Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

गाईजात्रा ः नेपालको मौलिक संस्कृति

०२ सोमबार , भाद्र २०७६७ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -
साउन ३१ गते गाईजात्रा । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व हो ‘गाईजात्रा’ । यो उत्सवलाई सापारु पनि भनिन्छ । पितृको सम्झनामा नेवार समुदायले यो पर्व मनाउने गर्छन् । आजकल अन्य समुदायले पनि यो पर्वलाई पितृको सम्झनामा मनाउन थालेका छन् । विश्वमै यो मौलिक संस्कृति हो, जुन नेपालमा मात्र मनाइने गरिन्छ । गाईजात्रा व्यङ्गपर्वका रुपमा पनि मनाइन्छ । यो दिन वर्षदिनमा मरेका पितृको सम्झना र उनीहरुले गाईको पुच्छर समाएर बैतर्णी पार गरुन्, स्वर्गवास होस् भन्ने पितृको आदर पवित्रभावनाले गाई बनेर सडकमा निस्कने प्रचलन चलेको देखिन्छ । उनीहरुलाई मीठा खानेकुरा खानदिने, द्रव्यदान गर्ने प्रचलन पनि रहेको छ ।  यही पर्वमा समाजमा फैलिएका बिकृति र बिसंगतिलाई व्यङ्ग पनि गरिन्छ ।
राजा प्रताप मल्लले पुत्रशोकमा परेकी रानीलाई चित्त बुझाउन र ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका थिए, रानीको चित्त नबुझेपछि उनको मन शान्त पार्न विभिन्न व्यङ्ग्यात्मक कार्यक्रम गरेर प्रहसन गराउने आदेश दिएपछि गाईजात्रा पर्व मनाउन थालिएको विश्वास गरिन्छ । गाईजात्रा आजकल राजनीतिक बिकृतिमाथिको कडा प्रहार गर्ने पर्वका रुपमा पनि चलेको छ । देशका विभिन्न भागमा गाईजात्रा पर्व मनाउने गरिए पनि रामायणको करुणरसका गीतहरु गाएर राजधानीमा गाईजात्रा राजा नभए पनि दरवार भएर लैजाने प्रथा आज पनि यथावत चलेको छ ।