Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

संसदका फेल, अस्पतालका डाक्टर फस्ट

०४ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

 वैशाख २९ गते मंगलवार संसदको बैठक चलिरहेको थियो, १२.५० बजे शक्तिशाली भूकम्प गयो। सभासदहरु हावा कावा गर्दै बाहिर निस्किए। कसैले आफ्ना ब्याग, कसैले कागजपत्र, कोही कोही जुत्ता फुकालेर बसेका थिए, जुत्तै नलगाई 'आयो, आयो...भन्दै ज्यान बचाएर संसदको खुला आँगनतिर भागे। भनिन्छ, बाँदरले आफ्ना बच्चाहरुलाई सबैभन्दा बढी मायाँ गर्छ। जब आफ्नै ज्यान जोखिममा पर्‍यो भन्ने ठान्छ अथवा जब भयावह स्थिति आउँछ, बादरले आफ्नै बच्चाको टाउकोमा टेकेर आफूलाई बचाउँछ। ठ्याक्कै त्यही तरिकाले महाभूकम्पको संकल्प प्रस्तावमा बहस गरिरहेका जनप्रतिनिधिहरु ९ रेक्टरसम्मको सुरक्षित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्रको संसद बैठक नै त्यागेर ज्यान जोगाए।
तर, गंगालाल हृदय केन्द्रको दृश्य अर्के थियो। डा.भगवान कोइराला, डा.प्रकाश शायमी, डा.ज्योतिन्द्र शर्मा, डा.तिम्लाहरु मुटुको ओपन हार्ट सर्जरी गर्दै थिए। मान्छेका मुटुहरु खोलिएका थिए। विरामीका मुटु कृत्रिम मेसिनमा जोडिएका थिए। मुटु चलाउन जोडिएका क्यनुला चुडिन, फुत्किन सक्थ्यो। मुटुका भल्वहरु बाँधेका धागोहरु चुडिएर वा खुस्किएर रगत बग्न सक्थ्यो र विरामीको तत्काल मृत्यु पनि हुनसक्थ्यो। ठूलो धक्का गयो, पछि तीनवटा साना धक्काहरु गए। विरामी बेडबाट पनि खसे। तर, मुटुको शल्यक्रिया गरिरहेका यी डाक्टरहरु आत्तिए तर होस् उड्न दिएनन् र आफू र आफ्ना विरामीलाई सम्हाले।
सबै घर बाहिर, अस्पताल बाहिर, खुला चौरमा भागमभाग चलिरहदा यी डाक्टरहरु मुटु खोलिएका विरामीको ओपनहर्ट सर्जरी गरिरहे र आफ्नो कर्तव्य पूरा गरेर मात्र बाहिर निस्किए। लामो श्वास फेरे र पानी पिए। स्वयं डाक्टर भगवान कोइरालाले फेसबुकमा लेखे– भूकम्पले ५ तले भगवन हल्लिन थाल्यो। शल्यक्रिया हुँदै थियो, हाम्रो खुट्टाले टेकिरहेको थिएन। ओटीका लाइटहरु हल्लिन थाल्यो। प्यासेन्ट भुइँमा खस्न लागे। टेबल सबै हल्लियो। चेस्ट रिट्याक्टरको सहयोगले मैले बिरामीलाई खस्नबाट जोगाएँ। भल्बहरु बाँधेका धागो फुत्किएर सबै रगत जान सक्थ्यो। दोस्रोपल्ट पनि उत्तिकैठूलो लाग्ने धक्का आउँदाचाहिँ शल्यक्रिया कक्षमा केही नर्स रुनथाले, अन्य केही कराउन थालेका थिए तर कसैले पनि ओटी छाडेनन् शल्यक्रिया नसकिएसम्म। यी सबै डाक्टर भन्छन्– हाम्रो धर्म नै त्यही हो। ओटीबाट भाग्न मिल्दैन। भूकम्प गइरहेको स्थितिमा शल्यक्रिया भएका चारै विरामीको स्वास्थ्यमा सुधार आएको छ।
धर्म राजनीतिमा पनि हुन्छ। जसरी डाक्टरको विरामीप्रति नैतिक दायित्व हुन्छ, जनताप्रति जनप्रतिनिधिको नैतिक दायित्व पनि त्यस्तै हो। यी डाक्टर भागेनन्, राजनीतिका डाक्टरहरु ज्यान जोगाएर भागे। अस्पतालका डाक्टरहरुले आफ्नो धर्ममा चुक हुन दिएनन्, देशको विधिनिर्माता, भाग्यबिधाता डाक्टरहरु आफ्नै ज्यान  जोगाउन लागिरहे। यो घटनाले प्रष्ट भयो– राजनीतिले धर्म छाड्दै  गएको छ। वैशाख १२ को महाभूकम्पपछि देशका ५९ जिल्ला बढी प्रभावित भए। झण्डै ५ लाख घर ध्वस्त भएपछि र त्यत्तिकै संख्याका घरहरु बस्न नहुने गरी चर्किएपछि धनी, गरीव सबै चउरीमा आइपुगे। एक त निरन्तरको पराकम्पन, त्यसमाथि घरबार सबै भत्किएर सखाप भएपछि सडकमा आइपुग्नु स्वभाविक हो। न खानेकुरा, न पानी, न पाल केही पनि त बचेन। यो अवस्थामा राज्य बढी संवेदनशील हुनुपर्ने हो। ६ सय १ सभासद कसैलाई केही भएन। मन्त्रीगण पनि सकुसल रहे। मरे त जनता। न मरेकाको उद्धार राम्रोसँग हुनसक्यो, न बाँचेकाले समानुपातिक राहत नै पाए। सबैतिर हाहाकारथियो, हाहाकार जारी नै छ। जनतालाई राज्य छ भनेर अनुभूति दिलाउने सरकारले हो। जनतालाई जनप्रतिनिधि साथ छन् भनेर जिम्मेवारी पूरा गर्ने सभासदले हो। यी दुबै पक्ष जनताका पक्षमा निभाउनुपर्ने दायित्व पूरा गर्न सकेनन्। डाक्टरले विरामीलाई कुन दलको भनेर सोध्न मिल्दैन। त्यो डाक्टरको धर्म होइन। राष्ट्रिय विपत्तिका बेलामा दिइने राहत, गर्ने उद्धारमा नेता कार्यकर्ताले तँ कुन दलको भनेर विभेद गर्न मिल्दैन। डाक्टरले त आफन्ो दायित्व इमान्दारिताका साथ निर्वाह गरे। राजनीतिले विभेद गरेको देखियो। पक्षपात भएकै हो। पुनर्स्थापना र पुननिर्माणमा यस्तो पक्षपात हुनुहुन्न।
सिक राजनीतिकर्मी यी डाक्टरहरुबाट सिक। ज्यानको माया यिनलाई पनि थियो होला। भूकम्प आउँदा यिनीहरु पनि भाग्न सक्थे। तर, नैतिक दायित्व जीवनभन्दा मूल्यवान हुनेरहेछ। राजनीतिले यति ज्ञान सिकिदिए नेपाल धन्य हुनेथियो। पुननिर्माणको चरणबाट मुलुकले सहजै पार पाउने सक्थ्यो। यी डाक्टर र सुरक्षाकर्मी जसले ज्यान जोखिममा पारेर पनि कर्तव्यमा जुटिरहे, ती सबैलाई आज आमनागरिक सलाम गरिरहेका छन्।