राजन कार्की -
जनयुद्धबाट कोलाकोला भन्ने स्थितिमा पुगेका जनता जनयुद्धमा सहभागी भएर शासनमा परिवर्तन ल्याए, राजतन्त्रको ठाउँमा लोकतन्त्र स्थापित गर्न निर्णायक भूमिका खेले । जनताको बलमा लोकतन्त्र स्थापित भयो, सबैको विश्वास थियो– अव देशमा समानुपातिक र न्यायसंगत शासनव्यवस्था चल्छ, कसैले बिभेदको आवाज उठाउनु पर्नेछेन ।
तर भयो त्यसको उल्टो । परिवर्तनका दिनदेखि आजसम्म पनि लोकतन्त्रले श्रीखण्डको सुवास छर्न सकेन । जेजसरी शासन चलिरहेको छ, त्यो देखेर स्वदेशी विदेशी कोही पनि सन्तुष्ट छैनन्, लोकतन्त्रलाई नेतातन्त्र बनाइएको छ । र, देशको स्वाधीनता र सार्वभौमिकतालाई विदेशीको चलखेल बढाएर संकटमा पारिएको छ । नेपाल संकटग्रस्त बनेको छ ।
यतिसम्म कि नेपालको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा भइसकेको छ । लोकतन्त्र हाँक्ने नेताहरु भागबण्डामा रमाउन थालेका छन्, उनीहरुलाई लोकतन्त्रको गरिमा र महिमा के हो, लोकबल कसरी सुरक्षित र संरक्षित गर्ने, लोकतन्त्र संस्थागत गर्न के के गर्नुपर्छ, लोकतान्त्रिक संविधानलाई जनजीवनमा कसरी घुलमिल गराएर अपनत्व ग्रहण गर्न सहज बनाउने भन्ने कुनै पनि विषयमा चिन्ता देखिदैन । नेताहरुको चिन्ता र चासो भनेको सत्ता र शक्ति हो । सत्ता र शक्तिको यसरी दुरुपयोग भइरहेको छ कि नेपालको संघीय लोकतान्त्रिक शासन व्यवस्थामा न संघ छ, न लोकतन्त्र नै छ । जे छ, त्यो निरंकूशतन्त्रमात्र छ । बढ्दो निरंकूशताले नेपाललाई छियाछिया पार्दैलगेको छ ।
जयप्रकाश नारायण भन्ने गर्थे, नेपालीहरु किन दिल्लीलाई चाकरी गरेर दिल्लीमुखी बन्न लालायित हुन्छन् । असली कुरो के हो भने १९४७ मा भारत स्वतन्त्र बनाउनका लागि नेपाल र नेपालीले रगतमात्र होइन, ज्यानसमेत अपैण गरेका छन् । त्यो भारतले नेपालको गुण सम्झन छाडेर अहिले क्षिमेकी होइन, मालिक हुन खोजिरहेको छ । हाम्रा राजनीतिक दलहरुको आँखाले टड्कारै देखेको छ भारतीय हस्तक्षेप, अतिक्रमण र मौजावाला हुँकार तर त्यस्तो मान्दैनौं, हामी पनि स्वाधीन छौं भनेर राजनीतिक दलका नेताहरु भन्ने हिम्मत गर्दैनन् ।
बेलायतकोजस्तो वेष्टमिनिस्टर सिस्टम अपनाएको नेपालले नयाँ नेपाल बनाउने हावा त चलायो, त्यो हावा यति दुर्गन्धित भइसक्यो कि त्यही दुर्गन्ध र प्रदूषणले नेपालीहरुको विश्वास र जीवन अल्पायुमै मर्न थालेका छन् । सभ्यता निकासी गर्ने बेलयात आज पनि नैतिक चरित्र र लोकलाजलाई संविधान मान्छ, हामी नेपाली संविधान जारी गरेर पनि कार्यान्वयन गर्दैनौं र सत्ता र शक्तिको राजनीतिक भागबण्डा गरेर नयाँ लोकतन्त्रलाई थोत्रो लहरी गाडी घचेटेजसरी अघि बढिरहेका छौं । हिडेका छौं पश्चिमी विकासतिर, टेकेका छौं दक्षिणी दिल्लीको तोक्मा । हाम्रो भन्ने के छ, हामीले गौरव गर्ने केही बाँकी छ र ?
