महाभूकम्पमा किन जनतामात्र परे, मन्त्री सभासद परेनन्? यो प्रश्न राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हो। राउटे र चेपाङलाई घर बनाइदिने भनेर ४ वर्षअघिदेखि प्रतिवद्धता व्यक्त गर्नेहरुले देशव्यापी क्षति भएकोमा सबैको घरबास बनाइदिन्छु भनेर ठूला गर्न सुहाउँदैन। भूकम्पपीडितका झण्डै ५ लाख घर ध्वस्त भएका छन्, यो सरकारले तिनको घर बनाइदिने? कसरी विश्वास गर्न सकिन्छ? तत्काल पुग्नैपर्ने राहत जनताले पाएनन्। बरु कुहिएर गयो, ठूला दलका कार्यकर्ताले लुटे, पहुँचवालाले वर्षदिनलाई पुग्ने सामान थुपारे। आहत जनताले राहत पाएनन्। जनता रोई रहे, सरकार आउँछ, राहत ल्याउँछ भनेर कुरिरहे। राहतै गएन, गएका पनि बलियाले लुड्याए। केसीको खरो अभिव्यक्ति छ– दलहरुप्रति जनतामा घृणा फैलिएको छ। विश्वास छैन। यति ठूलो भूकम्प गयो, एकजना पनि मन्त्री परेनन्, ६ सय १ सभासद एकजना पनि मरेनन्। मरे त जनता मरे। सरकार छ, संसद छ भने वर्षायाम सुरु हुन लागिसक्यो, भूकम्प पीडित, प्रभावितहरुलाई तत्काल बास बनाउन जस्तापाता उपलव्ध गराउनेतिर सोचौं। भाषण हाँकेर केही हुनेवाला छैन। ठूला कुरा नगरौं, साना साना राहतका काम थालिहालौं।
केसीले सुशील सरकारको आलोचना गरे। प्रचण्डलाई पनि बाँकी राखेनन्। पूर्वप्रधानमन्त्रीले हिजो केही गरेनन्, सक्नेबेलामा खोई सिन्को भाँचेको? संविधान बनाउनु पर्दैनथ्यो? इतिहासले सबै नेतालाई नांगेझार पारिसकेको छ। केसीको प्रश्न एनसेलप्रति कटाक्ष गर्दै राहतका नाममा रेडक्रसको दुरुपयोग गर्नेहरुले सुन र लागूऔषध त भित्र्याइरहेका छैनन्? राहतका नाममा, नवनिर्माणका नाममा सचेत हुनुपर्छ। होइन भने नेपाल थाइलैण्डजस्तो हुनसक्छ, हाइटीजस्तो हुनसक्छ, लोकतन्त्र र सार्वभौमसत्ता गम्भीर खतरामा पर्नसक्छ।


