Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

सकियो सैनिक अभ्यास

१८ सोमबार , बैशाख २०७४९ बर्ष अगाडि

साहै्र चर्चा पाएको र भारत तथा अमेरिकालेसमेत चासोका साथ हेरेको नेपाल–चीन सैन्य अभ्यास सम्पन्न भएको छ । बाह्य दबाबकै कारण साँघुरिएर र राजधानीमै अभ्यास गर्नुपरे पनि यो राम्रो सुरुआत भएको निष्कर्ष सुरक्षाविदहरुले निकालेका छन् ।
नेपालको विशेष अर्थात युद्धभैरव गण र चीनको विशेष फौजका साथ विशेष अभ्यास भएको थियो । प्रतिआतंकवादी भनिएको यो अभ्यासमा के के भयो भन्ने जिज्ञासा अझै पनि कूटनीतिक बृत्तमा जारी छ ।
नेपाली सेनाले विदेश नीति र सम्बन्धअनुसार यो अभ्यास भएको भनेको छ । अभ्यास अघि यसको नामाकरण नै ‘सगरमाथा फ्रेन्डसिप २०१७’ राखिएको थियो । भारतले आफ्नो सुरक्षामा दख्खल पुग्ने दावी गरेर आपत्ति जनाए पनि त्यस्तो कुनै घटना हुन दिइएन । नेपाली सेनाको यो अभ्यास नेपालको सैन्य क्षमतामा दूरगामी असरदार हुने निश्चित छ । यो अभ्यासले नेपाल–चीन सैनिक सम्बन्ध अझ बिस्तार हुनपुगेको छ ।
स्मरणी छ, नेपाली सेनालाई चीनले आफ् नो वार कलेजमा बर्सेनी चार सिट छुट्याएको छ । जबकी भारतले एक, अमेरिकाले दुई, बंगलादेश, मलेसिया, क्यानडा र पाकिस्तानले एक–एक सिट दिंदै आएका छन् । नेपाली सेनाका अनुसार छिमेकी तथा अन्य मित्रराष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका यस्ता संयुक्त तालिम तथा अभ्यासहरूलाई निरन्तरता दिने क्रममा नेपाल–चीन सैनिक अभ्यास भएको जनाएको छ । यो अभ्यासले विश्वको गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिंदै गएको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई यो अभ्यासले सघाउने पक्का छ ।
सेनाको विज्ञप्तिमा भनिएको छ, ‘द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरूबाट सैनिक ज्ञान तथा पेसागत क्षमता अभिवृद्धि गर्नुको साथै सैनिक तथा कूटनीतिक सम्बन्ध अरू बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।’
पहिले अभ्यास भनेर पछि तालिम भनिए पनि विश्वस्त स्रोतका अनुसार यो अभ्यास नै हो र यस्ता अभ्यास भविष्यमा अझ बिस्तारित रुपमा गरिनेछ । अहिले १२ दिने भए पनि आउँदा दिनमा महिनादिनको अभ्यास हुनसक्नेछ । यस्ता अभ्यास अरुको सुरक्षामा असर पार्न होइन, नेपाली सेनाकै सुरक्षा ताकत बढाउनका लागि आवश्यक देखिन्छ । विज्ञहरु भन्छन्– नेपाली सेनाको व्यवसायिकता बढाउन यस्ता अभ्यासहरु लाभकारी हुन्छन् ।
बुझ्नुपर्ने यथार्थ के पनि छ भने २०११ देखि नै अमेरिका र भारतसँग नेपालले सूर्यकिरण नाममा सैनिक अभ्यास गर्दै आएको छ । यस्ता तालिम भारतको उत्तराखण्डदेखि नेपालको रुपन्देही सालझण्डीसम्म भइरहेका हुन् । नेपाली सेनाको विशेष बाहिनीमा अमेरिकी सेनाको प्रत्यक्ष सहयोग रहँदै आएको छ । विशेषगरी महावीर (रेन्जर) गणसँग अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डसम्बद्ध सैनिकले निरन्तर सैन्य अभ्यास गर्दै आएका छन् । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा पनि अमेरिका, भारतलगायत विभिन्न मुलुकका सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । नेपाली सैनिक अधिकारीहरू भारत, चीन, बेलायत, अमेरिका, पाकिस्तान, बंगलादेशमा तालिम लिइरहेका छन् । स्टाफ कलेज गर्न ती मुलुकबाट पनि स्टाफ कलेज, सिनियर कमान्डर, हाइअर कमान्ड, नेसनल डिफेन्स कलेजको कोर्स गर्न आउने गरेका छन् । अहिले पनि विभिन्न मुलुकका सैनिकहरुले नेपालका विभिनन स्थानमा तालिम लिइरहेको स्थिति पनि छ ।
यसकारण भारत र अमेरिकाले जसरी नेपाल र चीनका सैनिकवीचको अभ्यासलाई अतिरञ्जित तरिकाले खतरनाक मान्यो, त्यो गलत सोच साबित भयो ।