Advertisement Banner
Advertisement Banner

०५ बिहिबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

म्यारिज ब्यूरो कि चेली विक्री व्यूरो? : रोशन कार्की

२५ सोमबार , फाल्गुण २०७१११ बर्ष अगाडि

दर्तावाला र बिना दर्ताका म्यारिज ब्यूरो कति छन्? त्यसको रेकर्ड केलाउन थालेको छ प्रहरी। धेरैजसो म्यारिज ब्यूरोहरु माथिसम्म लिङ्क छ, डरमान्नु पर्दैन भन्दै अहिले पनि विदेशीहरुसँग विवाह गराएर युवतीहरुलाई विदेश पठाउने धन्दा चलाइरहेका छन्। आखिर किन मौलाइरहेको छ, विवाहको आवरणमा मानव बेचविखनको धन्दा? किन रोक्न सक्दैन सरकार यस्तो अपराध? गतहप्ता प्रहरी सीआईवीले महाराजगञ्ज चुनदेवीमा रहेको छेरु इन्टरनेशनल म्यारिज ब्यूरोमा खानतलासी गरेर यो धन्दामा संलग्न कोरियानसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ। सीआईवी भन्छ– विवाह गरेर कोरिया जाने ५ महिला र चीनमा यही प्रक्रियाबाट बेचिएर फर्किएकी एक महिलाको उद्धार गरिएको छ। मानव वेचविखनको यो धन्दाबारे प्रहरी अनुसन्धान बढाइएको छ।
प्रहरी अनुसन्धानबारे सोधपुछ गर्दा अनेक म्यारिज ब्यूरोहरु विवाह गराएर केटीहरुलाई विदेश पठाउने धन्दामा संलग्न भएका रिपोर्टहरु आइरहेका छन्। यस्ता धन्दा घर भाडामा लिएर सञ्चालन गरिरहेको देखिएको छ। कतिपय मेनपावर कम्पनीसमेत यस्ता धन्दामा लागेको रिपोर्ट प्राप्त भएको छ। राजधानीमा अस्थायी बसोबासको रिपोर्ट मिलाएर सेटिङ गर्ने र दलालमार्फत विवाह दर्ता गराउने काम भइरहेको छ। यस्ता युवतीहरु जापान, कोरिया, चीन, युएई, बहराइनदेखि ब्राजिलसम्म पनि लगेको रेकर्डबाट देखिन्छ। प्रहरीका अनुसार यस्ता विवाहमा २० देखि ३० वर्षसम्मको उमेरको भिन्नता देखिएका छन्। अहिले टर्किस विमान दुर्घटनामा परेका एक व्यक्तिले समेत नेपाली केटी विवाह गर्न आएको, धन्न बाँचियो भन्ने वयान दिएका छन्। प्रहरीले ती व्यक्ति कुन म्यारिज ब्यूरोको दलालीमा आएको हुन् भन्ने हेरिरहेको खबर छ।
एक युवतीलाई विवाह गराएर नेपालबाट उडाएवापत दलालले २० लाखसम्म लिने गरेको छ। विदेशमा पुगेपछि नेपाली युवतीमाथि 'दास'जस्तो मानसिक र शारीरिक यातना दिने गरेका खबर पनि आइरहेका छन्। विवाह गर्ने युवतीलाई केटाको नामसमेत थाहा नहुनुले दलालहरु कुन हदसम्मको सेटिङ गर्न सफल रहेछन् भन्ने विषय आश्चर्यपूर्ण देखिन्छ। विदेशस्थित नेपाली दूतावासहरुमा विवाह गरेर आएको तर दुःख पाएर जीवन बर्बाद भएका उजुरीहरु व्यापक रुपमा पर्न थालेका खबर पनि सार्वजनिक भएका छन्। किन नेपाली युवतीहरु विदेश जान यसरी मरिहत्ते गर्छन्? सुख र सम्पत्तिकै लागि हो कि यथार्थ थाहा नपाएर? समाजशास्त्रीहरुले अनुसन्धान गर्नुपर्‍यो र सरकारले व्यापक निगरानी र नियन्त्रणका प्रविधिहरु अपनाउनु पर्‍यो। दलाललाई लाभ होला, दलालको मतियार सरकारी कर्मचारीहरुलाई पनि लाभ होला तर नेपाली चेलीको बिजोग? अति भएन र?