Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

यी ठग पनि राजदूत नै थिए

०७ सोमबार , चैत्र २०७३९ बर्ष अगाडि

साउदी अरवका लागि नेपाली राजदूत थिए हमिद अन्सारी । यिनले वैदेशिक रोजगारीमा जानेहरुको चरम शोषणमात्र गरेनन्, साउदीमै मृत्यु भएका युवाका परिवारले पाउने वीमा रकम आफैले अपचलन गरे, पचाउनेसम्मको काम गरे । पाप धुरीबाट कराउँछ भनेको उखान चरितार्थ भयो र यिनीमाथि मुद्दा चल्यो । र, गत मंगलवार यिनलाई पीडितले पाउने ३ लाख ९६ हजार भराउने, त्यति नै रकम जरिवाना तिराउने र ७ महिना जेल हाल्ने सजाय सुनाइयो । 
    सर्वोच्चअदालतका न्यायाधीश गोपाल पराजुली र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । रोजगारीका लागि साउदी गएका म्यादीका होमबहादुर पुनका परिवारले वीमावापतको रकम आधामात्र पाएको र आधा राजदूतले खाएको उजुरी गरेका थिए । उजुरी सत्य सावित भएको छ ।  सुरुमा विशेष अदालतमा परेको मुद्दामा पनि अन्सारीको कसुर ठहर भएको थियो । त्यो फैसला उल्टाउन सर्वोच्च पुगेका अन्सारीले मृतकका परिवारले पाउनैपर्ने विमा रकमको चेक आफ्नै खातामा जम्मा गरेको ठहर गरेपछि राजदूत पदमा कार्यरत हुने राजनीतिक कार्यकर्ता कतिसम्म गिर्न सक्ने रहेछन् भन्ने प्रमाणित हुनपुगेको हो ।
    स्मरणीय छ, हमिद अन्सारीलाई एमालेको कोटामा राजदूत नियुक्त गरिएको थियो । राजनीतिक भागबण्डामा राजदूत नियुक्त गर्ने परम्परा कतिसम्म गलत छ भन्ने यो पछिल्लो उदाहरण बनेको छ । तर, राजनीतिक भागबण्डामा १४ जना सिफारिस भएका छन् र १२ राजदूत हुनका लागि संसदीय सुनवाईमा सामेल भइसकेका छन् । ओमान, कतार र इजरायलका प्रस्तावित राजदूत शर्मिला पराजुली, निरञ्जन थापा र रमेश कोइरालाका विरुद्धमा उजुरी मात्र होइन, शर्मिला पराजुली र रमेश कोइराला र तिनका परिवारजन मेनपावर कम्पनी नै चलाएर बसेको आरोप लागेको छ । जो मेनपावर कम्पनी चलाउँछ, उनी नै वैदेशिक रोजगारीमा जाने मुलुकको राजदूत भएपछि कतिसम्मको अराजकता बढ्ला ?