Advertisement Banner
Advertisement Banner

०५ बिहिबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

बिभाजनमा परेको नेपाली समाज

०२ सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

Shaswot Sharma : काठमाडौंको मैतीदेवीमा केही समय पहिला जनकपुर घर भएकी नेपाली चेलीमाथि बर्बरता भयो। तत्काल काठमाडौं र मधेसमा 'रियाक्सन' भइहाल्यो। 'पहाडिया'हरुको राज्यमा मधेसीहरु सुरक्षित छैनन् भन्ने भनाईसम्म आयो। तरपछि प्रहरीले अनुसन्धान गर्र्दै जाँदा तिनै चेलीको घरमा काम गर्ने मधेसकै एक युवकले त्यो जघन्य अपराध गरेका थिए भन्ने पत्ता लाग्यो। ...तर अफसोच अघि 'पहाडिया' विरुद्ध स्वर उचाल्नेहरु (विनासित्तिमा) ले माफी मागेनन्। घटना त्यत्तिकै सेलाएर गयो। माथि दिइएको दृष्टान्त एउटा मात्रै छैन। अहिले मानवीय संवदेनामाथि 'राजनीति' गर्ने मौका कुरेर बसेकाहरुको फेहरिस्त लामै छ।
त्यसो त, भन्नु नै पर्दा, छोराको लागि न्याय माग्दै मृत्युलाई वरण गर्न पुगेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको 'मृत्यु' (कि हत्या?) लाई लिएर कुनै मधेसका नेताहरु बोलेको सुनिएन, न त काठमाडौंमा हालै मात्र एसिड छ्यापिएर गम्भीर घाइते बनाइएकी बालिकाहरुको विषयलाई लिएर तराई–मधेसतिर कुनै जुलुस नै निस्क्यो। बरु काठमाडौंमा बाराकी बलात्कृत ६ वर्षीया बालिकाको विषयलाई लिएर 'पहाडिया' नेपालीहरुले जुलुस निकालेको निकालेकै छन्। ...मतलब विस्तार विस्तार नेपालीहरुबीच एकआपसको घाऊ दुख्न छाडेको छ। पहाडी बस्तीमा सेवा केन्द्र (मालपोत, नापी आदि) स्थापना गर्न लागेकोमा मधेसमा बस्ने नेपालीहरुलाई भड्काइन्छ। ...पहाडियाविरुद्ध नारा लगाउन लगाइन्छ। तर पहाडियालाई परेको दुःखमा साथ दिन वा सहानुभूति प्रकट गर्न लगाइदैन।
कल्पना गरौं त, यदि नन्दप्रसाद मधेसका नेपाली भएका भए के मात्र गरिदैनथ्यो होला भनेर? इन्साफका लागि पहाडियाहरुलाई आगो लगाउन पनि पछि पारिदैनथ्यो। त्यो त नन्दप्रसाद पहाडिया परे... अनि मात्र चुप छन्। त्यस्तै बारामा दुश्कर्म गर्ने युवक 'गुप्ता' नभएर थापा, खनाल वा अरु कुनै पहाडिया भएको भए कसरी राजनीति गरिन्थ्यो– त्यो सोचेका छन्, कसैले? यहाँनेर दुवै थरीका जनताको कुनै गल्ती वा दोष छैन। मुख्य कुरा खराब राजनीतिको हो। राजनीतिक अनैतिकताको हो। देशघातको हो। दोेष, नेपाली–नेपालीबीच द्वन्द्व गराएर आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने दुषित नेताहरुको मानसिकताको हो। ०४० सालमा डा. हर्क गुरुङको बसाईसराई प्रतिवेदनका विरुद्धमा गजेन्द्रनारायण सिंहले सद्भावना परिषद् गठन गरे। पञ्चायतकाल भएकाले पार्टी नराखेर परिषद् राखेर काम चलाइयो। आज त्यो परिषद्ले नै विभिन्न रुप धारण गरेर पहाडिया र मधेसीबीच दुश्मनी फैलाउने काम गरिरहेका छन् भनेर एकथरि मधेसका नेपालीहरुले नै आरोप लगाइरहेका छन्। कहाँ गयो? हिजोका दिनमा रहेको सद्भावना– नेपाली नेपाली बीचको? आज तराई–मधेसका नेपालीहरुलाई भानुभक्त, मोतीरामहरुलाई दुश्मन हुन भनेर चिनाउने ती कथित नेताहरुलाई अब त्यहीँका नेपालीहरुले चिन्न जरुरी भइसकेको छ। यहाँ सिके राउतहरु होइन, हिजोका दिनमा जसले 'एकताको सुत्रमा बाँधेका थिए, हो त्यो र त्यस्तै मियो चाहिएको छ। बुझ्नेले चाँडै कुरा बुझुन्। देश तोड्न खोज्नेहरुले पनि, र तोड्न मुख्य भूमिका निभाउनेहरुले पनि  अन्ततोगत्वा असफल नै हुन्छन्, दुःख नै पाउँछन् भन्ने त विश्व इतिहास पढ्दै थाहालाग्छ नि। किन सद्बुद्धि नआएको होला हाम्रा बुझक्कडहरुलाई।