Advertisement Banner
Advertisement Banner

०५ बिहिबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

अझै भारतकै भनसुन : शिवप्रसाद सिग्देल

२५ सोमबार , फाल्गुण २०७१११ बर्ष अगाडि

नेपालमा खेती गर्न मनसुन र कुनै काम फत्ते गर्नुछ भने आफन्तलाई भनसुन गराउने प्रचलन पुरानै हो। लोकतन्त्र त आयो, लोकमा विद्यमान मनसुन र भनसुनको छाप मेटिएला भन्ने आशा राख्नु बेकार भयो। अग्रगमनकारी नेता डा.बाबुराम भट्टराई सत्ता साझेदारी र राजनीतिक स्वार्थका लागि भारतमै भनसुन गर्न पुगे। हुन त उनको कमजोरी होइन यो, उनको पार्टी एमाओवादीको नानीदेखि लागेको बानी हो। जनयुद्धजस्तो रक्तपातपूर्ण १० वर्षे अवधि भारतकै भनसुन र संरक्षणमा सम्पन्न गरेर, १२ बुँदे दिल्ली सम्झौतामा हस्ताक्षर गरेर जंगलबाट लोकतन्त्रमा पदार्पण गरेको माओवादीले भारतकै टेको खोज्नु नौलो कुरा होइन।
आशा थियो, पहिलो संविधानसभामा जेठो पार्टी बनेपछि लोकतान्त्रिकरण भयो। प्रचण्ड, बाबुराममात्र होइनन्, एमालेका माधवकुमार नेपाल र झलनाथ खनालमात्र पनि होइन, सर्वोच्चका प्रधानन्यायाधीश खिलराज रेग्मीसम्मलाई प्रधानमन्त्री बनाउने हैसियत भएको माओवादीले अव त जनमतमै टेकेर माटोको, जनमतकै बलमा स्वाधीनता र नागरिक सर्वोच्चता स्थापित गर्दै अघि बढ्छ भन्ठान्नु गलत सावित भएको छ। एमाओवादी अझै लोकतान्त्रिकरण, सामाजिकीकरण, राष्ट्रवादीकरण भएको विश्वासमाथि तुषारापात हुनपुगेको छ: डा.बाबुराम भट्टराईको भारत भ्रमणबाट। अझै पनि भारतकै भनसुन र भारतीय मनसुनअनुसार अग्रगमनकारी पार्टी चलाउने भाषण छाँट्नु गलत हो।
र, बाबुराम भट्टराई पूर्व प्रधानमन्त्री हुन्। उनी विपक्षी दलको प्रमुख नेता पनि होइनन्। तर भनसुनका लागि आएको भनेर भारतका राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्रीदेखि सुरक्षा सल्लाहकारसमेतले उनलाई ठूलै सुरक्षा र महत्व दिएको देखियो। जबकी उनले नेपालको प्रतिनिधित्व गर्दैनन्, अहिलेलाई पार्टीको मात्र हो। र, उनले पार्टीकै तहमा बोले, भारत पनि नेपालको शान्ति, संविधानको एक पक्ष हो भनेर भारतलाई गुहार लगाए। यसको अर्थ लौन, हामीलाई पनि सत्ता साझेदार बनाइदेउ, नेपालको संविधान निर्माणमा हस्तक्षेप गरिदेउ, हामीअनुकूल वातावरण बनाइदेउ भन्ने नै हो। जुन घटना घटेको छ, कम्तिमा एमाओवादीबाट त्यस्तो अपेक्षा हामीजस्ता एमाओवादी बलियो होस्, निर्णायक होस्, देशभक्र होस् भन्ने चाहना राख्नेहरुका लागि 'धीरे से मारा जोडका धक्का' नै हुनपुगेको छ।
संविधानसभाको जिम्मेवार सभासदले राजनीतिक तहमा वार्ता, सहमति र सहकार्य गर्ने बेलामा दबाब सिर्जना गर्न भारत जानु उचित हो र? हुन त माग्नेको काम माग्नु हो। जनयुद्धकालभरि मागे, पहिलो संविधानसभाको चुनावमा मागे, अहिले शान्ति र संविधानलाई आकार दिने बेलामा फेरि मगन्ते भएर दिल्ली पुगे। मगन्ते सोच भएकाले तमाम नेपालीलाई आफ्नो अवधारणा होस् न, बाँध्न सकुन्। हामीलाई थाहा छ, बाबुराम विद्वान छन्, राम्रो सोच र देश विकासका खाका निकाल्न सक्छन्। उनी इन्जिनियर भएकाले देशमा आउन लागेको पद्धतिको राम्रो नक्सांकन गर्नेछन्। हामीले राखेको यो विश्वास एकपटक फेरि तुहियो। यी तिनै बाबुराम हुन्, जसको कार्यकालमा पहिलो संविधानसभाको हत्या भयो। यी तिनै बाबुराम हुन् जो सत्ताबाट प्रतिपक्षीको लहरमा झरे, पहिलोबाट तेस्रो शक्तिमा साँघुरिए र आत्तिएर भारतलाई गुहार्न पुगेका छन्। उनलाई आकाशवाणीबाट कस्तो आशीर्वाद प्राप्त भयो, त्यो देखिदै जाला।