शनिवार हटहरि पुगेका कांग्रेस सभापति देउवाले एमालेमाथि बिखण्डनलाई सघाएको आरोप लगाए । भोलिपल्टै ओलीले इटाको जवाफ पत्थरले दिए– आइजीपी समेत गाउँले नै चाहिनेले एमालेको टिप्पणी गर्न सुहाउँदैन । यस्ता नेताले एमालेमाथि जथाभावी नबोलेकै राम्रो । दुई नेताको प्रतिक्रियाले चुनावी दोहोरी सुरु भएको भनक दिएको छ । यो दोहोरीले माओवादी र मधेसी मोर्चालाई पनि तताउन थालेको छ ।
ओली र प्रचण्डवीच बोलचाल बन्द
कांग्रेस प्रतिपक्षमा थियो, एमाले, माओवादी र मधेसी मोर्चा सरकारमा । यो स्थितिलाई पल्टा ख्वाए प्रचण्डले र माओवादीले कांग्रेस, मधेसी, साना दल र थपमा राप्रपा मिलाएर सरकार बनायो । मधेसी मोर्चा बिच्किएर समर्थन फिर्ता लिए पनि राप्रपाका कारण सरकार टिकेको छ ।
९ महिनामा सरकार चाहिने भएकाले कांग्रेसका दबाबमा वैशाख ३१ का लागि चुनाव घोषणा भयो । सत्ताधारी भनिरहेका छन् चुनाव हुन्छ, प्रतिपक्षी एमाले त चुनाव गर्नैपर्छ भन्ने पक्षको दल भयो । तर सत्ताधारीको असली योजना के हो ? यसको निक्र्योल नभएसम्म संवादमा बस्नुको तुक छैन भन्दै एमालेले प्रधानमन्त्रीसँगको संवाद तोडेका छन् । भनिन्छ, प्रचण्ड र केपी ओलीवीच वार्ता हुनछाडेको छ । प्रधानमन्त्री एमाले हराउने तानाबाना बुन्दै छन्, एमालेमय चुनावी वातावरण छ भनेर ओली चुनावी तैयारीमा जुटिसकेका छन् ।
सत्ताधारी अवस्थामै एमालेलाई थाङ्नामा सुताएर कांग्रेसलाई अँगालो मार्न पुगेका प्रचण्ड ओलीलाई फेरि कसरी भुलभुलैयामा पार्ने भन्ने रणनीतिको खोजीमा लागेको बताइन्छ ।


