काठमाडौं, नेपालमा उत्पादित सुपारी झापाका गोदाममा सडिरहेका छन्, मलेसिया, चीनलगायतका मुलुकबाट आयात गरिएका सुपारी, लसुन नेपालमा उत्पादन गरिएको उत्पत्ति प्रमाणपत्र दिएर करोडौं कमिशन खाने काम पशुपति मुरारकाले गरेका थिए । तिनै पशुपति मुरारकाले अन्य सुपारी उत्पादक संस्था खोलेर नेपाली उत्पादकहरुवीच झगडामात्र गराएनन्, लड्डु लडे झिल्ली झडेको मजा लिइरहेका थिए र त्यसमा बरिष्ठ उपाध्यक्ष भवानी राणाले निरन्तर सघाइन् ।
भवानी राणा अध्यक्ष बनेकी छिन् । चन्द्र ढकाल, शेखर गोल्छालगायतका नयाँ उपाध्यक्ष, बरिष्ठ उपाध्यक्षहरु आएका छन् । ३ वर्षपछि फेरि चुनावमा जानुपर्छ भन्ने यिनलाई थाहा छ र यिनले सुपारी, लसुनमा कमिशन खाने काम कायम राख्छन् कि छाता संगठनको भूमिका निर्वाह पनि गर्छन्, उद्यमीहरुले प्रश्न उठाएका छन् ।
चन्द्र ढकाल निर्विरोध चुनिए तर शेखर गोल्छा लगायतका सदस्यहरुले ५ करोडसम्म खर्च गरेको चर्चा बाहिर आयो र पैसाकै बलमा चुनाव जितेका हुन् । भवानी राणाले विधान संशोधनमै मुरारकासँग मिलेर आफ्नो बाटो सफा पारिसकेको कारण स्वत: टिके अध्यक्ष हुन पाएकी हुन् । भवानी राणाले मुरारकाको छाप बनेर काम गर्छिन् कि नयाँ सदस्यहरुसँग मिलेर उद्यमीहरुलाई संगठित पार्दै स्वदेशी र विदेशी लगानीको वातावरण बनाउँछिन्, यसैमा उद्योग वाणिज्य महासंघको साख सिमित हुनपुगेको
देखिन्छ । नेपाल उद्योग वाणिज्य महासंघको छवि त्यतिबेलादेखि धमिलियो, जतिबेला विनोद चौधरीलाई टिक्न दिइएन र उनले सिएनआई गठन गरेर महासंघभन्दा परिसंघलाई स्थापित गरेर देखाइदिए । यतिबेला महासंघभन्दा परिसंघ उद्योगी व्यापारीको छाता संगठनजस्तो भइसकेको छ भने महासंघभित्र मात्र भ्रष्टाचारका कुरा बढी देखिन्छन् । महासंघ भ्रष्टाचारले नै गनाइरहेको छ ।
महासंघका सदस्यहरुले चुनावबाटै अध्यक्ष चुने, तिनै अध्यक्षलाई पदाधिकारीले घेरावन्दीमा पारेर भ्रष्ट सावित गरेर निकाले र महासंघ कव्जा गरेका थिए । अहिले त्यही खतरनाक तत्व महासंघभित्र हावी छ र भ्रष्ट तत्वले महासंघलाई अझ भ्रष्टाचारमा चोपल्ने हो कि भन्ने खतरा देखिदैछ ।


