धर्मरत्न श्रेष्ठ -
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयमै प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सवका सम्पन्न भएको छ । यो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले १९ जना पत्रकारहरुलाई पुरस्कार प्रदान गरेकी छिन् । प्रेस काउन्सिलले विभिन्न १२ विधामा मिडिया हाउस २ सहित १९ जना पत्रकारहरुलाई पुरस्कृत गर्ने घोषणा गरेअनुसार राष्ट्रपतिले पुरस्कार बितरण गरेकी हुन् । यसमा पत्रकारिता क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका ४ जना वरिष्ठ पत्रकारहरुलाई समेत सम्मानित गरिएको छ । काउन्सिलका अनुसार प्रेस काउन्सिलका पूर्वअध्यक्षको नाममा स्थापित भएको १ लाख ५ हजार राशीको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार र प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट क्रमश: वरिष्ठ पत्रकार युवराज घिमिरे (काठमाडौं) र राजबहादुर गुरुङ् (कास्की) पुरस्कृत भएका छन् । त्यसैगरी प्रेस काउन्सिल आचारसंहिता पुरस्कार, भाषागत पत्रकारिता पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कारबाट हाम्रो रेडियो दोलखा, डोटेली भाषाको गुगुल्डी मासिक र कल्पतरु द्वैमासिकलाई प्रदान गरिएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल स्तम्भ लेखन पुरस्कार, सशक्त सञ्चारकर्मी पुरस्कार, सशक्त लेखन पत्रकारिता पुरस्कारबाट क्रमश: बृजकुमार यादव धनुषा, डा.अमर गिरी दाङ, पुण्य पौडेल तनहुँ, भिमबहादुर रावल कालिकोटलाई प्रदान गरिएको छ । विधागत पत्रकारिता पुरस्कारअन्तर्गत पद्मसागर कक्षपति र अविन श्रेष्ठ, युवा सशक्तिकरणतर्फ सागर पण्डित, उज्जल पहाडी, चन्द्र बानियाँ, समावेशी पत्रकारितातर्फ रिता मोक्तान, गोपाल परियार, सुरेश यादव, महिला सशक्तिकरणतर्फ नानीमैयाँ बिष्ट र कृष्णमाया उपाध्याय पुरस्कृत भएका छन् । राष्ट्रपतिले यो अवसरमा प्रेस काउन्सिलको बढ्दो ख्याति र भूमिकाप्रति खुशी व्यक्त गरेकी थिइन् । उनले नेपालको राजनीतिक परिवर्तनमा नेपाली मिडियाले खेलेको भूमिकाको पनि प्रशंसा गरिन् ।
काउन्सिल सदस्य इश्वरीप्रसाद ओझाले सञ्चालन गरेको कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडियाले गल्ती सच्याउने तत्परता देखाउनु महान कर्म हुने भन्दै प्रेस काउन्सिल प्रेस स्वतन्त्रताको संरक्षणमा अग्रसर रहँदै आएको पत्रकारहरुको अभिभावक संस्थाको भूमिकामा सदैव रहने विश्वास दिलाएका थिए । उपस्थित रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा योगदान दिएका महत्वपूर्ण व्यक्तिहरुको सम्मान गरेकोमा काउन्सिललाई धन्यवाद व्यक्त गरे ।
यद्यपि पुरस्कार र सम्मानलाई समावेशी बनाउने क्रममा काउन्सिलले न्याय गर्न नसकेको धेरैको गुनासो छ । ‘सधैं प्रष्ट बोल्न, लेख्न र सबैलाई साथ सहयोग दिन पाइयोस् ।’ कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको अभिव्यक्ति हो यो । जसरी गणतन्त्र दिवसमा मान पदवी र विभूषण बितरण गरियो, यसपटकको प्रेस काउन्सिल पुरस्कार पनि त्यही विधिअनुसार नै बितरण भएछ । सत्पात्र परेका छन्, तर किशोर श्रेष्ठजस्ता असल व्यक्तिले एक पाका पत्रकारका कानमा ‘बोल्नु भएन’ भनेर खुसुक्क भन्दा ओली सरकारको शासन शैली राम्रैसँग बुझियो । कतिपय अयोग्य व्यक्ति र नेता, मन्त्रीका मान्छे भएकै आधारमा पनि पुरस्कृत गरिएका छन्, त्यस्तो कार्यले काउन्सिलको अभिभावकत्वमा प्रश्न उठ्छ । हुन त काउन्सिललाई राजनीतिकरण गरिएकै छ, राजनीतिक आधारमा पुरस्कार बितरण गरिएकोमा दुई तिहाईको सरकार ह्याकुल्लाले मिच्दै अघि बढेकै हो । सम्मान पाउने सबैलाई हार्दिक बधाई छ ।


