न्यूज डेस्क, गोरखा एक्सप्रेस -
काठमाडौं । मुस्लिम राष्ट्र पाकिस्तानमा २ प्रतिशत जनसंख्या हिन्दुको रहेछ । तिनको हालत के छ, पाकिस्तानमा हिन्दु सम्पदाहरु के कस्तो अवस्थामा छन्, यसबारेमा पाकिस्तानका डा. सफ्दर अलि साह र सइद जावेदद्वारा लिखित दी हिन्दु हेरिटेज अफ पाकिस्तान पुस्तकलाई गोरखा एक्सप्रेसका सम्पादक राजन कार्कीले नेपालीकरण गरेर प्रकाशित गरेका छन् र यो पुस्तकको वैशाख २२ गते भव्य सार्वजनिकरणको आयोजना गरियो ।
पुस्तकको विमोचन राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले गरेका थिए । साथमा थिए– पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डन, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका पूर्व अध्यक्ष तथा बरिष्ट सल्लाहकार हेमबहादुर कार्की, बरिष्ठ उपाध्यक्ष अर्जुन वास्तोला, राष्ट्रिय मानवाधिकार आयोग, नेपालकी सदस्य तथा प्रवक्ता मोहना अन्सारी र पाकिस्तानी कार्यवाहक राजदूत जावेद अहमद उमरानी ।
कार्यक्रममा पत्रकार, लेखक, कलाकार, स्तम्भकार, हिन्दु नेताहरु, नेपाली तथा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवीहरुको व्यापक उपस्थिति रहेको थियो ।
पुस्तकको विमोचन गर्दै प्रमुख अतिथि कमल थापाले यो पुस्तक तथा हिन्दू दर्शनको निर्माणमा पाकिस्तानी भूमिको महत्वपूर्ण योगदान रहेको बताउँदै आधुनिक हिन्दूको निर्माणमा सिन्धु सभ्यताको भूमिका महत्वपूर्ण छ । वैदिक सनातनी सिन्धुघाँटी आसपास बसेर यापन गरेको जीवन पद्धतिनै कालान्तरमा हिन्दू बनेको हो भनेका थिए ।
अर्का वक्ता गोविन्द टण्डनले वेदका धेरै मन्त्र सिन्धु नदीको तीरमा ऋषिमुनीले लेख्नुभएकाले पाकिस्तानी भूमिको महत्व रहेको बताए । वक्ता हेमबहादुर कार्कीले मुस्लिम देशमा हिन्दु सम्पदाहरुको संरक्षण भएको देखेर खुशी लागेको बताएका थिए भने नेपालका लागि पाकिस्तानका का.वा राजदूत जाबेद अहमद उमरानीले अल्पसंख्यक धर्मावलम्बीलाई पनि पाकिस्तानमा समान व्यवहार गरिएको स्पष्ट पारेका थिए । सबै बक्ताले पाकिस्तानलाई धन्यवाद दिएका थिए ।
पुस्तकका अनुवादक तथा प्रकाशक गोरखा एक्सप्रेस साप्ताहिकका सम्पादक राजन कार्कीले आगन्तुकको स्वागत गर्दै पुस्तक प्रकाशन गर्नुका कारणसहितको मन्तव्य यसरी दिएका थिए–
सीएनएनमा काम गर्ने भारतीय पत्रकार फरिद जकारियाले बुद्ध भारतमा जन्मेका हुन् भनेर निकै प्रचार गरेको सुनें । म दुखित भएँ र मैले २०६६ सालमा पाकिस्तानको पुरातत्वविदहरुले लेखेको बौद्ध गन्धार पुस्तकको नेपालीकरण गरेर प्रकाशित गरें । त्यो पुस्तकमा लुम्बिनीमा प्राप्त प्रमाणहरुको आधारमा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने निष्कर्ष निकालिएको थियो । बुद्ध आजको पाकिस्तानमा पनि गएका