सन २०२२ अर्थात ५ वर्षभित्र विकासशील हुने लक्ष्यको गुड्डी हाँक्ने हामी नै हौं । गफ गर्न र कागजी घोडा दौडाउन खप्पीस हाम्रा नेता तथा प्रशासकहरुको क्रियाकलापका तथ्य र तथ्याङ्क सार्वजनिक भइरहेका छन्, त्यसको विश्लेषण गर्ने हो भने न नेता, न प्रशासक सबै मिथ्याङ्कको भ्रम छरिरहेको स्पष्ट हुन्छ । हामीलाई विकासशीलको पहुँचमा पुग्न अर्को २० वर्षले पनि पुग्ला कि नपुग्ला ? एसियाका सबै मुलुक शान्ति र प्रजातान्त्रिक मार्गबाट आर्थिक उन्नतिको उकालो उक्लदैछन्, हामी भने आह्रालो यात्रामा रमाइरहेका छौं । नेपाल एसियाली मुलुक नै हो र ? यस्तो प्रश्न गर्दा अन्यथा हुनेछैन । किनभने जति पनि नेता छन्, ती कालीदास छन् र जति पनि प्रशासक छन्, कालिदासकै पिछलग्गु बनेर दुबै हातले शुभलाभ सोहारिरहेका छन् ।
सिङ्गो मुलुक सन्त्रासमा छ, सिर्जनाकारहरु भाँडतन्त्रका नायक र भाइनायक बनेका छन् । जनता जो रगतको आँसु पिइरहेका छन्, देश जो छटपटाइरहेको छ, सन्त्रासको सरापबाट छिटै मुक्त हुने लक्ष्यणसम्म पनि देखिदैन ।
बिगत ११ वर्षमा राजनीतिक र प्रशासनिक संलग्नतामा भएका कूकर्मको लेखाजोखा गर्ने हो भने हजार शिशुपालको अपराध भइसक्यो होला । जनआन्दोलनताका आस्था र सम्मानको श्रीखण्डजस्ता बनेका नेताहरु आज चिलौनेको ठूटो भन्दा गैबार स्तरमा झरिसकेका छन् । यिनीहरुमा न जनविश्वास बाँकी छ, न जनआस्था । यिनले जितेको जनमत, प्राविधिकमात्र हो । परिवर्तनले सुख होइन, पीडा थपेको छ । बुद्धभूमिका भूमिपुत्र पुत्रीहरुको छटपटी कुन दिन निको होला कुन्नी ? जनता यति धेरै निराश भइसके कि त्यसको सीमा नै छैन । शान्तिको उज्यालोभन्दा अशान्तिको औंशी भोगिरहेका लोक लोकतान्त्रिक सूर्य उदाउला र ? भनेर आफैसँग प्रश्न गर्न थालेका छन् । यसरी जनविश्वास स्खलित हुनु भनेको दुर्घटनाको संकेत हो ।
यसरी निरास नेपालको सन्दर्भमा धेरैले लख काटेका छन् र भित्रभित्रै चर्चा गर्छन्– भारतले नेपाली मानसिकतालाई निरमा साबुनले धोएर भारतीयकरण गर्दै गएको छ । राजनीतिक नेताहरुको लम्पसार नीति देख्दा यो गलत होइन । त्यसमाथि अव पहाड र मधेसलाई अलग गराएर भारतले नेपाल बिखण्डन गरेरै छाड्ने अर्को च्याँखे थापेको छ । नेपालको इज्जतसँग खेल्न पल्केको भारत, चीनलाई पछाडि धकेलेर आफू अघि सरिरहेको छ । र, अदूरदर्शी र अराष्ट्रिय, स्वाधीनता र नेपालीत्व भन्ने गुणबाट रित्तो सोच भएका निर्णायक नेताहरुका कारण हामी नेपाली भुइँमा न भाँडामा भएका छौं । यति हुँदा पनि बौद्धिक र नागरिक समाजसमेत मौन धारण गरेर बसेको छ । कठै नेपालको यो दुर्गति ?
