Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

देउवा जाने, मोदी नेपाल आउने

२९ सोमबार , जेठ २०७४८ बर्ष अगाडि

    पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको होमवर्क सुरु भएको छ । परराष्ट्र मन्त्रालयले विशेष रुपमा तैयारी सुरु गरेपछि प्रधानमन्त्री स्तरमा भ्रमण आदानप्रदान निश्चित देखिन्छ ।
    मोदीको नेपाल भ्रमणका लागि सुरक्षा टोलीले प्रथम चरणको तैयारी सकेर फर्किएको छ । यसपटकको मोदीको नेपाल भ्रमण लुम्बिनी, जनकपुर, मुक्तिनाथको भ्रमणसँग पनि जोडिएको छ भने पशुपतिनाथको दर्शन पनि गर्नेछन् । देउवा भारत भ्रमणमा जाँदा नै मोदीको नेपाल भ्रमणको तिथि तय हुनेछ । मोदी नेपाल आउनुमा चीनको नेपालमा आक्रामक प्रवेश मुख्य कारण रहेको जानकारहरु बताउँछन् ।
    भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले खुलासा गरेअनुसार मोदी अरुण तेश्रो जलविद्युत आयोजनाको उद्घाटन गर्न आउन लागेका हुन् ।
 तर विज्ञहरु भन्छन्– कारण त्यतिमात्र होइन । प्रविधिका ज्ञाता मोदीले दिल्लीबाटै उद्घाटन गर्न सक्थे । उनी नेपालमा महामारीका रुपमा फैलदै गएको भारतविरोधी भावनालाई न्यूनिकरण गर्ने प्रयत्नको उद्देश्य सहित सशरीर नेपाल भ्रमणमा आउन लागेका हुन् ।
    नेपाल–भारत सम्बन्धमा विचलन आएको छ । विज्ञ समूहले १९५० को सन्धि लगायतका मुद्दाहरुमा छलफल गरिरहेको छ । राजनीतिक सहमति बेगर त्यो समूहले कुनै निष्कर्ष निकाल्न नसक्ने पक्का छ । मोदी नेपाल–भारत सम्बन्धका कमजोरीलाई सफा गरेर मजबुतीको बुनियाद हाल्न आउन लागेका हुन् । जसले सन २००० सम्ममा चीनले नेपाललाई रेललाइनले जोड्ने, जलविद्युतदेखि अनेक उद्योगमा चीनले लगानी बढाउने र ओविओआरमार्फत नेपाललाई पुर्‍याउन सक्ने आर्थिक लाभको सशक्तिकरणभन्दा भारतले दिनसक्ने आधारलाई महत्व दिन पनि आउन लागेका हुन् । स्मरणीय छ, भारत ओविओआरको विरोधमा छ । भारतकै कारण भुटान विरोधी बनेको छ र भारत नेपाललाई चीनको त्यो नयाँ सिल्करुटको विरोधमा उभ्याउन अथवा नेपालको भूमिका निस्क्रिय बनाउन रणनीतिमा पनि लागेको देखिन्छ ।
    ३ वर्ष अघि सन २०१४ को अगस्ट र १८औं सार्कमा नेपाल भ्रमण गरेका मोदीको यो हुनलागेको तेश्रो भ्रमण नेपालका लागिभन्दा पनि भारतका लागि बढी अर्थपूर्ण रुपमा विश्लेषण हुनथालेको छ । हामी त नमस्कार गर्नेमात्र न हो ?