रहेछन् र बुद्धकालीन अवशेषहरु पाकिस्तानका बौद्ध गन्धार क्षेत्र र म्यूजियमहरुमा यति महत्वपूर्ण तरिकाले संरक्षण गरेर राखिएका छन् कि बुद्ध जन्मेका देशका हामी नेपालीलाई त्यो देखेर गौरव लाग्छ । पाकिस्तानको गन्धारको इतिहास भनेकै अनेक गुम्बा, बिहार, मन्दिर, तक्ष्सिला उपत्यकामा यत्रतत्र देखिने बौद्धकालका इतिहास, कला र बास्तुकला हो । आज पनि बुद्ध : नेपाल र पाकिस्तानको सम्बन्ध जोड्ने कडी बनेका छन् ।
पाकिस्तान इस्लाम धर्म मान्ने मुस्लिम मुलुक । त्यो पाकिस्तानमा प्रकाशित दी हिन्दु हेरिटेज अफ पाकिस्तान पुस्तक मलाई प्राप्त भयो र मुस्लिम मुलुक पाकिस्तानमा पनि हिन्दु समुदाय, हिन्दु मन्दिरहरु रहेछन् भनेर पढ्ने अवसर मिल्यो र यसलाई किन नेपालीकरण गरेर अध्ययन गर्न चाहनेका लागि सर्वशुलभ नबनाउने भन्ने आत्मज्ञान भयो र त्यही नेपालीकरण पुस्तक यहाँ विमोचन गरिएको छ ।
हिन्दुधर्म, हिन्दु सभ्यता यी दुबैको प्राचीन केन्द्र त सिन्धुसभ्यतासँग जोडिने रहेछ, जुन आजको पाकिस्तानमा पर्छ । विद्वानहरु भन्छन्– बेद भूगर्भ विज्ञान हो । भागवत्गीता जीवनविज्ञान । नेपाल त बेदभूमि नै हो । वैदिक आर्यहरु बसाइँ सर्दै सिन्धुनदीका किनारमा स्थित मैदानमा पुगेर बस्न थाले । जुन वर्तमान पाकिस्तान हो । अरबी प्रभावले सिन्धु नदीको किनारमा बस्ने हुनाले ‘हिन्दु’ भए । तिनको धर्मसमेत ‘हिन्दु’ भनिन लाग्यो । जुन आजको हिन्दुधर्म, हिन्दुवाद हो । हिन्दुधर्मको प्राग इतिहास जान्न सिन्धु सभ्यतामा पुग्नैपर्छ, जहाँ हिन्दुधर्मका अनेकानेक धरोहरहरु खडा रहेका छन् । यसकारण यो हिन्दु र त्यो मुस्लिम दुई धर्मको समन्वय प्रशंसनीय छ ।
बौद्ध र हिन्दु सभ्यता, धर्म, मठ, मन्दिर, कला, बास्तुकलाले भरिपूर्ण देखिन्छ पाकिस्तान । हिन्दु, बौद्ध कलाकृतिहरु र पुरातात्विक महत्वलाई पाकिस्तानले जुन गरिमा र महिमाका साथ संरक्षण र सम्बद्र्धन गरेको छ, त्यसको जति प्रशंसा गरे पनि कमै हुन्छ ।
जीव हाम्रा जाति हुन्, हाम्रो मानव धर्म, हिन्दु मुस्लिम, बौद्ध, सिख, पृथक छैन मर्म । पाकिस्तानको प्रतिवद्धता हो यो ।
यो हुनुमा पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्नाले संविधानमै लेखिदिएका छन्– जुनसुकै अल्पसंख्यक समुदायलाई सुरक्षित गरिनेछ । तिनको धर्म, आस्था, विश्वास, जीवन, संस्कृति सुरक्षित राखिने छ । धर्म, जात, विश्वासको आधारमा कुनै भेदभाव गरिनेछैन ।
पाकिस्तानमा हिन्दु समुदायप्रतिको यो सम्मानका लागि धन्यवाद पाकिस्तान ।
