काठमाडौं । पत्याउन त सकिन्न, किनकि ८५ प्रतिशत हिन्दु र ९३ प्रतिशत ऊँकार परिवार धर्मनिरपेक्षतामा सजिलै श्वास फेरिरहेका छन् । मुसाइकरण र इसाईकरण भइरहेका छन्, आनन्दले हेरिरहेका छन् । जब धर्मनिरपेक्षतामै सजिलो छ भने हिन्दुराष्ट्र कसरी २ वर्षमा आउनसक्छ । कसले ल्याउने ?
अर्काले ल्याइदिएको हिन्दुराष्ट्र हो भने किन चाहियो ? आफैलाई चाहिएको हो हिन्दुराष्ट्र भने हिन्दुहरु किन मौन बसिरहेका छन् ? निरंकूशताका नाममा गणतन्त्र थोपरियो, धार्मिक स्वतन्त्रताका नाममा धर्मनिरपेक्षता लादियो, खोई त अशान्ति छैन । शान्ति नै छ भने जसले जे गरे पनि त भयो । लोकतन्त्र चल्नुपर्ने हो, संविधान कार्यान्वयन हुनुपर्ने हो, हुन्छ । संविधान कार्यान्वयन भइसकेपछि कसरी धर्मनिरपेक्षता आउने ? नेपाली कांग्रेसका महासचिव शशांक कोइरालाले भनेझैं नेपाल २ वर्षमा हिन्दुराष्ट्र बन्छ । शशांक एक्लैले ल्याउन सक्छन् हिन्दुराष्ट्र ? कति चलायमान छन्, कति संगठित आन्दोलन गरिरहेका छन् हिन्दुहरु ? कहीँ आन्दोलन छैन, कोठामा असन्तुष्टि व्यक्त गरिरहेका छन् । कोठे आन्दोलनले धर्मनिरपेक्ष भइसकेको नेपालमा हिन्दुराष्ट्र आउँछ भन्नु दिउँसै सपना देख्नु हो ।
नेताहरुलाई हिन्दुराष्ट्र होइन, सत्ता चाहिएको छ । हिन्दु अगुवाहरुलाई पनि हिन्दुराष्ट्र होइन, आफ्ना स्वार्थहरु पूरा हुनुपरेको छ । अन्यथा ९३ प्रतिशत हिन्दुपरिवार सडकमा सुतिदिने हो भने आजको भोलि स्थापित हुनसक्छ हिन्दुराष्ट्र । इसाईहरुले ७० पोका मुलुकी ऐनमा सुधारका लागि सुझाव लगेर संसदमा बुझाए । हिन्दुहरु कोठे भाषण गरेर सपना देखिरहेका छन् । परिआए अन्तर्राष्ट्रिय अदालतसम्म पुग्ने लविङको चेन तैयार पारिसके चर्चहरुले । हिन्दुहरु पेडाको धाक लगाएर बसिरहेका छन् । हिन्दुहरु संघर्ष गर्न जान्दैनन् वा हिन्दु अगुवाहरु अल्छी छन् ।
नेपाली कांग्रेसका खुमबहादुर खड्काले महाभियान नै चलाए । अहिले कहाँ छन् खड्का कसैलाई थाहा छ ? देउवाले के सुमसुम्याइदिए, सानेपामा बसेर पार्टीको काम हेरिरहेका छन् । उनलाई पनि हिन्दु महाभियानको महत्व कम लागिसक्यो । अरु नेताहरु पनि हिन्दुराष्ट्र हुनुपर्ने कुरा गर्छन् र थाकेर अन्यत्रै ध्यान दिन्छन् । राप्रपाले हिन्दुराष्ट्रको एजेण्डा बोकेको हो, राप्रपा आफैभित्र मरीच चाउरिएझैं चाउरिएको अवस्थामा छ । त्यसमाथि स्थानीय चुनावमा जनताले मत नदिदा राप्रपाभित्र सुनामीको लक्षणहरु देखिएका छन् । आफै संगठनिक रुपमा कमजोर भएको राप्रपाले हिन्दु सिद्धान्तलाई कसरी प्रभावकारी व्यवहारमा उतार्न सक्ला र ? आशा कम छ । – मुरारी केसी


