Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

राप्रपा नेपालको वायुपंखी घोडासहितको 'अर्जुन रथयात्रा'

१७ बिहिबार , पौष २०७१११ बर्ष अगाडि

राप्रपा नेपालले वायुपंखी घोडाले तानेको 'गाई रथयात्रा' मेचीबाट मध्यपश्चिमहुँदै अघि बढेको छ। यो रथयात्रालाई 'हिन्दूधर्म रक्षाखातिर अर्जुन रथयात्रा' भनेर टिप्पणी सुरु भएको छ। यो रथयात्रापछि राप्रपा नेपालले कस्तो संकल्प लिन्छ र त्यो संकल्पअनुसारको व्यवहार देखाउने छ वा छैन, त्यसैमा यो रथयात्राको औचित्य निहित हुनेछ। फगत प्रचारका लागि यो रथयात्रा सिमित भइदियो भने संविधानसभाबाट हिन्दूराष्ट्र घोषणा हुनेछैन। २५ सभासदसहित चौथो शक्ति रहेको राप्रपा नेपालले संविधानसभालाई ठप्पै पार्न सक्छ र संविधानसभालाई घेरेर हिन्दूराष्ट्र घोषणा गराउन बाध्य पार्न पनि सक्छ। त्यस्तो काम गर्नसक्यो भने राप्रपा नेपालको इतिहास कायम हुनेछ। अन्यथा, राप्रपा नेपालको यो रथयात्रा अनावश्यक तामझाम र तमासामात्र हुनेछ। मेचीकाली, पशुपतिनाथ संकल्प रथयात्रा गर्दै नेपालगञ्जबाट अघि बढेको राप्रपा नेपालको काफिलाप्रति जनसमर्थन देखेर उत्साहित भएका राप्रपा नेपाल अध्यक्ष कमल थापाले घोषणा गरेका छन्: हिन्दूराष्ट्रको समर्थनमा मानव सागर नै उर्लियो। संविधानसभाले सनातन हिन्दूराष्ट्र घोषणा नगरे आन्दोलनको आँधिबेहरी ल्याइने छ। मानसिक रुपमा मुलुक हिन्दूराष्ट्रमय भइसक्यो, संविधानसभाबाट अनुमोदन मात्रै हुन बाँकी छ। राप्रपा नेपालको रथयात्राको प्रारम्भदेखि नै स्वतस्फूर्त रुपमा जनसमर्थन प्राप्त भएको छ। अझ कैयौं हिन्दूराष्ट्रभक्तहरु यो अभियानमै समावेश भएर हिँडेका छन्। यो देखेको संविधानसभाले हिन्दूराष्ट्रको अनुमोदन गर्नैपर्छ। स्मरणीय रहोस्, यसअघि राप्रपा नेपालले हस्ताक्षर अभियान चलाएको थियो भने संविधानसभा जनसागर उरालेर घेर्ने कार्यक्रम पनि घोषणा गरिसकेको छ। राप्रपा नेपाल अध्यक्ष कमल थापाको उद्घोष छ– हिन्दूराष्ट्र घोषणा नगरे त्यत्तिकै छाड्ने छैनौं। थापाको तर्क छ– 'हामी झण्डै ९४ प्रतिशत ओमकार परिवार छौं। त्यसमा मुसलमानहरु पनि हामीहरुसँगै सहभागि हुँदा ९७ प्रतिशत पुग्छ। अब नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नको लागि कसले रोकेको छ?' हेर्नुछ, राप्रपा नेपालले पशुपतिमा यो रथयात्रा समापन गर्दा कस्तो संकल्प गर्नेछ र त्यसपछि संविधानसभा पुगेर कस्तो चरित्र देखाउने छ ?