यो पुस्तकमा हिन्दु मठ, मन्दिर, देव देवालयको संरक्षणको साक्षीमात्र होइन, यो पुस्तकको सुरुआत नै ॐबाट भएको छ, भागवत्गीताका ऋचाहरुको उल्लेख गरिएका छन् । हिन्दुधर्ममा । ॐभन्दा पर केही छ भने त्यो निरञ्जन निराकारमात्र छ । हिन्दु सभ्यताको नाम हो, धर्म विशेषको नाम पनि हो । हिन्दु त्यो सभ्यताको विकासको श्रृंखला पनि हो, जुन सिन्धुनदी किनारबाट हिमालय सभ्यतासँग जोड्छ । त्यसैले हिन्दुधर्म हिन्दुसभ्यताको विकासक्रमको मूल्य र महत्वको परिचय पनि हो ।
व्यासले लेखेका छन्– निराकार ब्रम्हा, अन्तर्यामी परमात्मा र अन्त्य श्रीकृष्ण हो । जीवन आनन्दमय भनेकै भागवत् गीता हो । श्रीमद्भागवत्गीताको निष्कर्ष भनेकै धर्म र नैतिकता हो ।
१९६९ जुलाई २० मा चन्द्रमा टेक्ने नेल आम्र्सटङ पूर्वीय दर्शनका अध्यता थिए । श्रीलंकाको राष्ट्रिय धुनमा नमो: नमो: बज्छ । थाइलेण्डमा संस्कृतिको महत्व व्यापक छ । १९५१ मा सोसलिष्ट इन्टरनेशनल सुरु गर्ने जर्मनमा तन्त्र, मन्त्र, कालविद्या, झारफुकलाई कानुनी मान्यता छ । नेदरलेण्डमा भगवत्गीता कोर्सबुकमै राखिएको छ । अत्याधुनिक भइसकेका मुलुकहरु पूर्वीय दर्शन हिन्दुवादको धुइँधुइती खोज गरिरहेका छन् । भूकम्पग्रस्त नेपालका मन्दिरहरुको पुनर्निर्माणमा पश्चिमाहरु प्रतिस्पर्धा गरिरहेका छन् । किन ? किनभने मन्दिरका गर्भगृहमा के छ, त्यो अनुसन्धान उनीहरुको लक्ष्य हो । यहाँसम्म कि हाम्रा मन्दिरका टुँडालहरुमा यौनक्रिडाका तस्वीरहरु किन राखिएका छन् भनेर जान्न जर्मन, अमेरिका, क्यानडाका विद्वानहरु पर्यटक बनेर पलेटी कसेर अध्ययन गर्दैछन् ।
विश्वविद्यालयका प्राध्यापकहरु भन्छन् : नेपाल पूर्वीयदर्शन, बुद्धज्ञान हासिल गर्ने एउटै गन्तव्य हो । आज पनि नेपालमा ३७ मुलुकका विद्यार्थी पढ्न आइरहेका छन् र तिनको उत्सुकता हिन्दुधर्म, कला संस्कृति र बौद्धज्ञानमा बढी देखिन्छ । हाम्रा सन्तानहरु भविष्य खोज्न विदेश जान्छन्, विदेशीहरु अध्यात्म जान्न नेपाल आइरहेका छन् । अमेरिकीको चिकागो विश्व विद्यालयले सन २०१० मा अमेरिकी सोधकर्ता जेसिका भेन्टाइनलाई स्वस्थानीको कथामा विद्यावारिधी उपाधि दियो । जेस्सिकाकाअनुसार उनले लेन बेनेटको पुस्तक ‘डेन्जर्स वाइफ्स् सेक्रेड सिस्टर्स’मा स्वस्थानीको केहीअंश पढेपछि त्यो विषयलाई विद्यावारिधिको विषय बनाएकी थिइन् । जापानकी तनरी विद्याविद्यालयका प्राध्यापक नारिता संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्दैछिन् । जापानी महिला कायोरी नाकाता नेपाली पढ्दैछिन् ताकि हिन्दुधर्मको गहिरो अध्ययन गर्न सजिलो होस् । गज्जवको समाचार के पनि छ भने इसिमोडको सहयोगमा ‘ग्लासियोलोजी’ (हिमनदी–जलवायु परिवर्तनकाकारण र नेपालीपन, धर्मपरम्परागत जीवनमा पर्ने असर) विषय पढाइने रहेछ ।
बुद्ध–बेद : जान्नका लागि नेपाल केन्द्रविन्दु हो । इतिहास साक्षी छ– बेदका रचयिता बेदव्यास तनहुू, व्याकरण रचयिता पाणिनी अर्घाखाूची हुन् । जर्मनका अनुसन्धाता म्याक्स मुलरले लेखेका छन्– हिन्दूहरुको षडदर्शन सबैभन्दा पुरानो तर आधुनिक युगको उत्तम दर्शन हो । यी सबै दर्शनको उत्पत्तिक्षेत्र हिमवतखण्ड नेपाल हो ।
