काठमाडौं । चितवनका गैंडालाई बर्दिया र शुक्लाफाँटमा सारेर ६ सय ५ गैंडाको संख्या ८ सय पुर्याउने झ्याली पिटिएको छ । १९८६ मा चितवनबाट बर्दियामा गैंडा सारिएको थियो, नतिजा के आयो ? गतसाल ५ वटा गैंडा बर्दिया सारियो, ती गैंडा सकुसल छन् कि छैनन् ?
१९८६ देखि २००३ सम्म सारिएका गैंडा कति मारिए, मार्ने को हो ? गैंडाको चोरी सिकारी गर्ने नाइकेको पहिचान, पक्राउ र कारवाही किन हुनसकेन भन्ने विषयमा सरकार मौन छ । बर्दियामा १४ गैंडा थिए, यतिबेला ३ गैंडामात्र बाँकी छन् । यसरी गैंडा घट्नुको कारण र जिम्मेवारी कसले लिने ? गैंडा सार्दै फेरि बर्दियामा गैंडाको संख्या ३२ पुर्याइएको छ, ती गैंडाको सुरक्षा व्यवस्था मजबुत छ कि छैन ? गैंडाका लागि विचरण र वासस्थानको उचित प्रवन्ध कसरी मिलाइएको छ, केही अत्तोपत्तो छैन तर गैंडा स्थानान्तरण गर्न विदेशीले पैसा दियो भन्दैमा बेहोस पार्दै गैंडा बर्दिया र शुक्लामा सार्न थालिएको छ ।
यतिबेला वन्यजन्तु सिकारीका पक्ष लागेर चितवनका गैंडा बर्दिया र शुक्लामा सार्दा असुरक्षित हुँदैनन् भन्ने ढोल पिटिएको छ । यो ढोलका पछाडि षडयन्त्र, साजिस पनि हुनसक्छ । त्यसकारण गैंडाको स्थानान्तरण भन्दा पनि संरक्षण र सुरक्षा महत्वपूर्ण पाटो हो, जसको विशेष अध्ययन, अनसुन्धान र व्यवस्था गरिएको छैन ।
निश्चत रुपमा वन फडानी बढ्दैछ र दुर्लभ वन्य जन्तुको विनास भइरहेको छ । वन फडानीसँगै वन्यजन्तुको सिकार पनि बढेको छ । नेपाल वन्यजन्तु सिकारीको ट्रान्जिट प्वाइन्टका रुपमा इन्टरपोलको केही महिना अघिको काठमाडौं सम्मेलनले समेत चिन्ता प्रकट गरेको अवस्था छ । त्यसकारण गैंडा, अर्ना अथवा कुनै पनि वन्यजन्तुलाई एक स्थानबाट अर्को स्थानमा ठाउँसारी गरेर बचाउन सकिन्छ, संरक्षण र सुरक्षा हुन्छ भने आपत्ति छैन । तर सुरक्षाको पर्याप्त पत्याभूति छजस्तो लाग्दैन भन्छन् वन्यजन्तुविदहरु ।
गैंडा सार्ने कि मार्ने ? यो आशंका उठ्नुको मुख्य कारण गैंडाको सुरक्षाको चिन्ता नै हो । यो चिन्ता देशको चिन्ता हुनुपर्छ । पर्याप्त तैयारीबिना गैंडा सार्ने, अर्ना सार्ने, बाघ गणना गर्ने नाममा अनेकन जालझेल भइरहेका हुनसक्छन् ।
वन्यजन्तुको सुरक्षा र संरक्षणको जिम्मा सेनालाई दिनु सबैभन्दा उचित बिकल्प हो । सिकारीहरुले सेटिङ गर्नसक्ने र वन्यजन्तुको सिकार गर्नसक्ने सम्भाबना सेनाको सुरक्षामा सम्भव छैन भनेर आश्वस्त हुनसकिन्छ । त्यसैले वन्यजन्तुको सुरक्षामा विशेष छलफल गर्ने कि ?


