Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

राष्ट्र बिखण्डनतर्फ गयो, रोक्ने कसले ?

०५ सोमबार , असार २०७४९ बर्ष अगाडि

वाशुदेव वाग्ले -
स्थानीय तहको निर्वाचनभन्दा पनि महत्वपूर्ण भयो हिन्दी भाषा । अंगीकृतलाई अधिकार र मधेसमात्रको प्रदेश । साँचो अर्थमा मधेसी मोर्चा अर्थात राजपाको माग के हो ? त्यसको खुलासा गर्न न राजपा तैयार छ, न सरकार नै । पहिले निर्वाचन गरेर पछि संविधान संशोधन गर्दा हुन्न भनेर राजपाले आन्दोलन थाल्यो । लाठीबाट सुरु गरेको आन्दोलन बम विस्फोटमा नपुग्ला भन्न सकिन्न । राजपा भनिरहेको छ, हाम्रो असली सरोकार निर्वाचनको वातावरण हो, नागरिकताको समस्या हल नभएसम्म निर्वाचनमा सहभागी हुन्नौं । सहभागी नहुने राजपाका लागि निर्वाचन दोश्रो, तेश्रो चरणमा किस्तावन्दीमा गर्ने भनेर सरकारले कांग्रेस, माओवादीले गरेको चाहिं के ? सत्तामा बसेर काँचो निर्णय गर्ने अधिकार कसले दियो ?
हो, सहमति हुनुपर्छ । सम्भव भएसम्म सहकार्यका साथ अघि बढ्नुपर्छ । सहमति र सहकार्य भनेर राजपाका सामु लम्पसार नै पर्ने ? मधेसका कति माग अहिले, कति माग पछि पूरा गर्न सकिन्छ । त्यो तर्कसंगत र न्याय संगत छ कि छैन, विज्ञहरुसहित पारदर्शी छलफल गर्न सरकार किन पछि हटिरहेको छ ?
पहिले देशको स्वार्थ हेर्नुपर्छ । जारी संविधानलाई कार्यान्वयनमा लाने दायित्व पनि छाड्नु हुन्न । माघ ७ भित्र स्थानीयतहदेखि प्रदेश र केन्द्रसम्मको निर्वाचन सम्पन्न गर्नुछ । यो कछुवा तालले माघ ७ फासफुस हुने खतरा देखियो ।
त्यसैले राजपालाई यति माग पूरा हुनसक्छ, यति माग हुन्न भनेर भनिदिनुपर्छ । उसले आन्दोलन गर्छ भने आन्दोलन गर्ने उसको अधिकार होला, संविधान कार्यान्वयन गर्नु राज्यको दायित्व हो । शान्ति सुरक्षा, कानुनव्यवस्था कायम गर्न गर्नुपर्ने जिम्मेवारी पूरा गर्नुपर्छ । राजपा धम्क्याउँदै जाने, सरकार किस्ता किस्तामा माग पूरा गर्दै जाने हो भने त राजपाले मधेसलाई टुक्य्राउन बेर लगाउने छैन । सरकार यति कमजोर पनि हुनुहुन्न, जसले राष्ट्रिय अखण्डतालाई बिखण्डनको संघारमा पुर्‍याओस् । अहिले खबर आइरहेको छ, राजपाका साथमा सिके लाल, सिके राउतहरु कार्यगत एकता गरिरहेका छन् । राजपा संसदवादी, सिके लाल वैचारिक रुपमा विखण्डनवादी, सिके राउत त खुलेआम मधेस देश बनाउन लागिपरेका नेपाली एकताविरोधी तत्व । यो परिदृश्यले के देखाउँछ भने राजपा मधेसलाई टुक्य्राउनै चाहन्छ । निर्वाचनमा सहभागी हुन्छौं, संविधान संशोधन गर भनेर बिखण्डनको वातावरण तैयार गर्न खोजिरहेको छ । अझै पनि नबुझ्ने ? अहिले नबुझे कहिले बुझ्ने कांग्रेस, माओवादी नेताहरुले ?