Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

बन्ने भयो राष्ट्रिय सरकार

०४ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको 'टोन डाउन' हुँदै गएको छ। ३० दलीय मोर्चाले राष्ट्रिय विपत्तिसँग जुध्नका लागि 'चाँडो राष्ट्रिय सरकार बनाऔं' भनेर आवाज बुलन्द गर्न थालेपछि भित्रभित्रै राजनीतिक सरगर्मी बढ्न थालेको छ। साझा संकल्प पास भएको छ, साझा सरकारले मात्र त्यो संकल्प पूरा हुनसक्छ भनेपछि कांग्रेसको गला सुक्दै गएको हो। महाभूकम्पपछि आएको यो राजनीतिक असारे भेल कसरी छोप्ने भनेर कांग्रेसभित्रैका शेरवहादुर देउवा र रामचन्द्र पौडेल दौडधुप गर्न थालेका छन्। एमाओवादीका डाक्टर बाबुराम भट्टराईका अनुसार भिजिनरी नेतृत्वमा सरकार गठन गर्नुपर्छ भन्ने छ। एकाएक मधेसी मोर्चाका राजेन्द्र महतो, महन्थ ठाकुर, उपेन्द्र यादवहरुको कालोनिलो अनुहारमा खुशीयाली देखिन थालेको छ। विजय कुमार गच्छदारले त छिटोभन्दा छिटो राष्ट्रिय सरकार बनाउनु पर्छ भनेर माहोल तताउन थालिसकेका छन्।
राजनीतिक परिवर्तनको यो आगोको रापले नेताहरुलाई तताउन थाले पनि चाप भने भारतीय, अमेरिकन र चिनियाँ दूतावासतिर देखिन थालेका छन्। युरोपियन युनियन समेत हर्कतमा आएको छ। यतिसम्म कि नेताको नामै किटेर ऊ भए बढी सहयोग दिन्छों, नत्र हामी आफै आर्थिक अनुदान खर्च गछर्ाैं भन्नेजस्ता घुर्की तपर्की पनि सुन्न थालिएको छ। यतिखेर ब्याटिङमा छन्: भारत र अमेरिका। रंजित राय वा बोडे कसले छक्का हान्ने हो? भूकम्पको मारमा जनता मरिरहेका छन्, सत्ता परिवर्तनको खेल चर्कदै गएको छ।
सरकार परिवर्तन किन चाहियो, सरकार परिवर्तन हुनासाथ कुन जादूको छडी चल्छ र भूकम्पको विपत्तिमा परेका जनताको पुनर्स्थापना र देशको पुननिर्माणको चरणमा चमत्कारिकता आउँछ? कुनै स्पष्ट खाका छैन। नेता यिनै हुन् जो एक हजारको पालमा पनि र्‍याल काढिरहेका छन्, चामल र चिउरामा समेत नैतिकताको बली चढाइरहेका छन्। तिनको नजर थुप्रिएको प्रधानमन्त्री कोष र विदेशबाट आउने राहत रकममा परेको हुनसक्छ। 'कांग्रेस र एमालेलाई एक्लै खान किन दिने? काले काले मिलेर खाउँ भाले' गर्नकै लागि राष्ट्रिय सरकार छिटो बनाउँ भनेको त होइन? अन्यथा राष्ट्रिय विपदको यो बेलामा सरकार परिवर्तन: बेमौसमको बाजा बजेजस्तो अनुचित लागेको छ सबैलाई।
सरकार, सरकारी कामकाज प्रभावकारी भएको छैन। संसद पनि त बन्द गरियो। सभासद पनि निर्वाचन क्षेत्र पुगेका छैनन्। विपदको बेलामा आपातकालीन सेवासुविधामा सक्रियता आउनु पर्ने हो। केही पनि देखिन्न। राहत, उद्धारमा राजनीतिकरण भयोरे। गर्ने यिनै हुन्। पुनर्स्थापना र पुननिर्माणमा राजनीतिकरण गर्नकै लागि यिनले भागशान्ति खोजेका हुन्। भागशान्तिकै लागि राष्ट्रिय सरकार बन्न लागेको र त्यो पनि विदेशी चलखेलमा हो भने अर्को दुर्भाग्य सुरु भयो भन्छन् विश्लेषकहरु। विपद व्यवस्थापन गर्ने काम गर्न राष्ट्रिय सरकार होइन, राष्ट्रवादी सोचको आवश्यकता छ। सेवा गर्ने बेला सत्ता?