डा.बाबुराम भट्टराई भन्दैछन्– राष्ट्रिय सरकार भनेको सुशील कोइरालाको नेतृत्वमा मन्त्री फेर्नु होइन। सायद यो सुनेछन् कोइरालाले र भनिदिए– राष्ट्रिय सरकार बनाउन म पनि तैयार छु। यसको अर्थ सुशील कोइरालाले खुट्टा कमाए। त्यसपछि केपी ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने वातावरण निर्माण हुनथालेको छ। खासगरी दक्षिण र उत्तरको सहमति भइसकेको छ भने आन्तरिक रुपमा ठूलो दल नेपाली कांग्रेसका सुशीललाई भूकमपको विध्वंस सम्हाल्ने ताकत नभएर सन्निबात भएपछि राजनीतिक परिवर्तनका चलखेल बढ्न थालेका हुन्। यद्यपि कांग्रेसका देउवा र रामचन्द्र मच्चिएका छन्, सुशील थरथराएपछि यी दुबै थच्चिन बाध्य बन्नेछन्। कांग्रेसभित्र सुशील कोइराला सभापति हुन् र उनको वर्चस्व पनि कायमै छ। त्यसमाथि सरकार बनाउँदा माघ ८ गते संविधान घोषणा गरेर एमालेको नेतृत्वमा सरकार बनाउन सहमत हुने कांग्रेसको वचनवद्धतासमेत भएकाले सुशील कोइरालाले राष्ट्रिय सरकार बन्छ भने म पनि तैयार छु भन्नासाथ केपी ओलीको भाग्य जागेको हो। ओली यतिखेर भूकम्पपछिको चिन्ता गर्दै राष्ट्रिय सरकार निर्माण गर्न प्रतिपक्षीसँग वार्तामा जुटेका हुन्। ओलीले आफ्ना १० हजार कार्यकर्ताहरुलाई 'नेपाली योजना: अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्व: हरेक नागरिकको साथ' भन्ने नारासहित राष्ट्रिय स्वयंसेवक परिचालन अभियान टोली ५१ निर्वाचन क्षेत्रमा परिचालन गराएका छन्। र, आदेश दिएका छन्– जनताकोमा गएर पाहुना नबन्नु। यो टोलीले विहान ८ देखि साँझ ६ बजेसम्म बिल्लिबाठ भएका जनताको सेवा गर्नेछन्। यता एमाओवादीले पनि श्रम शिविर सुरु गराएको छ भने कांग्रेसका कार्यकर्ताहरु पनि खटिएका छन्।
जनसेवामा अन्य राजनीतिक दलका नेता, कार्यकर्ता पनि जुटेको अवस्था छ। एकीकृत अभियान चलाउन नसकेका कारण राजनीतिक कार्यकर्ताको सहयोग हुनुपर्नेजति प्रभावकारी बन्नसक्ने देखिन्न। त्यसमाथि राजनीतिक दलहरुले उद्यमी, व्यापारीबाट चन्दा संकलन गरेको विषय र केही कार्यकर्ताहरुले राहत र उद्धारमा गरेको राजनीतिकरण पनि पचाउन नसकिने खालको देखिन्छ। तर, सामान्य ध्यान राहत र उद्धारमा राजनीतिक दलका कार्यकर्ताको खटनपटनमा भए पनि सबैको मुख्य ध्यान राष्ट्रिय सरकारको निर्माणमा पर्न थालेको छ। राष्ट्रिय सरकार भनेको सुशीलको बिदाई र केपीको आगमन अनि दलहरुका प्रतिनिधि मन्त्री बनेपछि देखिने जम्बो मन्त्रिपरिषदमात्र हो?


