Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

बजारभरि विषादीयुक्त आँप

०८ सोमबार , जेठ २०७४८ बर्ष अगाडि

    काठमाडौं । बजारभरि विषादीयुक्त आँप छ्यापछ्याप्ती आएका छन् । फलफूल विक्रेताले देख्दै लोभलाग्दा आँपहरु घरघरमा पुर्‍याइरहेका छन् । काँचा आँपहरु ल्याएर विषादीको प्रयोगबाट २ दिनमै पहेलपुर पार्ने र उपभोक्तालाई बेच्ने काम भइरहेको छ ।
    आँपको सिजन सुरु हुनु महिना दिन अगावैदेखि विषादीको प्रयोगबाट पकाएर बजारमा आँप ल्याइएको छ । यस्ता आँप बजारमा आएको महिनादिन भइसक्यो । विषादीयुक्त फलफूलले जनस्वास्थ्यमा कस्तो असर पार्छ, रोगव्याधि कति बढ्छ, नियन्त्रण र निगरानी गर्ने कुनै निकाय सक्रिय देखिदैनन् । व्यापारीहरु मोका छोपिरहेका छन् र उपभोक्तालाई लोभ्याएर विषादीयुक्र आँप बेचिरहेका छन् ।
    पहिले विषादी प्रयोग भएका सागसव्जीमा निकै हल्लाखल्ला गरेर तरकारी बजारमा निगरानी र जाँचसमेत गरियो । तर त्यो जाँच र निगरानीले निरन्तरता पाउन सकेन । तरकारी बजारमा पुन: विषादी प्रयोग गरेका सागसव्जी बिकिरहेका छन् । यो हल्लापछि अर्गानिक भनेर बेच्नेहरु पनि खुब व्यापार गरिरहेका छन् ।
    भारतीय आँप नेपालमा ओइरिएका छन् र ती आँपलाई देख्दै आकर्षक बनाउनसमेत विभिन्न खाले पाउडरको प्रयोग भइरहेको विज्ञहरुले बताएका छन् । मुम्बइया, दसहरालगायतका अनेक जातका आँप सिजनभन्दा अगावै ल्याएर उपभोक्ताको ढोकासम्म पुर्‍याउने काम भइरहेको छ । स्वयं आँप व्यापारीहरु औषधि हालेर पकाइएको स्वीकार गर्छन् । तर सरकारका कृषिसम्बद्ध निकाय र उपभोक्ता समिति उपभोक्तालाई किन सचेत र सतर्क गर्दैन ? डाक्टरहरुसमेत औषधियुक्त आँप स्वास्थ्यका लागि हानिकारक बताइरहेका छन् ।