काठमाडौं । राप्रपाको केन्द्रिय समितिको वैठकले पार्टीको चिन्ह गाई नै राख्ने निर्णय गरेपछि यो विवाद सल्टिनुपर्ने हो । तर डा.प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङलगायतका पूर्वराप्रपा नेताहरुमा अझै हलो बोकेर चलो भन्ने मनस्थिति भएका कारण असन्तुष्टि छुट्टै भेला, सम्मेलन गर्नेसम्मको अतिवादी, अप्रजातान्त्रिक गुटवाद उठाउन लागेका छन् । उनीहरुको दावी छ– एकीकरणपछि चुनाव चिन्ह हलो हुने समझदारी भएको थियो, त्यो मानिएन । जसले गर्दा एकीकृत राप्रपाभित्र फेरि फुटको अमिलो आावाज सुनिन र अनुभव गर्न थालेको देखिन्छ ।
यो तीब्र विवाद अलग धार नबनोस्, यसका लागि प्रयास हुन जरुरी छ । वैकल्पिक पार्टी बन्ने उद्देश्यले एकीकृत बनेको राप्रपा अधिवेशनको तातो नसेलाउँदै यसरी जुटबाट गुट र फुटमा लाग्नु आत्मघाती हुने निश्चित छ । सम्पूर्ण शक्ति स्थानीय निर्वाचनमा लगाएर पार्टीलाई सशक्त पार्ने बेलामा उही भ्यागुते चाला ? विश्लेषकहरु यस्तै हो भने एकीकृत राप्रपाको हालत खराव हुने बताउँछन् ।
गाईको दुध पिउने कि हलोको भलो भन्दै हिड्ने, राप्रपाका अगाडि चुनौति खडा भएको छ । २०४८ सालको राप्रपाको हलो र २०६३ साले राप्रपा नेपालको गाईवीचको ०७३ साले झगडा कसरी मिल्छ, त्यो हेर्न बाँकी नै छ । यो दृश्य विपक्षी ठूला साना दलहरुका लागि तमासा बनेको छ । उनीहरु राप्रपा बलियो होस् भन्ने चाहदैनन् । विभाजनको विजोरोपण भएको छ, यो खिल नपल्टियोस् भन्नेमा राप्रपाको केन्द्रीय नेतृत्व र अध्यक्ष कमल थापा सतर्क भएको खबर छ ।


