Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

दुग्ध विकासमा भ्रष्टाचार विकास

११ सोमबार , बैशाख २०७४९ बर्ष अगाडि

काठमाडौं । दुग्ध विकास संस्थानमा भ्रष्टाचार विकास भइरहेको छ । हेर्ने कुनै निकाय छैन ? बिना टेण्डर करोडौंको सामान खरिद गरेर जनरल मेनेजर गंगा तिमिल्सिनाले संस्थानलाई भ्रष्टाचारको कन्टेनर बनाइदिएका छन् ।
डीडीसी यतिबेला गंगा तिमिल्सिनाको मनलागी गर्ने मैदान भएको छ । आर्थिक नियमितता के हो ? यसको पालना भएको छैन, परेको म बेहोरुँला भन्दै दबाब, सेटिङ र लोभ देखाएर दूध बग्नुपर्ने संस्थानमा भ्रष्टाचारको गंगा बगाइरहेका छन् । मातहतका कर्मचारीहरु नै कतिबेला जेल जानुपर्ने हो भनेर तिनको मन लुगलुग कामेको देखिदैछ । तैपनि गंगा नियमविपरित निर्णय गरिरहेका छन् ।
आर्थिक नियम विपरित काठमाडौं दुग्ध वितरण आयोजना, जनकपुर दुग्ध वितरण आयोजना, हेटौंडा दुग्ध वितरण आयोजना र नेपालगन्ज दुग्ध वितरण आयोजनाका लागि १८ करोड ५० लाख १६ हजार मूल्य बराबरका विभिन्न सामग्री खरिद गरेका छन् भने ती सबै सामान अधिकबिजकीकरण गरेर खरिद गरेको स्रोतको दावी रहेको छ । १० लाख रुपैयाँ बराबरको सामग्री खरिद गर्दा सिलबन्दी दरभाउमार्फत र १० लाख भन्दा बढीको खरिद गर्दा बोलपत्र वा घटाघट प्रक्रियामार्फत खरिद गर्न‘पर्ने व्यवस्था गंगाको आदेशमा सिधै मिचिएको छ । यतिबेला दुग्ध विकास संस्थानमा लखनौं लूट चलिरहेको छ । नपत्याए महालेखा परीक्षकको रिपोर्ट पढे खुलस्त हुनेछ ।
यसरी भ्रष्टाचार गरेकै कारण डीडीसी यतिबेला झण्डै ५० करोड सञ्चित घाटामा छ । २५ मेट्रिक टन धूलो दूध खरिद गर्दासमेत कमिशन बढी लिएका कारण सप्लायरले कम गुणस्तरको सप्लाई गरेको थाहा पाएपछि गंगा तिमिल्सिनाको पसिना छुटेको छ । छिटोभन्दा छिटो उक्त धूलोदूध खपत गर्न आदेश दिएका छन् । कम गुणस्तरको धूलोदूध बारेमा पनि महालेखाले प्रश्न उठाएको छ ।
बजारमा दुग्ध पदार्थहरुको गुणस्तर डीडीसी को भन्दा निजी क्षेत्रको बढी 
भएकाले खपत पनि निजी क्षेत्रकै बढी भइरहेको छ । डीडीसीको खर्च बढी, विक्री कम भइरहेकोले घाटा बढ्दै गइरहेको छ । त्यसमाथि दुग्ध पदार्थको उत्पादनमा ठूला हाकिमहरुको मनलागी खर्च भइरहेकाले पनि डीडीसीको घाटा बढेको कर्मचारीहरु नै बताउने गर्छन् । उत्पादित बस्तु बिग्रने डरले डीडीसीले बढी उत्पादन उधारोमा दिदै आएको छ, उधारो उठ्ती नहुँदा पनि नकारात्मक असर परिरहेको संस्थानका कर्मचारीको गुनासो छ ।
नेपाल आयल निगममा भेंm एक योजनाबाट अर्को योजनामा सामान पठाउँदा विचैमा चुहावटका घटना पनि बढेर गएको छ । यसको अर्थ कोही पनि नियममा नबस्ने र जे गरे पनि हुन्छ भन्ने भावना बढेकाले यसो भएको हो ।
गंगा तिमिल्सिनालाई यसैगरी छाडा छाड्ने र दुग्ध विकास संस्थानलाई नियमानुसार चलाउने विषयमा कसैले ध्यान नदिने हो भने संस्थानमा बढ्दो अनियमितता र भ्रष्टाचार गनाएर महामारी फैलिने खतरा छ भन्छन् कर्मचारीहरु नै ।