राष्ट्र बैंकको सञ्चालक रिक्त भयो, त्यसमा पनि भागबण्डा नै गरियो । सञ्चालक समितिमा रामजी रेग्मी र श्रीराम पौडेल सञ्चालक नियुक्त गरिए । यी किन र कसरी योग्य ठहरिए, सरकारले बताउन चाहेन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष समेत रहेका रेग्मी नेपाल राष्ट्र बैकमा कार्यकारी निर्देशकबाट अवकास प्राप्त कर्मचारी हुन् । अर्का सञ्चालक पौडेल भने यसअघि पनि राष्ट्र बैंक सञ्चालक पदमा रहेका थिए । उनी प्रधानमन्त्री प्रचण्डका प्रमुख आर्थिक सल्लाहकार समेत हुन् । यी दुबैले आफ्नो कार्यरत संस्थाका लागि के योगदान गरे ? कसरी सफल ठानिए, यसको जानकारी जनताले पाउनै पर्ने हो तर जुनसुकै पदमा पनि सत्ताको हालीमुहाली चल्ने भएकाले सत्ताधारीले भागबण्डाका आधारमा आशीर्वाद दियो, ५ वर्षका लागि यिनले सुती सुती खाने पाइने खान्की पाएका छन् । यिनलाई सत्ताधारीले बधाई दिए, एकजना अझै योग्यताको विवादमा छन्, तिनीबारे निर्णय नै भएन ।