राजनीतिको बर्णपट हेर्दा देखिन्छ– २०६३ साल वैशाख ११ गते संसद पुनस्थापना भयो र जेठ ४ गते राजतन्त्रका सबै अधिकार कटौति गरिए । जुन राजाले मरेको संसद ब्यूँताए, हिन्दुदेशलाई धर्मनिरपेक्ष भनेर घोषणा गरे । त्यही संसदले संविधानसभाको निर्वाचन गराएर २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गरिदियो । यी सबै निर्णयाधार २०६२ साल मंसिर ७ गते दिल्लीमा भएको १२ बुँदे सम्झौता थियो, जुन निर्णयाधार आज पनि निर्णायक हतियारकै रुपमा छ, जसले सिंगो नेपाल र नेपाली एकतालाई केकको टुक्रा काटेझैं काटिरहेको छ ।
२०४२ सालको बम काण्डका नायकले खोलेको पार्टी र क्षेत्रले अहिले मधेस देश भनेर बबाल मच्चाउन थालेको छ । २०२८–२९ सालमा झापा आन्दोलनका नायकहरु र १० वर्षे जनयुद्धकाका कथित क्रान्तिनायकहरु देशको दुर्भाग्यलाई अर्को कोतपर्वतिर धकेल्दै लगेका छन् । लोकतान्त्रिक आवरणको आलोपालो सिण्डिकेटले नेपालकै सफाचट गर्न बेर छैन ।
किनभने पहिले राजतन्त्र थियो र राजतन्त्रले जनताका सामु घुँडा टेक्यो । ०४६ सालपछि २०६३ सालमा पनि राजतन्त्रले जनताकै सामु घुँडा टेकेको हो । त्यसपछिका नेताहरुले जनतालाई कुल्चेर विदेशीका सामु घुँडा टेकिरहेका छन् । त्यसकारण जसरी २६ अप्रिल १९७५ मा सिक्किमी संसदका ३२ सांसदले भारतको २२औं प्रान्त हुन मञ्जुर गरेर देशलाई विदेशीको हातमा सुम्पिए, अहिलेकै लम्पसारवाद हावी हुने हो भने केही वर्षमा नेपालको हालत त्यस्तै नहोला भनेर आश्वस्त हुन सकिन्न ।
जनयुद्ध र जनआन्दोलनका नायकहरु इजिप्टका नासिर हुनसकेनन्, खलनायक पो रहेछन् भन्ने प्रमाणित भइसक्यो । ऋगबेदका ऋचा जति पवित्र हुनुपर्ने राजनीतिका नेताहरु गल्लीका खिचाजस्तै घृणित बनिसके । तानाशाहको शव्द लोकतन्त्रमा निकै बोलियो, अहिले तानाशाहको तस्वीर नेताहरुको मुहारमै देखिन्छ । बलबाहुको देश बाहुबलीको चङ्गूलमा फस्यो, बुद्धको देश मंगलसेनहरु आदेश र भागबण्डामा चलाइरहेका छन् । चूतेह र चारु मजुमदार, जयप्रकाश नारायण र मदन मण्डारीका आत्मा नेताहरुको सम्भ्रान्त जीवन देखेर लजाएका छन् । यही महलका मालिकहरुको वादशाही छनकमनक देखेर पाल, त्रिपाल, झुपडी र छाप्रामा बस्ने नागरिक समाज वाक्क भइसकेको छ । नेतामा दूरदर्शीता हुनुपर्ने थियो, मुस्ताङ्े खच्छरको योग्यता भनेको यही हो सायद । क्रान्तिकारी राजनीतिले कसरी र कति चाँडो पाखण्डी चोला फेर्यो नि ।
लोकतन्त्रमा राजनीतिको मक्का, मदिना, बैतर्णी जे भने पनि लोक हुनुपर्ने हो । सुरुमा नेवार राजा, तामाङ् राजा, मगर राजा, लिम्बु राजा, खम्बु राजा भनेर जनता जनता जुधाउनु जुधाए, अव देउवालाई सुदूरपश्चिम, प्रचण्डलाई चितवन, ओलीलाई झापा र मधेसीलाई मधेस आफ्नो पकडमा राख्नु परेको छ । यिनले संविधान बनाए, संविधानमा रमाउन नसक्नुको मुख्य कारण नै यिनीहरुभित्र पन्पिएको विभेद र जाति तथा क्षेत्रीयवाद हो । अहिले नेपालमा जे भइरहेको छ, यो राजनीति होइन, यिनकै हालीमुहालीमा तैयार भएको हाइड्रोजन ग्यास चेम्बर हो । जहाँ प्रत्येक नेपाली उकुसमुकुस बनेर निसास्सिन थालिसकेको छ ।
लोकतन्त्र जति मीठो शव्द छ, त्यो मिठासता आउन सकेन । लोकतन्त्रले दिनुसम्मको गोता दिएको देख्दा लाग्छ, लोकतन्त्र बाँदरको हातमा नरिवल भयो । जनताले विश्वास र भरोसाको दूध पिलाएका नेताहरु यति छिटै विषालु सर्प बनेर देश र जनताको हकदैया, लोकतन्त्रको गर्भगृहमा डस्छन् भनेर कसैले सोचेका पनि थिएनन् ।
२०६३ सालको जनआन्दोलनमा जनसहभागिताको जुन दृश्य सडकमा देखिएको थियो, त्यो न भूतो, न भविष्यति हो । त्यो जनसलह थियो भने वर्तमान कालखण्डमा ती नेताहरुप्रति जनघृणाको त्योभन्दा ठूलो बाढी आइसक्यो । देख्नु नदेख्नु, नेताहरुको दृष्टिक्षमता वा दृष्टिदोषको कुरा हो ।
नेपालको राजनीति दुर्योधन र उनको मामाश्री सकुनीको हस्तिनापुर बन्यो । न्याय र देशभक्ति त बाँकी नै राखेनन् यिनले । यिनको महाभूलहरु सच्याउनका लागि खबरदार गर्ने कुनै अभिभावक छैनन् र जनताले तिनलाई दण्डित गर्ने चुनावी अवसर पाइसकेका छैनन् । यद्यपि जनता पनि यिनैलाई रोज्न र जिताउन बाध्य छन् किनभने वैकल्पिक शक्ति स्थापित भइसकेको छैन ।


