Advertisement Banner
Advertisement Banner

०१ आइतबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

आत्मविश्वासी सावित्री थापाको निधन

२२ सोमबार , माघ २०७४८ बर्ष अगाडि

काठमाडौं, २०७४ माघ २२ । जनकविकेसरी स्वर्गीय धर्मराज थापाकी धर्मपत्नी एवं जनकविकेसरी धर्मराज–सावित्री प्रतिष्ठानका संरक्षक सावित्री थापाको ९१ वर्षको उमेरमा आज बिहान ग्रान्डी अस्पतालमा निधन भएको छ । केही समयदेखि शारीरिक अस्वस्थताका कारण उपचार गराइरहेको अवस्थामा आज बिहान ह्दयाघातबाट उहाँको स्वर्गारोहण भएको थियो । वि.सं. १९८३ सालमा कपिलवस्तुमा जन्मनुभएर जनकविकेसरी धर्मराज थापासित वैवाहिक सम्बन्धमा आबद्ध भएपछि बाटुलेचौर पोखरामा जीवनको लामो कालखण्ड बिताउनुभएर उहाँ ज्येष्ठ पुत्र मदनराज थापाको सेवा शुश्रूषा एवं संरक्षणमा स्वयम्भू काठमाडौंमा बस्दै आउनुभएको थियो । लोकगीत र लोकभाकाका गायक धर्मराज थापा गीको संकलनका क्रममा प्रायः नेपालका विभिन्न अञ्चल र जिल्ला घुम्दै हिँड्ने र भारतका देहरादून, लखनऊ, कालिम्पोङ, दार्जीलिङ आदि स्थानमा गइरहने गरेका अवस्थामा एक्लै पारिवारिक दायित्व सम्हाल्दै बालबच्चाको लालनपालन तथा पठनपाठनको सम्पूर्ण अभिभारा वहन गरी जनकविलाई उहाँको साहित्यिक यात्रामा सावित्री थापाले निरन्तर सघाइरहनुभयो । धर्मराज थापा बाहिर रहँदाका बेला सम्पूर्ण घर धानेर उहाँलाई सहयोग गर्ने सावित्री थापा दृढ आत्मविश्वासी महिला भएको र अतिथि सत्कारमा असाध्यै आनन्द मान्ने एक कुशल गृहिणी भएको विषयले तत्कालमा पोखारामा विशेष चर्चा पाएको कुरा उहाँका आफन्तहरू सम्झन्छन् । उहाँ नामले मात्रै नभई कामले पनि सावित्री नै हुनुहुन्थ्यो । पोखारामा रहँदा उहाँका घरमा भीमनिधि तिवारी, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कमलमणि दीक्षित, विष्णुप्रसाद धिताल, गणेशमान, मङ्गलादेवी, के. आई. सिँह, कृष्णप्रसाद भट्टराई आदिको जमघट भइरहने गर्दथ्यो । यसरी कवि, कलाकार तथा राजनीतिक नेताहरूको आगमन हुँदा उहाँले घरमै खाना बनाएर खुवाउने गर्नुहुन्थ्यो । तत्कालीन रानीतिक परिवेशमा गीत लेख्ने र संकलन गर्ने कार्य गरेबापत धर्मराज थापा थुनिँदा केदारमान र कृष्णप्रसाद भट्टराई समेतले निवेदन लेखेर धर्मराजलाई छुटाएको सन्दर्भ उहाँ सम्झिइरहनुहुन्थ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले त ‘सावित्रीसँग’ भन्ने शीर्षकमा कविता नै रचेर नेपाली पद्यसङ्ग्रहमा प्रकाशन पनि गर्नुभएको थियो । उहाँका तीन छोरा र दुई छोरी हुनुहुन्छ । स्व. सवित्रीको आजै आर्यघाटमा दाहसंस्कार सम्पन्न गरिएको छ ।