एटमबमका निर्माता अमेरिकी वैज्ञानिक जुलियस आर आपेन हेमरले उहिल्यै भनेका थिए– आधुनिक विज्ञानमा हामीले जे जे उपलब्धि हासिल गर्छौं, ती सबै हिन्दुहरुको प्राचीन दर्शन ‘वेद’ हो । वैज्ञानिक अल्बर्ट आइन्साटाइनले उहिल्यै लेखेका थिए– ‘हामी वैदिकदर्शन वेद र हिन्दुहरुका प्रति अत्यन्त आभारी छौं किनभने उनीहरु हामीलाई गणित विद्या दिंदैनथे भने विश्वमा कुनै आविस्कार सम्भव नै थिएन ।’
भारतका राष्ट्रपति तथा वैज्ञानिक एपीजे अव्दुल कलाम धर्मले इस्लाम हुन् तर उनले इस्लाम त्यागेनन् र २०१५ जुलाई २७ मा निधन हुने दिनसम्म पनि हरेराम हरेकृष्णको भजन गाइरहे, भागवत् गीता पाठ गरिरहे । यो हो हिन्दुधर्मको महिमा ।
चन्द्रगुप्तमौर्य अर्थात मुरापुत्रपनि नेपालकै थिए भन्ने इतिहासविदहरु दावी गरिरहेका छन् । त्यतिबेला आर्याव्रतमा आर्यन बस्थे । उनीहरु एसियामा बसाई सरे । ऋषि परसुराम ब्राम्हण महर्षि जमदग्निका पुत्र थिए । असुन्धानबाट उनीआजको अजरवैजानमा जन्मेको बताइन्छ । टक्सिला आजको कान्धहार–अफगानिस्तानमा पर्छ । बुद्धकालीन कालमा टक्सिला, इण्डस रिभरको भूभागसहित पाकिस्तानको भूभाग थियो । कनिष्क, सम्राट अशोकले आफ्नो धर्म परिवर्तन गरेर बुद्धधर्म आगालेर त्यही समयदेखि बुद्धधर्मको ठूलो प्रचार भएको यो क्षेत्रमा बौद्धगन्धार पनि पर्छ । जुन आजको पाकिस्तानमा छ । तत्कालीन अवस्थामा आचार्य बिष्णुगुप्त गुरु थिए, पछि उनी चाणक्यका नामले प्रशिद्ध बने । आजपनि चाणक्यनीति राजकाजमा ‘राजनीतिक विज्ञानका नामले’ चर्चित छ । मगध सम्राट घनानन्दले गरेको आफ्नो अपमानको बदला लिन चाणक्यले चन्द्रगुप्त (मुरापुत्र)लाई मगजका राजा बनाएका थिए र आफू जंगलमा कुटी बनाएर राजकाजका सहायक बनेको प्रसङ्ग छ । भारतीय विद्वान हरिनारायण आप्टेले ‘चाणक्य एण्ड चन्द्रगुप्त’ पुस्तकमा लेखेका छन्– चन्द्रगुप्त नेपाली किराँती महिला मुरादेवीको छोरा थिए । धार्मिक ग्रन्थकाअनुसार भगवान शिवलाई आज हामी किराँतेश्वर महादेव भन्छौं र यिनै महादेवले महाभारतका पाण्डुपुत्र अर्जुनलाई बरदान दिएका थिए । भगवान शिवले गुरु परशुराममार्फत पाशुपास्त्र समेत दिएका थिए । यी पूर्वीय दर्शनका अविश्मरणीय वर्णनहरु विश्वजगतका ज्ञानको खोजकर्ताहरुका लागि चित्ताकर्षक विषय बनेका छन् ।
अन्तमा यत्ति भनौं– त्यो उर्दू, यो नेपाली भाषा, दुई भाषाको संगम । त्यो इस्लाम, यो हिन्दु, दुई धर्मको सम्बन्ध । यो सम्बन्धलाई अझ मजबुत बनाएको छ, बौद्ध गन्धार र पाकिस्तानमा हिन्दु धार्मिक सम्पदाहरुको संरक्षणले ।
म फेरि भन्न चाहन्छु, धन्यवाद पाकिस्तान । सबैलाई धन्यवाद ।


