक्ष्य हो। आतंकको सबै मिलेर बहिष्कार गरौं। आतंक होइन, सभ्य अग्रगमन हाम्रो लक्ष्य हो। राजधानीमा भित्रभित्रै भुसको आगोझैं चन्दा आतंक फैलिसकेको छ। बाँकेबाट भागमभाग भएर व्यवसायीहरु राजधानी आएका छन् र उनीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शमार्फत आतंक रोक्न आग्रह गरिसकेका छन्। बिप्लवको नेकपा माओवादीले खुलेआम चन्दा माग्न थाल्यो। बाँकेका व्यवसायी भन्छन्– सानालाई ५ देखि २५ हजार र ठूलालाई १ लाखदेखि १० लाखसम्म चन्दा चाहियो भनेका छन्। यो त अति भयो। चन्दा नदिए भौतिक कारवाहीसम्मको धम्की दिन थालेका छन्, लौन बचाउ। आतंक त्यस्तो क्रुर हतियार हो, जसले देशको निर्माण र उत्पादनलाई ठप्प पारिदिन्छ। अर्थात कमजोर बन्दै गएको अर्थतन्त्र र बेरोजगारीले थलथलिएको मुलुकलाई अझ थला पार्ने काम गर्छ।
के यही हो लोकतन्त्र? लोकतन्त्र हो भने यस्ता आतंक फेरि किन? आतंकबाट आजित भएर शान्ति प्रक्रियामा गएको होइन? शान्ति र प्रगतिको बाटो लागेको हो भने राजनीतिक बिबादको सजाय आम नागरिक र व्यवसायीले किन भोग्नुपर्ने? राजनीतिक बिबादको विषय राजनीति हो, सत्ता र परिवर्तन हो भने त्यो बिबादको केन्द्र राजनीतिक दलहरु हुनुपर्छ। राजनीतिक दलहरुवीच के के हुनुपर्ने हो हुनुपर्छ। मर्ने र मार्ने जनतालाई? तिम्रो बिबादको गिलोटिनमा जनताले गर्धन राखेर काटिनु पर्ने किन? यो त अति हो। अति भएपछि खति हुन्छ भनिन्छ। १० वर्ष लामो जनयुद्धमा १७ हजार मानिस मारेर पनि तिर्खा मेटिएन कि बिप्लव फेरि अर्को बिध्वंश गर्न तम्सिएका छन्। सबै मिलेर परिवर्तन ल्याए, तिनीहरु नै फुटेर बिध्वंश गर्न जनताले गाँस काटेर सहयोग गर्नुपर्ने? यो कुनै देश बचाउने आन्दोलन होइन। न यो कुनै जनता बचाउने आन्दोलन हो? यो त नितान्त राजनीतिक झगडा हो र यो झगडामा जनतालाई जबरजस्ती तानेर होमिदैछ। बिप्लवजी, यो आतंक अमानवीय भएन र?


