सबैभन्दा राम्रो प्रयोग विवेकको हुनुपर्ने हो । विवेकशीलका लागि मसीले केही लछारपाटो लाउने थिएन । तर विवादका लागि विवाद खडा गर्नमात्र जान्ने राजनीतिक दलहरुले ब्यालेट पेपेर, मसीको रङ् निलो नै प्रयोग गरेकाले पनि मतपत्र ज्यादा क्लिष्ट भएको, बदर भएको, मतदाताहरुलाई समस्या परेको टिप्पणी गरेपछि निर्वाचन आयोगले रातो मसी प्रयोग गर्ने निर्णयमा पुगेको जानकारी सचिव गोपिनाथ मैनालीले दिएका छन् ।
यथार्थमा ठूलो मतपत्र भएका कारणले गर्दा मतदाताहरुलाई राम्रोसँग शिक्षा दिन नभ्याएको र आफ्ना उमेदवारको चुनाव चिन्ह खोज्दैमा फजिती भएकाले पनि मतदानमा बढी समस्या खडा हुनपुगेको कुरा राजनीतिक दलहरुले स्वीकार गरिसकेका छन् । पर्याप्त समय भएका भए जुन जुन निर्वाचन क्षेत्रमा जति जति उमेदवार छन्, तिनको मात्र चुनाव चिन्ह राखेर मतपत्र छपाई गर्न सकिने थियो । समयको कमी गरेको सरकार र राजनीतिक दलहरुले नै हुन्, जसका कारणले उमेदवार भए वा नभए पनि भएभरका चुनाव चिन्ह राखेर मतपत्र एकैपटक छपाई गरियो । मतपत्र ठूलो हुनुको कारण यही हो । ठूलो मतपत्रमा कसलाई मतदान गर्ने भनेर चुनावचिनह खोज्न मुस्किल पर्यो ।
त्यसमाथि कतिपय निर्वाचन क्षेत्रमा दलहरुले मिलेर चुनाव लडे । मिलेर चुनाव लड्दा कसलाई कसरी मतदान गर्ने भनेर पार्टीहरुले सिकाएनन् । जसको प्रत्यक्ष प्रभाव भरतपुर नगरपालिकामा पर्यो । कांग्रेसले माओवादी उमेदवारलाई समर्थन गरेको भरतपुरको मेयरमा रुखमा पर्याप्त मत पर्यो । माओवादी केन्द्रले तालमेलमा चुनाव लडेकाले रुखमा परेका मत हँसिया हथौडामा गन्ति हुनुपर्छ भन्ने बखेडा झिके, जुन गलत थियो, गलत भयो । कांग्रेसले आफूले समर्थन गरेका उमेदवारलाई मतदान गर्न सिकाएको भए बबाल हुनेथिएन । जेहोस्, सचिव मैनालीका अनुसार दोश्रो चरणको निर्वाचनमा मसी रातो प्रयोग गर्ने बताएका छन् । मसी रातो भए पनि अविवेकीपन दलहरुले हटाउन जरुरी छ, जसले गर्दा राजनीतिक सौहाद्रता बनिरहनेछ र मतदान तथा मतगणना छिटोछरितो र लोकतान्त्रिकरण भएको पनि देखिनेछ । दोश्रो चरणको निर्वाचन जेठ ३१ गते बाँकी ४१ जिल्लामा हुनेछ । यो निर्वाचनमा स्वस्तिक छाप रातो मसीले लगाउने तैयारीमा निर्वाचन आयोग जुटेको छ । मसीले मात्र मतदान र गणनामा सहजता आउला त ?


