Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

एनआरएन पनि भ्रष्ट

१७ बिहिबार , पौष २०७११२ बर्ष अगाडि

वाशुदेव वाग्ले
नेपालको मायाले, नेपालमा लगानी गरेर नेपाललाई रोजगार, उत्पादनको उज्यालो छर्न भनेर आएका एनआरएन पनि भ्रष्ट? यिनीहरु नेपालका मायाले आएका हुन् कि नेपाललाई लुट्न? दोहोरो नागरिकताको सुविधा चाहियो भनेर अभियान नै छेडेका एनआरएनको लगाम यतिखेर शेष घलेको नेतृत्वमा छ र त्यही नेतृत्वको लगानी कर छलीको आशंकामा परेको छ। अर्थ मन्त्रालयमा उजुरीको चाङ देखिएपछि बाध्य भएर अर्थले छानबिनको आदेश दिएको हो। आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले भनेका छन्: उजूरी पर्याप्त मात्रामा परेका छन्। अनुसन्धान थालिएको हो। प्रारम्भिक छानबिनमा कर छली प्रकरण सामुन्ने आएको छ। गजब त के छ भने एनआरएनले खोलेको सानिमा बैंक समेत कर छलीमा मुछिन पुगेको छ।
विभागले करयोग्य आयआर्जन गर्ने जो कसैलाई पनि करको दायरामा ल्याउने अभियान चलाएको छ। करको अभियानबाट कसैले पनि उन्मुक्ति पाउन सक्दैन। तर एनआरएनले पाउनुपर्ने भन्दा बढी छुट पाउँदै आएका छन् र एनआरएनले जुन उत्साहपूर्ण समर्थन पाइरहेका थिए, कर छली प्रकरणले संस्थालाई आघात पारेको अनुभूति गर्न थालेका छन्। जो शुद्ध मन लिएर एनआरएनको सुविधा लिएर नेपाल आमा काखमा केही गर्न र नेपाली युवाहरुलाई रोजगारी दिन चाहन्थे, तिनीहरुमा कर छलीले निश्चय नै दुःख पुर्‍याएको छ। विदेशमा प्राप्त अनुभव, शीप, आर्जन गरेको सम्पत्ति नेपालमा लगानी गरेर सेवा गर्ने र लाभ दिने जुन पवित्र उद्देश्य थियो एनआरएनको, त्यसमा धक्का लाग्नु एनआरएनको अँध्यारो पक्ष हो। एनआरएन भ्रष्ट हुनुहुन्न। एनआरएनले जुन लगानी गरिरहेको छ, त्यो नाफाप्रद क्षेत्रमा बढी देखिन्छ। रोजगारमूलक उद्यम, व्यवसायमा कम लगानी भइरहेको छ। र, जुन मात्रामा एनआरएनले ह्यूज लगानी गर्ने सपना देखाएको थियो, त्यस्तो केही पनि नतिजा आइसकेको छैन। वैंक, उर्जा, होटलमा लगानी आउन थालेका छन् तर उत्पादनमूलक कतिवटा उद्योग स्थापना भए? हातलाग्यो शून्य।
एनआरएनले जे खोजेको हो, त्यो लिए हुन्छ। तिनीहरुको शरीरमा नेपालकै पानीले बनेको रगत बगिरहेको छ। अवसरको खोजीले तिनीहरु विदेश गए अथवा बाँच्ने आधार खोज्दै विदेश पुगेका हुन्। तिनीहरुले नेपाललाई माया गर्नुपर्छ, नेपालमा लगानी र शीप देखाउनुपर्छ। नेपालले एनआरएनबाट पवित्रता खोजिरहेको छ, भ्रष्ट र भ्रष्टाचारको नेपालमा कमी छैन, इमान्दारिता खोजिरहेको छ।