Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

ओढारमा बस्नेको सरकार कतै छ ?

१९ सोमबार , असार २०७४८ बर्ष अगाडि

एकातिर कर छुट दिने नाममा अरव अरवको भ्रष्टाचार, अर्कोतिर यस्ता बृद्धहरु कुष्ठरोग लाग्दा आफन्तबाट, समाजबाट अपहेलित भएर बाँच्नुपर्छ, त्यो पनि ओढारमा गएर । के यी नागरिक होइनन्, नागरिकप्रति राज्यको दायित्व के हो ? दायित्व छ भने लोकतन्त्रले यस्ता अपहेलितहरुलाई किन हेरिदैन ?
कतै बोक्सी भनेर लखेटिन्छन् बृद्धाहरु, कतै छोराछोरीबाटै बृद्धाश्रम पुर्‍याइन्छन् बुढाबुढीहरु । जनप्रतिनिधि छन्, जनताको कुरा बोल्दैनन्, यस्ता दीनदु:खीहरुको कल्याणका लागि कुनै योजनाको सोच बनाउँदैनन् । जनप्रतिनिधिहरुलाई समेत करोड करोडको विकास बजेट दिइएको हुन्छ, ती बजेट बिल भपाई मिलाएर चटनी बनाइन्छ । तर, जनताको यो बिजोगलाई सुधार गर्न अघि सर्दैनन् ।
यी बृद्धको नाम गोला शाही हो । हुम्ला, सिमिकोटकी गोलाको बिहे बझाङ बिमीनौरा गाउँमा भयो । रहदाबस्दा श्रीमान बिते । बालबच्चा भएनन् । यी गोलालाई कुष्ठरोगले समायो । कुष्ठरोग लागेको थाहा पाएपछि गाउँलेले छि:छि:दूरदूर गर्नथाले । आफन्तले हेला गर्न थाले । र, गाउँसमाज मिलेर यिनलाई घरबाट लघारियो । कहाँ जाने, आइमाईको करम भन्दै यिनी माइती आइन् हुम्ला, सिमीकोटको खोल्सी गाउँ । माइतीले पनि बस्न दिएनन् । कुष्ठरोग सर्छ भनेर यिनलाई निकालिदिए । त्यसपछि त यिनको न घर रह्यो, न बास ।
बाध्य भएर यिनी गाउँकै ओढारमा गएर बस्न थालिन् । १२ वर्षदेखि ओढारमा जीवन गुजारा चलाइरहेकी गोला शाहीलाई कसैकसैले मायाँ गरेर खानेकुरा त दिन्छन्, तर नजिक पर्न चाहदैनन् । परैबाट माँग्नेलाई दिए जसरी खानेकुरा फालिदिन्छन् । ज्यान बचाउनका लागि यिनी टिपेर खान्छिन् ।
समस्या गोला शाहीको मात्र होइन  समस्या हुम्ला र बझाङमा मात्र छैन । बोक्सीका समस्या पहाडदेखि मधेससम्मै छ । सहरबजारमा पनि छ । भर्खर भर्खर कुष्ठरोग औषधि खाए निको हुन्छ भन्ने चेतना बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका यस्ता चेतनामूलक कार्यक्रम मन्त्रालय, विभाग, कार्यालय र केन्द्रहरुमा सिमित छन् । बजेट छ, बजेट खर्च हुन्छ तर प्रगति कागजमा मात्र लेखिन्छ । कुष्ठरोग र बोक्सी समस्या अन्धविश्वास हो, कुष्ठरोग औषधि नियमित खाए निको हुन्छ भन्ने चेतना संसदका सांसदमा समेत छैन । जनप्रतिनिधि र सरकार, कर्मचारी र सामाजिक अभियन्ताहरु मिलेर चेतना जगाउने हो भने बुढाबुढीहरुले घर समाज छाडेर ओढारको ढुंगेयुगमा जीवन बाँच्नुपर्ने थिएन ।
कहिले जाग्छ हाम्रो समाज, हाम्रो सरकार । हाम्रा जनप्रतिनिधिहरुलाई गेला शाहीले बिताउनु परेको जीवनबारेमा अपराधबोध कहिले हुने ? नैतिक धरातल गुमाएकाहरु सांसद, सरकार, प्रशासन चलाएसम्म यस्तै भइरहनेछ ।