Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

नागरिक निर्यातक देश

२५ सोमबार , कार्तिक २०७६७ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -
लोकतान्त्रिक नेताहरुलाई लाज छैन । शरमहारा नेताको मुलुक बनेको छ नेपाल । यिनै नेता सत्तामा छन् र वैदेशिक रोजगारीबाट आम्दानी भएको तथ्याङ्क यसरी दिन्छन् । मानौं यिनले सगरमाथा विजय गरेका होउन् ।
नेपालले के कति उत्पादन ग¥यो, के कस्ता उद्योग स्थापना गरेर रोजगारी सिर्जना ग¥यो भन्ने कुनै जानकारी दिन सक्दैन सरकार । नेपालको निकासी के के भएछ, के कति आम्दानी भयो भन्ने विषय उठान गर्नैसक्दैन सरकार । कारण केही निकासी गरे्को भएन समाचार दिनु । युवायुवती निकासी गरेर तिनले वैदेशिक रोजगारीबाट पठाएको रेमिटान्सको तथ्याङ्क दिएर के के न काम गरेको फुइँकी लाउनु भनेको लोकतन्त्रका नायकहरुको सबैभन्दा ठूलो अलोकतान्त्रिक खबर हो ।
प्रत्येक वर्ष देशमा ५ लाख युवा रोजगारीका लागि तैयार हुन्छन् । उत्पादन हुने यी युवायुवतीहरुले देशमा कुनै काम नपाएपछि वैदेशिक रोजगारीमा जानु यिनको बाध्यता हो । विदेश जानेहरु जसले राम्रो काम पाएका छन्, जसले आफूलाई काममा अभ्यस्त राख्न सकेका छन्, तिनले पठाएको रेमिटान्सको तस्वीर यही हो । गतवर्ष यसरी विदेशबाट रेमिटान्स आएछ ।
यसैगरी कुन कुन मुलुकमा नेपाली युवायुवती ठगिए, शोषणमा परे, कुन कारणले उतै मर्न बाध्य भए, कति जना कुन कुन मुद्दा लागेर जेलमा छन्, काम नपाएर थुनिएका छन्, शोषणमा परेर अभरमा छन्, त्यसको कुनै जानकारी यो सरकार दिन सक्दैन । नेपालदेखि शोषणमा परेका युवायुवती विदेशमा अनेकखाले समस्यामा छन्, तिनको समस्या सुन्नसमेत सरकारले इच्छाशक्ति देखाएको छैन ।
कति त मालिकबाट चुटिएका छन्, कति नक्कली मुद्दामा फसाइएका छन्, कति ठगिएका छन्, कति आउन चाहेर आउन सक्दैनन्, कति फर्कने अवस्थामा छैनन् । के देशका युवायुवतीलाई विदेशमा धकेल्नु नै लोकतन्त्र हो ?
देश बनाउने युवाशक्ति यसरी विदेशमा पठाउने । भारतीय र अन्य मुलुकका श्रमशक्ति र अपराधीहरु नेपालमा थुप्रदै जानु । नेपालको अन्धकार भविष्यको तस्वीरले नेपालको शान्ति, समृद्धि र सुखलाई झन झन पर पर धकेलेको छ ।
वैदेशिक रोजगारीमा गएका युवालाई देशमा फर्काउने कुनै योजना छैन । सरकार नयाँ नयाँ मुलुकसँग श्रम सनिध गर्न अग्रसर भइरहेको छ । नागरिक निर्यातक मुलुकको कलंकबाट जोगाउने कसले ? यो सोच्ने जिम्मा कसको हो ?