निजामती कर्मचारीको सपना भनेको मुख्य सचिव पद हो । मुख्य सचिवपदमा छन् सोमलाल सुवेदी । तर उनलाई एडीवीले महिनाको २० लाख तलव दिने जागीर दिन्छु भनेपछि मुख्य सचिवको पद छाडेर सोमलाल विदेशी लाल बन्न लालायित बनेका छन् ।
कर्मचारी प्रशासनमा पैसाको कति महत्व रहेछ, कर्मचारी किन भ्रष्टाचार र अनियमिततामा लाग्दा रहेछन् भन्ने उदाहरण कर्मचारीका मुख्य सचिवको चरित्रले स्पष्ट पारिदिएको छ ।
सोमलाल : विदेशी लालले मुख्य सचिव पद छाड्ने निधो गरिसके । यो थाहा पाएपछि मुख्य सचिव कसलाई बनाउने भन्ने जोडघटाउ सुरु भएको छ । एडीबीको वेकल्पिक कार्यकारी निर्देशक बनेर सोमलाल जाने निर्णय भएपछि सोमलालको प्रतिक्रिया थियो : मुख्य सचिव भइहालियो, अव पैसा कमाउने हो ।
स्मरणीय छ, सहसचिव स्तरको पदमा महिनाको १८ हजार डलरको तलव सोमलालका लागि आकर्षक बन्यो र मुख्य सचिवबाट सहसचिव स्तरको जागीरमा जान लागेका हुन् । अव मुख्य सचिव सोमलालले बोरा बिस्तरा कस्न थालिसके ।
को हुन्छ मुख्य सचिव ? यस विषयमा सत्ताधारी पार्टी माओवादी र कांग्रेसले अर्थसचिव शान्तराज सुवेदी र शिक्षा सचिव शान्त बहादुर श्रेष्ठमध्ये एकजनालाइृ बनाउने पक्का छ । त्यसैले यी दुबै सचिव दौडमा निस्किएका छन् ।
कस्तो रहेछ पैसा ? पैसाको ताकत ? पैसामा कर्मचारीको लगाव ? मान सम्मान र राम्रो काम गरेर नाम कमाउने इच्छाशक्ति कर्मचारीतन्त्रमा मरिसकेछ भन्नुपर्छ । मुख्य सचिवजस्तो पदमा रहेका व्यक्ति आफूलाई सहसचिव स्तरको जागीरका लागि विदेशीको ढोका घचघच्याउन पुग्छन्, भनसुन लगाएर जान चाहन्छन् भने नेपालको कर्मचारी प्रशासनमा खिया लागिसकेछ भन्नुपर्छ । अन्यत्र राम्रो काम नपाएपछि कर्मचारी जागीर खाइरहेका रहेछन्, हो कि होइन ? – मुरारी


