Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

मधेशी भारतीय होइनन्

२१ सोमबार , पौष २०७११२ बर्ष अगाडि

शिवप्रसाद सिग्देल - नेपालका मधेशी भारतीय होइनन् किनभने नेपालको मधेश भारत होइन। यही कुरालाई नेकपा माओवादीका अध्यक्ष मात्रिका यादवले दोहोर्‍याएका छन्– हामी मधेशी हौं, भारतीय होइनौं। स्यावास् मातृका यादव। कम्तिमा एउटा मधेशी नेताले दिलैदेखि हामी भारतीय होइनौं त भने। १९ गते सुरु भएको ३० दलीय मोर्चाले आन्दोलन सुरु गरिसक्यो। थप आन्दोलन नेकपा माओवादीको छ। मोर्चाले माघ ८ लाई केन्द्र ठानेका छन् र सहमतिको संविधानका लागि र बहुमतीय संविधान ल्याउन नदिन कडा आन्दोलनको थालनी गरेका हुन्। उनीहरुको दावी छ: हामी आँधीबेहरी ल्याउँछौं। तर, १९ गतेको ३० दलको आन्दोलनलाई शीत लहर लाग्यो। ३० दलको आन्दोलनमा ३ हजारको भीड पनि जम्मा भएन। भीड जम्मा नहोस्, यिनको सहमतिबिना संविधानसभाको ८० प्रतिशतको शक्ति भएको सत्ताधारी दलले संविधान जारी गर्न सक्दैन। त्यसैले प्रम सुशील कोइरालाले भनेका छन्– संख्यामा हामी लचकदार हुन तैयार छौं, सहमतिको अधिकाधिक सम्भाबना खोज्दैछौं।

मातृका यादवले संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति गठन गरेर नयाँ आन्दोलन सुरु गरेका छन्।  मातृकाको दावी छ: यो देशमा कोही उत्पीडित छ भने मधेशका जनता छन्। पहाडका जनजातिलाई गोर्खाली बनाउने प्रयास गरियो, मधेशीलाई किन त्यस्तो प्रयास गरिएन? मातृकाको दावी र प्रश्नमा दम छ तर मधेशीले पनि आफूलाई गोर्खाली बन्न किन चाहेनन्? अधिकतम मधेशी दलहरु आफूलाई भारतीय निकट देखाउन चाहन्छन् र यहाँसम्म कि गत मंसिर ४ को निर्वाचनमा हारेका मधेशका ठूला नेताहरुले आफूले हार्नासाथ यो हार भारतको हार भने। यो भनाईको अर्थ मातृकाले बुझेका होलान्। राम्रो कुरो उठाए मातृकाले। मेधशी नेपाली जनता नै हुन्। हो, नेपालको मधेशका मधेशी नेपाली नै हुन्। उनीहरुले १२५ जातिसरहका सबै समान हक पाउनुपर्छ। मधेशका मात्र होइनन्, बिभेद र निषेधमा कुनै जाति पनि पर्नु हुन्न। मातृका तपाईहरु सबै क्रान्तिकारीको प्रयास र अन्य अग्रगमनकारीको प्रयास सबै नेपाली एकतामा हुनुपर्छ, र बुझ्नुपर्छ मधेशीलाई भारतीयकरण पहाडीयाले होइन, स्वयम् मधेशी नेताहरुले नै गरेका छन्। भारतको निकट पुगे चुनाव जित्न सकिन्छ, स्वार्थ पूरा हुन्छ, मानमनितो हुन्छ भन्ने दुर्भावना मधेशी नेताभित्रै छ। हिम्मत छ भने मातृकाजी, तपाईले मधेशी नेताहरुभित्रको त्यो कालो पखाल्ने काम गर्नोस्।

मातृका यादवले विदेशीको सहयोग नलिने र आफ्नै दममा आन्दोलन गर्ने र मधेशी हक, अधिकार स्थापित गराउने सपथ खाएका छन्। हामी पनि मातृका यादवको त्यो प्रतिवद्धतामा साथ छौं। जे जति आन्दोलन हुन्छन्, त्यसमा हाम्रो शक्ति हुनुपर्छ। विदेशीले लगानी गरिदिए भने तिनले सावाँव्याज खोज्छन् भन्ने बुझ्नुपर्छ। यही रोगले त नेपाल अगाडि बढ्नै सकेको छैन, राजनीति अन्योलको भूमरी बनिरहेको छ। विदेशीले नेपाल र नेपालीलाई चरन क्षेत्र बनाएका छन्। हामीलाई भरिया र करिया बनाएर खुलेआम हस्तक्षेप गर्न थालेका छन्। त्यसकारण स्यावास मातृका। भ्रष्टाचारमुक्त सरकार मातृकाको लक्ष्य छ। सबैभन्दा बढी भ्रष्ट मधेशी नेताहरु नै छन्। यो यथार्थ मातृकालाई ज्ञात होस् र मधेशीलाई पहिले निर्मलीकरण गरे कसो होला?