काठमाडौं । ७५ हजार म्यादी प्रहरी भर्ना गरेर तालिम सम्पन्न गरेको नेपाल प्रहरीलाई राष्ट्रिय अनुसन्धान विभागको गृह पुगेको रिपोर्टले सनन्न पारेको छ । चुनाव विरोधी विद्रोहीहरु म्यादीको आवरणमा घुसेको र चुनाव विथोल्न प्रयोग हुनसक्ने खतराले नेपाल प्रहरीको निद हराम भएको हो ।
खासगरी नेकपा माओवादी (विप्लव) समूहले र मधेसमा गोइत र मधेसी मोर्चाका चुनावविरोधीहरु घुसेको रिपोर्ट छ । तैपनि आइजीपी अर्याल भन्छन्– म्यादीलाई तालिम दिइएको छ, यो तालिमले तिनीहरुलाई योग्य प्रहरी बन्न सघाएको छ, तिनले आफ्नो ड्यूटी आदेशानुसार निभाउन सक्षम पारिएको छ ।
उनले जे भने पनि विद्रोही म्यादीमा घुसेको खबरले म्यादीलाई सुरुक्षा दिने कि, निगरानी गर्ने कि चुनावमा शान्तिसुरक्षा प्रदान गर्ने ? यो प्रश्नले नेपाल प्रहरीको समस्यालाई बढाएको छ । यद्यपि राष्ट्रपति विद्या भण्डारीले चुनावको सुरक्षा र बन्दोबस्तीका लागि सेना परिचालन गर्न स्वीकृति दिइसकेकी छिन् । सुरक्षाको तेश्रो र अन्तिम लहरमा सेनाले निगरानी गरिरहने हुनाले म्यादीमा घुसेका विद्रोहीले कुनै विद्रोह अथवा चुनाव विरोधी गतिविधि गर्न नसक्ने आँकलन गरिएको छ ।
संविधानसभाको निर्वाचनमा पनि यस्तै आशंका गरिएको थियो । तर नेकपा–माओवादीले बम बिस्फोट गराए पनि चुनाव भयो र जनताले हौसला र उत्साहित भएर झन बढी मतदान गरिदिए । अहिले पनि त्यस्तै हुनसक्छ किनभने आमजनता स्थानीय निर्वाचन नभएर समस्या बढेको भनिरहेका छन् । भ्रष्टाचारले जनता आजित छन् । जनप्रतिनिधि भए कम्तिमा यति डरलाग्दो भ्रष्टाचार त हुन्थेन ।


